‘अन्ततः यन्त्रणा’ लैङ्गिक विभेदमाथिको प्रतिरोधी स्वर !!

डा. नारायण चालिसे
डा. नारायण चालिसे
Read Time = 18 mins

अघिल्लो हप्तामात्रै पनि नारीका विषयमा लेखेको थिएँ अर्को कलम पनि फेरि त्यस्तै जुर्‍यो । उपन्यासकार सुमन वर्षाको ‘अन्ततः यन्त्रणा’ यसै पक्षको पछिल्लो सशक्त उपन्यास लाग्यो । पुस्तकको परिचय दुई कारणले महत्वपूर्ण हुन्छ । विशेष प्रकारको पुस्तक पढ्न नछुटोस् भन्ने उद्देश्यले र लेखकको परिचय दिने उद्देश्यले । त्यसो त असल पुस्तक रहेछ भने परिचय पनि लेखक पछ्याउँदै आउँछ तर पुस्तक नै प्रचारमा गएन भने लेखक र पुस्तक दुवै हराउने डर हुन्छ । जुन पुस्तकको प्रचार बढी हुन्छ त्यही बढी बिक्री हुन्छ । पढिन्छ पढिँदैन भन्न सकिन्न । पुस्तकको आवरण पृष्ठ तयार भएपछि प्रचार प्रारम्भ हुन्छ । लेख्न नथाल्दै आवरण तयार हुन्छ ।

असल पुस्तक पढ्न नपाउनु पाठकको दुर्भाग्य हो पनि भनिन्छ । कुरा आआफ्नै ठाउँमा उचित जस्ता लाग्छन् । बजार त्यस्तै अस्वस्थ हुँदै जाँदो छ र यसै अस्वस्थताको घानमा असल पुस्तक पनि नपरोस् भन्ने कुरालाई पनि पुस्तक परिचयले सचेत गराउँछ जस्तो लाग्छ । पुस्तक परिचय लेख्दा लेखकको अनुहार अनि उसँगको सम्बन्धलाई अगाडि राखेर लेख्न बसियो भने पनि त्यति सन्तोषजनक कुरा नआउन सक्छ भनिन्छ । पुस्तकभन्दा पुस्तक किन्न प्रयोग भएको रुपैयाँ बढी मूल्यवान् ठानियो भने त्यो पुस्तक होइन फोहर हो भन्ने बुझ्दा हुन्छ । पुस्तक पढिसकेपछि पनि त्यो पुस्तकलाई सुमसुम्याउन मन लाग्यो भने पुस्तकले केही दियो भन्ने बुझिन्छ ।

लेखक सुमन वर्षा यस्ती हुन् उस्ती हुन्को प्रचार मोहमा पनि लेखक नबसून् । सेलिब्रेटी हुने मोहमा रियलिटी नगुमोस् भन्ने कुरा अबका लेखकलाई हेक्का रहोस् भन्छु । यता आएर लेखकहरू अलि महँगा भएका छन् । प्रकाशनको मोहमा आफ्नो रङ्ग पनि कतै नखुइलियोस् ।

भन्न त गुणदोषको समीक्षा भनिन्छ तर धेरैजसो परिचय त्यस प्रकारको पनि हुँदैन । लेख्नेले लेखिसक्यो जे जस्तो प्रतिक्रिया आउँछ आइरहन्छ भन्नेहरू र लेखक पनि सामाजिक दायित्वभित्रको नागरिक हो त्यसैले ऊ पनि समाजप्रति उत्तरदायी हुनै पर्छ । स्वतन्त्रताको नाममा जे पनि लेख्न र समाजमा बाँड्न पाइँदैन भन्ने कुरा र लेखकीय आस्थाको सम्मानको कुरा दुवै मननीय हुन्छन् । अबका कृति समाजलाई टुटाउने भन्दा जुटाउने विषयमा लेखियुन् भन्ने कामना गरौँ । र, कुनै पनि कृतिको सामाजिक मूल्य मापनको आधार पनि यही हुनु पर्ला ।

