सिट बाँडफाँटबारे कांग्रेसभित्र तीव्र विवाद

संस्थापन र इतरसमूहको कुरा बाझिँदा गठबन्धन नै अलमलमा

अनिल क्षेत्री
Read Time = 11 mins

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गरेर जाने निर्णय गरेको सत्ता गठबन्धन सिट बाँडफाँटमै रुमल्लिएको छ । गठबन्धनका नेताहरू विगत तीन सातादेखि छलफलमा रहे पनि सिट बाँडफाँट टुंगो लाग्न सकेको छैन । गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले १०० सिट दाबी गर्दैसंस्थापन र इतरसमूहको कुरा बाझिँदा गठबन्धन नै अलमलमा आएको थियो । तर, कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले गएको बुधबार बसेको गठबन्धनका नेताहरूको बैठकमा प्रतिनिधिसभाका प्रत्यक्षतर्फ १६५ मध्ये ७९ सिट अन्य सहयात्रीलाई छाडेर ८६ निर्वाचन क्षेत्रमा चुनाव लड्न तयार भएको संकेत गर्नुभएको छ ।

गठबन्धनबीच देउवाको प्रस्तावअनुसार सिट बाँडफाँट भए कांग्रेसभित्र ठूलो विवाद हुने देखिएको छ । केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नेतृत्व गरिरहनु भएको पार्टीभित्रको संस्थापनइतर समूह १०० सिटभन्दा तल झर्न नहुने अडानबाट टसमस भएको छैन । बुधबार बसेको नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठकमा डा.कोइरालाले सिट बाँडफाँटमा कांग्रेस एक सय सिटभन्दा तल झरेर सहमति गरे पार्टीभित्र विद्रोह हुने चेतावनी दिइसक्नु भएको छ । सिट बाँडफाँटको लागि गठबन्धनले गठन गरेको कार्यदलमा कार्यदल सदस्य एवं पार्टी महामन्त्री गगन थापाले कांग्रेसको बटमलाइन १६५ प्रतिनिधिसभा क्षेत्रमध्ये १०० क्षेत्र रहेको प्रस्ताव गर्नुभएको थियो । सिट बाँडफाँटमा सभापति देउवा लचक हुने देखिए पनि निर्वाचनको संघारमा कांग्रेसभित्र ठूलो विवाद उत्पन्न हुने देखिएको छ । संस्थापनइतर समूहका नेता एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जय गौतमले गठबन्धनको प्रभावकारिताका लागि पनि कांग्रेसले जम्मा सिट संख्याको ६० प्रतिशत अनिवार्य पाउनैपर्ने जिकिर गर्दै भन्नुभयो, ‘गठबन्धन पनि आवश्यक छ । गठबन्धनको प्रभावकारिताका लागि सबै दलले सोच्नुपर्छ । जनमत, शक्ति र पार्टी संगठनको आधारमा कांग्रेसको भागमा एक सय सिट पर्नु न्यायोचित हुन्छ । सिट बाँडफाँट जनमत, पार्टीको संगठन र शक्तिको आधारमा हुनुपर्छ । गठबन्धनका अन्य दलहरूले कांग्रेसलाई बढी सिट दिँदा प्रभावकारी परिणाम आउँछ । यो गठबन्धनकै हितको विषय हो । कांग्रेसलाई थोरै सिटमा खुम्च्याउने कोसिस गरे परिणाम राम्रो आउँदैन । कति सिट पाउनेभन्दा पनि परिणाम के ल्याउने भन्ने विषय ठूलो कुरा हो । गठबन्धन सफल बनाउन आबद्ध दलहरूले सोचविचार गर्नुपर्छ । कांग्रेस एक सय सिटभन्दा पछि हट्न सक्दैन ।’

कांग्रेसमा सभापति देउवा पक्षकै नेताहरू पनि पार्टी कमजोर हुने गरी गठबन्धन गर्नु औचित्यहीन हुने जिकिर गर्दै आएका छन् । कांग्रेसलाई कम सिट दिएर कमजोर बनाउने रणनीतिले गठबन्धनको प्रभावकारिता र औचित्यमै प्रश्न उठ्ने जिकिर गर्दै संस्थापन पक्षका नेता एंव केन्द्रीय सदस्य नैनसिंह महरले भन्नुभयो, ‘केन्द्रीय समिति बैठकले पार्टीलाई प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । पार्टीको संस्थागत निर्णय कार्यान्वयनको लागि पनि कांग्रेसले एक सय सिट पाउनुपर्छ । थोरै सिटमा चुनाव लड्नुपर्ने अवस्था आए कांग्रेसको नेतृत्वमा कसरी बहुमतको सरकार बन्छ ? सिट बाँडफाँट कार्यदलमा महामन्त्री गगन थापाले गरेको प्रस्ताव पार्टीकै धारणा हो । कांग्रेस कमजोर हुने गरी गठबन्धन गर्नुको कुनै औचित्य छ ? पार्टीले गठबन्धनमा सिट बाँडफाँटको निश्चित मापदण्ड तोकेन, त्यसमा हाम्रो असहमति छ । यो विषय नेतृत्वसमक्ष राख्ने तयारी गरिरहेका छौँ ।’

