भारत साफ च्याम्पियनसिपको सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा साबिक विजेता भारतले माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतले माल्दिभ्सलाई ९-० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

समूह ‘ए’ मा रहेको भारतको यो लगातार दोस्रो जित हो । भारतले यसअघि भएको पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो । सोही समूहबाट बंगलादेश पनि सेमिफाइनलमा पुगेको छ । यस समूहबाट माल्दिभ्स र पाकिस्तान भने एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएका छन् ।

भारतको जितमा अन्जु तामाङले हृयाट्रिकसहित चार गोल गर्नुभयो । डाङमेई ग्रेसले थप दुई गोल गर्नुभयो । त्यसबाहेक प्रियंका देवी, काश्मिना र सौम्या गुगुलोथले एक-एक गोल थप्नुभयो । खेलको २४औं मिनेटमा अन्जुले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाउनुभयो । खेलको ४२औं मिनेटमा प्रियंकाले गोल गर्दै भारतलाई २-० को अग्रता दिलाउनुभयो । यसैगरी खेलको पहिलो हाफको अतिरिक्त समयमा अन्जुले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ३-० को अग्रता दिलाउनुभयो ।

खेलको ५३औं मिनेटमा ग्रेसले गोल गर्दा भारतले ४-० को अग्रता बनायो । खेलको ५५औं मिनेटमा सौम्याले गोल गर्दै भारतलाई ५-० को अग्रता दिलाउनुभयो । खेलको ८४औं मिनेटमा काश्मिनाले गोल गर्दा भारतको अग्रता ६-० को बन्यो । खेलको ८५औं मिनेटमा अन्जुले व्यक्तिगत तेस्रो गोल गर्दै हृयाट्रिक पूरा गर्नुभयो । खेलको ८७औं मिनेटमा ग्रेसले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ८-० को अग्रता दिलाउनुभयो । त्यसपछि खेलको ८८औं मिनेटमा अन्जुले व्यक्तिगत चौथो गोल गर्दै भारतलाई ९-० को जित दिलाउनुभयो ।
यस्तै, अर्को खेलमा बंगलादेशले पाकिस्तानलाई पराजित गरेको छ । बंगलादेशले पाकिस्तानलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

बंगलादेशको जितमा कप्तान सबिना खातुनले हृयाट्रिक पूरा गर्नुभयो भने मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एक-एक गोल थप्नुभयो । खेलको तेस्रो मिनेटमा मोनिकाले गोल गर्दै बंगलादेशलाई पहिलो अग्रता दिलाउनुभयो ।

त्यस्तै, खेलको २८औं मिनेटमा शोप्नाले गोल गर्दा बंगलादेश २-० ले अघि रहृयो । त्यसपछि खेलको ३१औं मिनेटमा सविनाले गोल गर्दै टिमको अग्रता तेब्बर बनाउनुभयो । यसैगरी खेलको ३५औं मिनेटमा सबिनाले व्यक्तिगत दोस्रो गोल गर्दा बंगलादेश ४-० ले अघि रहृयो । खेलको ५९औं मिनेटमा सविनाले थप एक गोल गर्दै हृयाट्रिक पूरा गर्नुभयो ।

त्यसपछि खेलको ७७औं मिनेटमा रितुले गोल गर्दै बंगलादेशलाई ६-० को जित दिलाउनुभयो । बंगलादेशको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा बंगलादेशले माल्दिभ्सलाई ३-० ले हराएको थियो । पाकिस्तानको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा पाकिस्तानले भारतसँग ३-० गोलको हार बेहोरेको थियो ।

यस जितसँगै समूह ‘ए’ मा रहेको बंगलादेशले ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । पाकिस्तान दुई खेलमा अंकविहीन रहँदै पुछारमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?