लेखक सुमन वर्षा यस्ती हुन् उस्ती हुन्को प्रचार मोहमा पनि लेखक नबसून् । सेलिब्रेटी हुने मोहमा रियलिटी नगुमोस् भन्ने कुरा अबका लेखकलाई हेक्का रहोस् भन्छु । यता आएर लेखकहरू अलि महँगा भएका छन् । प्रकाशनको मोहमा आफ्नो रङ्ग पनि कतै नखुइलियोस् । पछिल्लो समयका पुस्तक र पुरस्कार दुवै डरलाग्दा भएका छन् । सनसनीपूर्ण लाग्छन् विज्ञापनहरू र लज्जाबोध हुनेगरी आउँछन् पुरस्कारहरू । ‘अन्ततः यन्त्रणा’ ले पनि पुरस्कारहरू पाएको जस्तो लाग्छ र यो पुस्तकले पुरस्कारको मान राख्ला भन्ने नै लाग्यो । हे भगवान् ! मलाई यी दुई क्षणबाट जोगाइदेऊ भन्न मन लाग्छ । शालीन किसिमले आऊन् विज्ञापनहरू भद्र रहून् पुरस्कारहरू ।

केही पहिले बजारमा आएको उपन्यास ‘अन्ततः यन्त्रणा’ विषयवस्तु र प्रस्तुति शैलीका दृष्टिले सन्तोषजनक पुस्तक लाग्यो । पुस्तौँपुस्तादेखि नेपाली समाजमा सर्दै र असर गर्दै आएको लैङ्गिक विभेदलाई यो उपन्यासले पनि विषय बनाएको छ । त्यसो त यस प्रकृतिका धेरै पुस्तक आइसकेका छन् । तापनि प्रस्तुतिशैली र विषय व्यवस्थापनको नयाँ शिल्पले गर्दा यो उपन्यास पठनीय बनेको छ । समाजमा विद्यमान यो समस्या देखालो रूपमा केही मत्थर भएको जस्तो लाग्छ तर भित्रभित्रै यसले पारेको नकारात्मक प्रभाव भने घट्दो छैन । दशओटा छोरीपछि पनि छोरा हुनै पर्छ भन्ने मान्यताको सिकार अनगिन्ती पितामाताहरू बनिरहेकै छन् ।

छोरीलाई सन्तान नमान्ने, उपेक्षा गर्ने र छोराको निम्ति दुईतीनवटा बिहे गर्न पछि नपर्ने एकथरि मातापिता छन् भने अर्काथरि सन्तान जे सुकै होस् यसमा भेदभाव गर्नुहुन्न भन्ने केही दम्पती छन् । तर, दम्पती आफूमात्र जिम्मेवार नभएर घरपरिवार र समाज नै यो विभेदको पक्षमा लाग्नाले सामाजिक विभेदको रूप केही बदलिएको छ तर हटेको छैन । यसै परिस्थितिमा छोरीलाई नै सन्तान ठानेर जीवन चलाउन खोज्ने एकजोडी दम्पतीको पारिवारिक पृष्ठभूमि जसको जग त्यस्तै विभेदपूर्ण मानसिकताबाट निर्माण भएको छ त्यही जीवनवृत्तसँग जोडेर सामाजिक विकृतिको गम्भीर दृष्टान्त प्रस्तुत गर्ने काम यस उपन्यासमा भएको छ ।

