राष्ट्रिय स्वार्थलाई सर्वोपरी ठानौँ

हिमालय टाइम्स
Read Time = 6 mins

जति-जति निर्वाचनको मिति नजिकिँदै छ त्यति-त्यति ठबन्धनको रस्साकस्सी बढ्दै गइरहेको छ । गठबन्धन कुनै नियम कानुनका आधारमा हुने होइन । यसमा नेताहरूको स्वार्थ जोडिएको छ । त्यही स्वार्थ पूरा गर्नका लागि हुनलागेको हो यो गठबन्धन । होइन भने राजनीतिक विचारमा ठीकविपरीत पार्टीहरू सरकारमा बस्न पाउने अपेक्षाका साथ विचार र सिद्धान्तलाई बिर्सिएर गठबन्धनमा लागेका हुन् । यसलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा राम्ररी विचार गरेर उनीहरू चुनावी गठबन्धन पनि गर्नेगरी निष्कर्षमा पुगेका छन् । हालका दिनहरूमा सरकारमा रहेका र प्रतिपक्षमा रहेका समेत दुवै पक्ष आ-आफ्नो प्रकारको गठबन्धनमा लागिरहेका छन्, यसको तयारी गरिरहेकै छन् ।

यति हुँदाहुँदै सकेसम्म बढी सिट हत्याउनु ती सबैको अभिष्टका रूपमा देखापरिरहेको छ । यस कारणले पार्टीहरू अरू पार्टीलाई गलाउने र आफ्नो पोल्टामा सकेसम्म बढी सिट निर्णय गराउने अभ्यास गरिरहेको छन् । यसो हुँदा सरकारको गठबन्धनमा रहेकै पार्टीहरू पनि बेलाबेलामा अर्कोतिर लाग्छौँ भनेर धम्क्याउने गर्दै छन् । प्रतिपक्षी एमालेसँग गठबन्धन गर्छौं भन्ने पार्टीहरू थोरै छन् र उसलाई सहयोग गर्छौं भन्ने पार्टी साना पार्टीहरूमात्र छन् । सरकारमा भएका पार्टीहरू भने ठूला पार्टीका रूपमा ख्याति आर्जन गरेकै पार्टीहरू छन् । सरकारमा वामपन्थी पार्टीहरूको बाहुल्य छ । नेपाली कांग्रेस भने प्रजातन्त्रको संबाहक पार्टीका रूपमा चिनिँदै आएको छ । विचारले विपरीत सोच बोकेका पार्टीहरू भए पनि ती हाल एकै ठाउँमा छन् ।

उनीहरूबीचको सम्झौता निर्वाचनमा यो गठबन्धन कायमै गरौँ भन्ने हो, तर यति हुँदाहुँदै सकेसम्म धेरै सिट प्राप्त गर्नका लागि ‘नत्र भने हामी वामपन्थी पार्टीहरू जति एउटा गठबन्धन गरेर जान्छौँ’ भनेर नेपाली कांग्रेसलाई तर्साउने गर्छन् । यो सम्भावना कम छ तर राजनीतिमा असम्भव कुरा छैन । भोलि त्यस्तो भयो भने नेपाली कांग्रेसले आफू एक्लै निर्वाचन लड्नुपर्ने पनि हुनसक्छ भन्ने सोचाइका साथ ऊ तयारीमा लाग्नै पर्छ । यदि त्यस्तो अवस्था आयो भने २०७४ सालकै जस्तो हुन्छ । यदि वामपन्थीहरू जति एकै ठाउँमा उभिए भने निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याएर पहिलो बन्न त उनीहरू सक्लान् तर यसअघिकै जस्तो तिनीहरू पूर्णकार्यकाल मिलेर रहन सक्लान् त ? अहम् प्रश्न भने सधैँ उठिरहन्छ । जित्न सक्लान् तर त्यसको परिणाम सधैँ जोगाएर राख्न सक्लान् वा नसक्लान् भन्ने महत्वपूर्ण कुरा हो ।

वामपन्थी पार्टीका नेताहरूले वाममोर्चा बनाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ तर आजको परिस्थितिमा त्यो कति सम्भव छ त्यतातिर फर्किनु पर्नेहुन्छ । नेकपाबाट फुटेर टुक्रा-टुक्रा भएका वाम पार्टीहरू अब फेरि कसरी जोडिन सक्लान् र जोडिए भने पनि तिनका बीचको सम्बन्ध सौहाद्र बन्न सक्ला कि नसक्ला ? भोलि जे होला भन्ने आसयले भए पनि यसको चर्चा चलेको छ र शीर्ष नेताहरूबाटै यस्ता विचार आएका छन् । यस्ता चर्चाहरू परिणाम दिन चलाइएका हुन् कि चर्चाका लागि मात्रै चलाइएका हुन् अथवा गठबन्धनमा भागबण्डा गर्ने बेला भएको हुँदा आफ्ना पक्षमा अलिक ठूलो भाग लागोस् भनेर यस्ता चर्चा चलेका हुन् त्यो राजनीतिक बजारको एउटा चासोको विषय हो ।

यदि नेताहरूले भने जसरी फेरि वाममोर्चा बन्यो भने त्यसलाई नेपाली जनताले वा मतदाताले कसरी हेर्लान् ? त्यो एक प्रकारको रमाइलो क्षण मानिनेछ । हिजो सडकमा गएर एक अर्कालाई अपमानजनक गालीगलौज गर्नेहरू बीचको हातेमालो जनताले आफ्नै आँखाले हेर्नुपर्ने अवस्था एक प्रकारले भन्ने हो भने नेपाली राजनीतिक बजारको नौटंकीकै रूपमा परिभाषित नहोला भन्ने छैन । अहिले नै हो हामी फलाना-फलाना मिलेर मोर्चा बनाउँछौँ भन्ने बेला तर राजनीति गर्नेहरूले आफ्नो निजी स्वार्थ, पार्टीको स्वार्थका साथै नेपाल र नेपालीको स्वार्थलाई पनि हेर्नुपर्ने हुन्छ । आफ्नो स्वार्थमात्र पूरा गर्ने क्रममा राष्ट्रिय स्वार्थलाई तिलाञ्जलि दिनु भने उचित हुँदैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?