विद्यालय जान निस्केका बुटवलका तीन बालक भारतको मुम्बईमा बेहोस अवस्थामा फेला

हिमालय टाइम्स
Read Time = 3 mins

-चन्द्र खनाल
रुपन्देही । विद्यालय जान हिंडेका बुटवलका तीन जना बालक भारतको मुम्बईमा बेहोस अवस्थामा फेला परेका छन् । शुक्रबार विद्यालय जान भनेर घरबाट हिँडेका उनीहरू शनिबार राति २ बजे मुम्बईको केरला स्टेशनमा भेटिएको र उनीहरु बेहोसीजस्तै अवस्थामा रहेको हराएकामध्ये सागर पौडेलका मामा राजु पन्थीले वताउनु भयो ।

हराएका बालक विपिन लम्सालले बाबुहरुलाई त्यो स्टेशनमा भेटाएको खबर हामीलाई शनिबार राती २ बजे दिनुभयो, उनीहरुको होस खासै छैन रे, बड्बडाए जस्तो गरेका छन् रे, अब हामी यताबाट प्रहरीको पत्र बनाएर लिन जाँदैछौं’ उहाले भन्नुभयो । बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी शुक्रबार नवीन औद्योगिक मावि कक्षा ९ मा पढ्ने दुई जना र नहरपुर मावि कक्षा ८ मा पढ्ने एक जनासँग विद्यालय जान भनी सँगै घरबाट निस्केका थिए । तर, विद्यालयमा उनीहरू अनुपस्थित भएपछि परिवारजनले खोजी गरेका थिए।

बालकहरूले भने आफूहरू कसरी भारत आइपुगेको भन्ने केही थाहा नभएको अभिभावकलाई वताएका छन् । हराएका समीर लम्सालका बुबाले दिएको जानकारी अनुसार उनीहरुसँग केही झोलाहरु पनि भेटिएको छैन तर एकजनाको खल्तीमा १५ हजार रकम भेटिएको तर त्यो रकम कसले दियो भन्ने विषय नै अन्यौल भएको छ । समीर लम्सालका बुवाले सागर पौडेलका मामा राजुलाई दिएको जानकारी अनुसार उनीहरु ठूलो गिरोहबाट नै अपहरण भएको हुनसक्ने भएकाले यसको वास्तविक कारण पत्ता लगाउन नेपालको प्रहरीको साथ आवश्यक भएको वताउनु भयो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले अभिभावकले विद्यार्थी भेटिएको जानकारी दिएको र उनीहरुलाई सहज तरिकाले ल्याउन र यसको कारण पत्ता लगाउन अनुसन्धान थालिएको वताउनु भयो ।

केही दिनयता तराईका विभिन्न जिल्लामा भारतीयहरुले विद्यार्थी अपहरण गरेर लैजान थालेको विषय सामाजिक सन्जालमा भाइरल बनिरहेका बेला बुटवलमा भएको यो विषयले विद्यार्थी तथा अभिभावलाई थप त्रसिद बनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?