त्यसो त औसत नेपालीको गरिबी, बसाइँ सराइ, देशको सीमाक्षेत्रमा बसोवास गर्ने नेपालीले भोग्नु परेका चोरी, डकैती, हत्या र बलात्कारका विषयहरू पनि यहाँ त्यत्तिकै गम्भीर रूपले उपन्यासमा उठाइएका छन् तापनि विषयको केन्द्रमा यही लैङ्गिक विभेदको विषय रहेको पाइन्छ । सुमन वर्षाको लेखन सुल्झिएको लाग्यो अनि बल्झिएको घटनामा लेख्ने उनको अठोट र विचार त्यत्तिकै अग्रगामी छ । परिपक्व किसिमले उठाइएका छन् विषयहरू । यथार्थपरक छन् जीवनका भोगाइ र अनुभूतिहरू । र, त्यत्तिकै कठोर छन् सामाजिक अन्धविश्वासहरू । हामी बाँचेको धर्ती, हामीले भोगेका भोगाइ, अनुभूति र घटनाहरूको प्रतिच्छवि यस कृतिमा उतारिएको लाग्यो ।

लेखाइ होइन भोगाइ नै विषय बनेको छ यो पुस्तकमा पनि । सुरु-सुरुमा त पुस्तकले त्यति तानेन मसिना खाँदिएका अक्षर, औसत झैँ लागेरै केही ढिलाढिला हिँड्दै थिएँ तर सुस्तसुस्त विषय गम्भीर बनेर आएको अनुभव भयो ।

सानोठूलो इतिहास हाम्रो पृष्ठभूमिमा उभिएकै हुन्छ । त्यो इतिहासको पिरामिडभित्रका कुनाकाप्चा खोतल्ने हो भने हामी उभिनाका आधारहरू देखा पर्छन् । आफू उभिनु मात्र उभिनु होइन आफ्नो जरोकिलो बुझेर उभिनु, उभिनु हो । कति चोट र खोट सहेर बनेको छ इतिहासको पिरामिड त्यसले आफ्नो अस्तित्वको पहिचान गराउँछ । आज उभिँदा पनि आफूलाई गर्व लाग्ने गरी कारणको खोजी गरियो र तिनको विवेचना गरियो भने उभिएको सार्थक लाग्छ । यहाँ सुमन वर्षाले त्यही गरिन् भन्ने लाग्यो । आफ्नै पाइलामा हजुर आमा, आमा र आफूसम्मको पुस्ता हिँडेकी छन् ।

उपन्यासको दृष्टिले हेर्दा आफूपछिको पुस्ता पनि हिँडेको लाग्छ र लाग्छ यिनी तिनै नारी हुन् जसले प्रत्यक्ष त्यो इतिहास भोगेर आएको छ । अर्थात् उपन्यासकी गुणा नै यिनै हुन् । घटनालाई आफ्नै अधीनमा हिँडाएकी यिनले आफूसम्मको इतिहास रचेकी छन् । पुस्तक पढुञ्जेल उनै आँखा अगाडि नाचिरहिन् । उनको भन्दा पनि उनकी आमाको समयको कथा हुनुपर्छ यो भन्ने पनि लाग्दैछ र साह्रै मिहिन र मौलिक किसिमले विषयको विश्लेषण भएको छ । यसलाई पढ्दा लाग्छ स्वयं वर्षा यहाँ प्रस्तुत भइरहेकी छन् । जीवन्त लाग्यो जीवनको चित्रण । यसरी घटनालाई कल्पनाका सहाराले प्राणसञ्चार गराउन ठूलै साधना चाहिन्छ । आफ्नै अनुभव जस्तै पारेर जीवनलाई गति दिन सक्नु यो उपन्यासको सामथ्र्य हो भन्ने लाग्छ ।

मन छुन्छन् कुनै पुस्तकले । यो पुस्तकले पनि मन छोयो । के कसैको मन छुँदैमा पुस्तक सबैको निम्ति राम्रो हुन्छ ? हो यही प्रश्नको सेरोफेरोमा हेरिनुपर्ला पुस्तकलाई र आआफ्नै कोणका प्रतिक्रियाहरू पनि होलान् । उपन्यासको विषयलाई कुनै वाद, सिद्धान्त, विचार वा दर्शनमा मुछेर पस्किनै पर्छ भन्ने पनि लाग्दैन । उपन्यासको एउटै दर्शन छ मानवताको दर्शन । विभेदविरुद्धको ऐक्यबद्धता भए पुग्छ यहाँ । हामी कथनी र करणीमा जसरी पृथक् छौँ त्यति मात्र नभइदिए पनि पुग्थ्यो भन्ने लाग्छ । ‘अन्ततः यन्त्रणा’ भन्ने शीर्षकले आखिरमा यन्त्रणा नै मिल्यो भन्ने अर्थबोध हुन्छ । झट्ट सुन्दा शीर्षक केही अल्झिएको जस्तो लाग्छ । किन यस्तो शीर्षक रोजियो होला भन्ने जिज्ञासा लाग्छ ।