कार्यदलमा रहनुभएका नेपाली कांग्रेसका एक नेताका अनुसार कांग्रेसले एक सय सिट दाबी गर्ने तर ९० सिटलाई बटमलाइन बनाउने र अन्तिममा ८६-८७ सिटमा सहमति जनाउने सम्भावना छ । गठबन्धनको घटक माओवादी केन्द्रले कांग्रेसलाई अधिकतम् ८० सिटमा रोक्न खोजेको छ । माओवादीले ६० सिट दाबी गर्ने, ५० लाई बटमलाइन बनाएर अन्तिममा ४५ मा सहमति जनाउने ती नेताको दाबी छ । ४० सिट दाबी गरेको नेकपा एसले बढीमा १५ देखि १८ सिट पाउने सम्भावना भए पनि नेकपा एसका नेताहरूले २० सिटभन्दा तल नजाने अडान लिएका छन् । जसपाले १२ सिटलाई बटमलाइन बनाएको छ भने दुई सिट दाबी गरेको राष्ट्रिय जनमोर्चाले एक सिट पाउने सम्भावना छ । नेपाली कांग्रेसले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि गठबन्धनमा सामेल गर्न खोजिरहेको छ ।

कांग्रेसभित्रको किचलोका कारण सिट बाँडफाँट टुंगिएन : अध्यक्ष नेपाल
सत्तारूढ दलको एकघटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसभित्रको किचलोका कारण आगामी निर्वाचनका लागि सिट बाँडफाँट गर्ने काम नटुंगिएको टिप्पणी गर्नुभएको छ । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले खासगरी कांग्रेसभित्र संस्थापनइतर समूहले १०० सिटभन्दा कम लिएर गठबन्धन गर्न नहुने अडानका कारण सिट बाँडफाँटको विषय टुंगोमा पुग्न नसकेको टिप्पणी गर्नुभएको हो । जित्ने सम्भावनाका आधारमा गठबन्धन दलहरूबीच सिट बाँडफाँट हुनुपर्ने आफ्नो धारणा रहेको प्रष्ट पार्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘कुन ठाउँमा कुन दललाई दिँदा जित सुनिश्चित हुन्छ त्यहीअनुसार भागबण्डा गरौँ भन्ने मेरो मान्यता हो ।’

केही दिनभित्र सिट बाँडफाँट टुंगो लाग्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सत्तारूढ गठबन्धन मिलेर चुनावमा जाने र आफ्नै पार्टी नेतृत्वमा आगामी निर्वाचनपछि पनि सरकार बन्नेमा कुनै अलमल नरहेको जिकिर गर्नुभएको हो । सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलका सदस्यसमेत रहनुभएका महामन्त्री थापाले केही दिनभित्र गठबन्धन दलहरूबीच सिट बाँडफाँटको विषयमा टुंगो लाग्ने विश्वास व्यक्त गर्दै भन्नुभयो, ‘हामी अहिले उम्मेदवार तयार पारेर केही दिनपछि निर्वाचनको तयारीमा जुट्दैछौँ । अहिले त अब गठबन्धन भन्ने भएकाले गर्दा को, कहाँबाट लड्ने ? त्यसको तालमेल मिलाउँदैछौँ । अहिले सम्पूर्ण ध्यान त्यसमा छ । केही दिनपछि हाम्रो ध्यान उम्मेदवारी चयनमा हुन्छ । त्यसपछि चुनावी अभियान सुरु हुन्छ । योपटक निर्वाचन पनि जित्छौँ हामी । हाम्रै नेतृत्वमा सरकार पनि बन्छ । त्यसमा पनि कुनै अलमल भएन ।’

इतर समूहको त्रास
आसन्न निर्वाचनको लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटमा एक सय निर्वाचन क्षेत्र नछाड्न नेतृत्वलाई दबाब दिइरहेको शेखर कोइराला पक्ष सिट बाँडफाँटदेखि टिकट वितरणसम्म सभापति देउवाले एकलौटी गर्ने त्रासमा छ । क्षेत्र बाँडफाँटदेखि टिकट वितरणमा समेत पाखा पारिने कांग्रेसका प्रभावशाली नेताहरूले एमालेसँग मिलेर चुनाव लड्नसक्ने चर्चा भइरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेता डा.शेखर कोइरालाबीच भेटवार्ता भएको छ । पार्टीभित्र संस्थापन पक्षलाई दबाब दिन विभिन्न रणनीति अपनाउँदै आएको इतर पक्ष विपक्षी दल एमालेसँग संवाद गरेर नेतृत्वलाई झस्काउने रणनीतिमा लागेको छ । ओली र कोइरालाबीचको भेटवार्तामा समसामयिक राजनीतिक विषयका अलावा आसन्न निर्वाचनको जोड घटाउको सम्बन्धमा पनि कुराकानी भएको ओलीनिकट स्रोतले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?