सत्ता गठबन्धनबीच रस्साकस्सी 

निर्वाचनपछिको शक्ति सन्तुलन आफूअनुकूल बनाउने रणनीतिको छाया सिट बाँडफाँटमा, सहमतिनजिक पुगेको नेताहरूको दाबी

अनिल क्षेत्री
Read Time = 14 mins

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धन आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँटमै अल्झिएको छ । आसन्न निर्वाचनमा चुनावी तालमेल गरेर जाने निर्णय गरे पनि गठबन्धनमा सिट बाँडफाँट मिलाउन एक महिनादेखि छलफल चले पनि सहमति जुट्न सकेको छैन । गठबन्धनमा आबद्ध दलहरू सिट बाँडफाँटका लागि आफ्नो दलभित्र र गठबन्धनभित्र लगातार छलफल गरिरहेको भए पनि टुंगो लाग्न सकेको छैन । गठबन्धन दलहरूले संघमा अधिकतम सिट दाबी गरेपछि सहमति जुट्न नसकेको हो ।

गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिए पनि अझैसम्म सिफारिस गर्न सकेको छैन । आइतबार शीर्ष नेतासहित बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचन क्षेत्रको पनि खाका बनाउन कार्यदललाई जिम्मेवारी दिएको छ । सोमबारबाट लगातार बैठक बसेर कुन निर्वाचन क्षेत्रमा कुन दलले उम्मेदवार उठाउने भन्ने पनि तय गरिने कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । दुई दिनभित्र यसमा सहमति जुटाइने दाबी गर्दै कार्कीले कार्यदलले बुझाउन सिट बाँडफाँटको खाकापछि शीर्ष नेताले सहमतिको निर्णय गर्नेछ । शीर्ष नेताहरूको निर्देशनअनुसार सोमबार बसेको कार्यदलको बैठक पनि बिना निष्कर्ष टुंगिएको छ । सिट संख्यामा कुरा नमिलेपछि सोमबार बसेको बैठकले चुनावमा सिट बाँडफाँटका लागि क्षेत्रगत छलफल सुरु गरेको छ । बैठकमा दलहरूले आ-आफ्नो धारणा राखेका थिए । सिट संख्याबारे सहमति जुटाउन नसकेपछि शीर्ष नेताहरूले कार्यदललाई क्षेत्रगत रूपमा सहमति खोज्न भनेका थिए । सोमबार बसेको कार्यदलको बैठकमा भएको छलफलबारे जानकारी दिँदै कार्यदल सदस्यसमेत रहनुभएका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भन्नुभयो, ‘कुन दलले कुन क्षेत्र आ–आफ्नो दाबीका क्षेत्रबारे केही कुरा भए । निर्णय हुन सकेन । मंगलबार टुंगाउने गरी बैठक बस्ने कुरा भएको छ ।’
कार्यदलका अर्का सदस्य हिमलाल पुरीले दाबी गरेको सिट संख्यामा कुनै पनि दल घट्न तयार नभए पनि क्षेत्रगत छलफल सुरु गरिएको जानकारी दिनुभयो । पुरीका अनुसार कार्यदल बैठक मंगलबार साँझ ६ बजे पुनः बस्नेछ ।

आइतबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले सिट बाँडफाँटको खाका प्रस्तुत गरेको थियो । उक्त खाकामाथि शीर्ष नेताहरूले छलफल गरेका थिए । कार्यदलले प्रस्तुत गरेको खाकाअनुसार प्रतिनिधिसभाका १६५ सिटमध्ये नेपाली कांग्रेस ९०, नेकपा माओवादी केन्द्र ४४, नेकपा एकीकृत समाजवादी १८, जनता समाजवादी १२ र राष्ट्रिय जनमोर्चालाई १ सिट छुट्याएको थियो । प्रस्तावमा कांग्रेस दिएको ९० सिटमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि समेट्ने शर्त राखिएको थियो । यस्तै, माओवादी केन्द्रले पाउने ४४ सिटमा डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकीकरण राष्ट्रिय अभियानका नेताहरूलाई समेट्नुपर्ने शर्त राखिएको थियो । तर, कार्यदलको खाकामा गठबन्धनका चार दलका नेताहरूले सहमत हुने संकेत देखाए पनि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहमत नभएपछि विषय टुंगोमा पुग्न नसकेको कार्यदलका एक सदस्यले बताउनुभयो । यसअघिका बैठकहरूमा नेपाली कांग्रेसले एक सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादीले ३२ र राष्ट्रिय जनमोर्चाले दुई सिटमा दाबी गर्दै आएका थिए ।