जति नै गरे पनि अन्तमा प्राप्त हुने त यन्त्रणा नै रहेछ भन्ने निष्कर्ष बोध भएपछि भने शीर्षकले न्याय गरेकै रहेछभन्ने लाग्यो । यसका भोक्ता पात्र गमन र गुणा भएका छन् । जसले तमाम दबाबलाई सहेर प्रकारान्तरले सामाजिक अन्धविश्वासलाई अवज्ञा गरेर बसे तर उनीहरूले अन्तमा त्यही उपेक्षा अनुभव गर्नुप¥यो र मानसिक रूपले टुट्न बाध्य हुनु प¥यो । हामी केहीगर्न चाहन्छौँ, केही गछौँ पनि तर समाज र यसभित्रको अनुदार विचारले हामीलाई स्वीकार गर्न चाहन्न र अन्ततः हामीले हारेको अनुभूति गर्नैपर्छ भन्ने भावमा शीर्षक अन्ततः यन्त्रणा भनिएको रहेछ । छोरा छोरी बराबर हुन् छोराको मोहमा पर्दिन भनेर लागेको एउटा परिवारलाई सामाजिक अनुमोदन प्राप्त नहुनु हाम्रो समाजको कठोर विडम्बना हो ।

समाजका विषय, घटना र परिस्थितिको एकात्म्य हुने अवस्थामा अनुभुतिको साधारणीकरण हुन्छ । हजारौँ प्रकारका विषय र घटनामा सबैको मन सबै विषयमा उत्तिकै सम्वेदनशील हुँदैन । त्यसैले पनि होला एउटै कृति कसैलाई कस्तो र कसैलाई कस्तो लाग्छ । मनका तन्तुहरू जुन विषयसँग बढी मिल्छन् तिनै व्यक्तिलाई उक्त विषयले छुन्छ । यसै पुस्तकको कुरा गर्दा पनि सबै पाठकलाई उत्तिकै प्रभावित पारेन होला यो पुस्तकले तर जो जो व्यक्ति यस्तो परिस्थितिबाट गुज्रिएका छन् उनीहरूलाई आफ्नै कुरा भनेजस्तो लाग्यो होला । माथि नै भनिएजस्तो एउटा यस्तो सनातनी समस्या जस्ले पुस्तौँ पुस्तादेखि समाजमा जरा गाडेर बसेको छ ।

कसै गर्दा पनि मेटिने लक्षण देखिँदैन । हामी जति नै क्रान्तिकारी, जति नै प्रगतिशील अनि जति नै आधुनिक अनुहार लिएर आइरहेका किन नहोऊँ तर हामीभित्रको सोच उही सनातनी घेराबाट माथि उठ्न सकेको हुँदैन । तिम्रा छोरा छैनन् ? भनेर सोधिने प्रश्नभित्र कति धेरै अन्य प्रश्नहरू गुजुल्टिएर आएका हुन्छन् एकपछि अर्को जति उत्तर दिँदा पनि प्रश्न सकिँदैनन् । यद्यपि ती प्रश्नको उत्तर आएर समाजलाई कुनै पनि लाभ हुँदैन तर वाग्विलासको रूपमा आउने ती प्रश्नले कति धेरै मन र मुटुलाई छियाछिया पारेका हुन्छन् समाजलाई त्यसको कत्ति पनि हेक्का छैन ।