निरन्तर भाका सर्दै
गत बिहीबार सिट बाँडफाँट कार्यदलका सदस्यसमेत रहनुभएका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दुई दिनपछि नै सिट बाँडफाँटको टुंगो लाग्ने बताउनुभएको थियो । प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलपछि कार्कीले आइतबारसम्ममा सिट बाँडफाँट टुंगो लाग्ने दाबी गर्नुभएको थियो । मन्त्री कार्कीको भनाइसँग मेल खाने गरी शुक्रबार सुर्खेत पुग्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि बाँडफाँटबारे संख्या सहमतिनजिक पुगिसकेका दाबी गर्नुभएको थियो । तर, दुई दिनपछि आइतबार बसेको गठबन्धनको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि सिट बाँडफाँट टुंगो लगाउन सकेन । बरु अघिल्लो बैठकमा जस्तै दुई दिन भाका स¥यो ।
बैठकपछि कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले दुई दिनभित्र सिट बाँडफाँट टुंग्याउने गरी तयारी गरेको दाबी गर्नुभयो । सिट बाँडफाँटमा सहमति जुटाउन सोमबार पनि कार्यदलको बैठक बस्यो । दुई दिन लगातार बैठक बसेर सहमतिका साथ सबै विषय शीर्ष नेतृत्वसमक्ष पेश गर्ने कार्यदलको भनाइ छ । कार्यदलको बैठक मंगलबार पनि बस्दै छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुनः भाका दुई दिन पर सार्नुभएको छ ।

बिहीबारसम्म सबै विषय टुंगो लाग्छ : अध्यक्ष दाहाल
सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनभित्र सिट संख्यामा दलहरूबीच सहमति भइसकेको दाबी गर्नुभएको छ । सोमबार जनकपुरधाम पुग्नुभएका अध्यक्ष दाहालले सिट संख्यामा सहमति भएको र क्षेत्रमा कार्यदलले छलफल गरिरहेको बताउनुभएको छ । यद्यपि, अध्यक्ष दाहालले कुन दलले कति सिट पाए भन्नेबारे खुलाउनुभएन । माओवादीले मधेश प्रदेशमा नौवटा प्रतिनिधिसभाको सिटमा दाबी गरेको दाहालको भनाइ छ । आगामी बिहीबारसम्म क्षेत्रको पनि बाँडफाँट भइसक्ने पनि अध्यक्ष दाहालको दाबी छ ।

कार्यदलले केही गर्न सकेको छैन : अध्यक्ष केसी
सत्तारूढ गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न निर्वाचनको लागि सिट बाँडफाँटको सम्बन्धनमा दलहरूले आ–आफ्नो दाबी गर्नेबाहेक कुनै प्रगति नभएको बताउनुभएको छ । सोमबार पत्रकारसँगको भेटघाटमा अध्यक्ष केसीले गठबन्धनको बैठक र कार्यदलको बैठकमा सिट बाँडफाँटबारे कुनै प्रगति नभएको जिकिर गर्दै भन्नुभयो, ‘कार्यदलमा केही पनि भएको छैन । जहाँ सुरुवात थियो त्यहीँ छ । अहिलेसम्म यस विषयमा राष्ट्रिय जनमोर्चा मात्रै प्रष्ट छ । अहिले कांग्रेसलाई एक सय चाहिने माओवादीलाई ५० चाहिने ? सबै ठाउँमा एक्लै जित्ने भए किन गठबन्धन गर्नु ? १६५ क्षेत्रमै एक्लाएक्लै लडे भयो त ।’

शक्ति बाँडफाँटको छाया सिट र क्षेत्र बाँडफाँटमा सकस
साउन २३ गतेदेखि सुरु सिट बाँडफाँटको गृहकार्य संख्यामै अड्किएको गठबन्धनका नेताहरूको दाबी छ । तर, एक महिनादेखि जारी गृहकार्य पछिल्ला दिनहरूमा सिट र निर्वाचन क्षेत्र बाँडफाँटमा मात्र सीमित नरहेको कार्यदलकै सदस्यहरूको दाबी छ । सिट र निर्वाचन क्षेत्रको विषय आगामी शक्ति सन्तुलनसँग जोडिएकाले सिट बाँडफाँटमा सकस देखिएको नेताहरूको भनाइ छ । सिट बाँडफाँट कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवैको आसन्न निर्वाचनपछि प्रधानमन्त्री बन्ने रणनीतिसँग जोडिएको छ ।

यो विषयमा गठबन्धन बैठकमा छलफल नभए पनि सभापति देउवा र अध्यक्ष दाहालबीच हुने एकल भेटवार्तामा छलफल चलिरहेको दुवै नेताका विश्वास पात्रहरूको दाबी छ । गठबन्धनको सामूहिक बैठक बस्नुअघि आइतबार बिहान पनि देउवा र दाहालबीच करिब एकघण्टा एक्लाएक्लै छलफल भएको थियो । कतिपय राजनीतिक क्षेत्रका जानकारहरू सिट बाँडफाँटमा कांग्रेस र माओवादीबीच अहिले चलिरहेको दाउपेचलाई सरकार निर्माणकै विषयसँग जोड्ने गरेका छन् । सरकार निर्माणलाई गठबन्धनको मुख्य लक्ष्य बनाएका देउवा र दाहाल जतिसक्दो बढी सिट लिने रणनीतिमा लाग्नुको पछाडि दुई नेताबीच सत्ता साझेदारी गर्ने विषयमा कुरा मिल्न बाँकी रहेको बुझ्न कठिनाइ नभएको कांग्रेस र माओवादी केन्द्रकै नेताहरूको भनाइ छ । यसैकारण निर्वाचन क्षेत्र बाँडफाँट र सिट संख्याको निर्धारण गर्न गठबन्धनलाई सकस परिरहेको उनीहरूको स्वीकारोक्ति छ । सरकार निर्माणमा माओवादीबाहेक अन्य साना दल निर्णायक नहुन् भन्ने माओवादीको र माओवादीबाहेक सरकार बनाउन सकियोस् भन्ने कांग्रेसको रणनीतिका कारण सिट बाँडफाँटको विषय टुंगोमा पुग्न सकेको छैन ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे छलफल सुरु नभएको जिकिर गर्दै भन्नुभयो, ‘अहिले सरकारको नेतृत्वबारे छलफल गर्ने बेला भइसकेको छैन । सिट व्यवस्थापन टुंगिएपछि शीर्ष तहमा छलफल भएर सहमति हुनसक्छ । तर, कांग्रेस आसन्न निर्वाचनपछि पनि नेतृत्वकर्ताको भूमिकामा रहन्छ ।’

अनौपचारिक संवादमा भने कतिपय नेताहरूले दुई नेताबीच प्रधानमन्त्री मात्रै नभएर राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र प्रदेशका मुख्य मन्त्रीसमेतका पदमा समेत प्याकेजमै भागबण्डा मिलाउने प्रयास सुरु भएको दाबी गरेका छन् । तर, आइतबार पत्रकारसँगको भेटघाटमा कांग्रेस प्रवक्ता डा. महतले शक्ति बाँडफाँटको विषयमा बाहिर छलफल नभएको जिकिर गर्दै भन्नुभयो, ‘गठबन्धनबीच अहिले सिट र निर्वाचन क्षेत्रको विषयमा नै छलफल भइरहेको छ । प्रधानमन्त्रीको आलोपालो गर्ने विषयबारे जानकारी छैन । दुई नेताबीच छलफल भएको भए बेग्लै कुरा भयो तर हाम्रो जानकारीमा यो विषय आएको छैन ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?