ए छोरा छैनन् ? भनेर गरिएको प्रश्नका विषयमा केही मनका कुरा लेखेपछि धेरै मित्रले उत्तर दिए यो आँटिलो लेखाइ हो । जो कोही व्यक्तिले यस्ता विषयमा आँट गर्नै सक्दैनन् । यस्तो कुरा उठाउनै चाहँदैनन् । मलाई पनि लाग्यो यो प्रश्न मैले मेरै समस्यालाई नै विषय बनाएर आफ्नो असजिलो मेटाउन पो लागेँछु क्यारे । साथीहरूका प्रतिक्रियामा पनि कताकता सहानुभूति नै प्रकट भएको हो कि जस्तो लाग्यो । तर, मलाई यो कुरा आँटले उठाउनुपर्ने कुरा हो भन्ने लाग्दैन बरु यो नैतिक प्रश्न हो । नैतिकता हुनेले यस्तो कुरा गर्न सक्छन् ।

लेखाइ होइन भोगाइ नै विषय बनेको छ यो पुस्तकमा पनि । सुरु-सुरुमा त पुस्तकले त्यति तानेन मसिना खाँदिएका अक्षर, औसत झैँ लागेरै केही ढिलाढिला हिँड्दै थिएँ तर सुस्तसुस्त विषय गम्भीर बनेर आएको अनुभव भयो । केही छरितो पार्न सकिन्थ्यो पुस्तकलाई तर जीवन लेख्न बसेपछि जीवनका आवश्यक र अनावश्यक सबै कुरालाई समेट्नै प¥यो । सायद त्यसैले जीवनका जस्तै कतिपय व्यर्थ कुराहरूले पनि उपन्यासमा स्थान पाए । सबै चाहिएको मात्रै कहाँ पाइन्छ र ? पछि त आफैँलाई बिर्सिएर हिँडिएछ एउटा युग हिँडेझैँ लाग्यो पुस्तकमा । विषय र घटनासँग हिँड्दाहिँड्दै धेरै लामो बाटो तय गरिएछ फर्किनै गाह्रो भयो ।

गमन र गुणा र प्यारा चार बहिनी छोरीहरू र गुणा र गमनको नाति, वरपरका छिमेकी र आफन्तहरू झापा भद्रपुर, चन्द्रगढीको सेरोफेरो सबै आफ्ना लाग्न थाले ती सबैलाई छोडेर एक्लै फर्किनै मन लागेन तर कति कठोर छ समाज मुखमा सियो लिएर हिँड्छ र पटक-पटक घोचिरहन्छ । त्यसमाथि आफन्तका मुखमा पनि त्यही धारिलो सियो छ । मन सफा होला तर मुखले घोचेकै सहन गाह्रो परिरहेका बेला मन पढ्ने धैर्य नै जुटाउन नसकिने । त्यो ठाउँमा आफैँ छु जस्तो लागेर पनि मनलाई बढी पोल्यो ।

उपन्यासको अन्तिम वाक्य यो उपन्यासको शक्ति र सामथ्र्यलाई झन् उचो पारेको छ । ‘समाज यति कठोर हुँदो रहेछ, आज भोगेर थाहा पाएँ गुणा । गमनले सर्टको बाहुलाले आफ्ना अविरल आँसुलाई पुछिरहे । यो देखेर मलाई लाग्यो, आज सम्पूर्ण पुरुषसत्ताले आँसु पुछिरहेको छ ।’ भर्खरैको आलो थियो मनको मझेरी एकहप्ता पहिले मात्रै एउटा खाटा उप्काएको थिएँ । फेरि बेस्सरी बल्झियो घाउ मनमा । प्रिय छोरीहरू ! तिमीहरूप्रति शततः नमन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. सुमन वर्षाका केही कविता पढेको थिएँ, राम्रा थिए । आज उपन्यास पनि पढाई दिनुभयो। डाक्टर चालिसेलाई धन्यवाद । चालिसे सरले दिनुभएको सुझावलाई हरेक लेखकले मनन गर्नु पर्ला जस्तो लाग्छ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?