भ्रष्ट नेता र कर्मचारीतन्त्रको आहालमा मुलुक

डा. डीआर उपाध्याय
Read Time = 16 mins

विगत ६ दशकको नेपाली राजनीति हेर्ने हो भने ठूलाठूला परिवर्तन भएका छन् तर हाम्रो दुर्भाग्य, परिवर्तनहरू स्थायी हुन सकेनन् । त्यस्ता परिवर्तनले आममानिसको जनजीवनमा उल्लेख्य परिवर्तन पनि ल्याउन सकेन । सत्ता, शक्ति र सम्पत्तिमा मात्र राजनीति केन्द्रित हुँदा पनि हाम्रो जीवनस्तरमा तात्विक अन्तर आउन सकेन । जनताले परिवर्तनका निम्ति ठूलो बलिदानी, त्याग, तपस्या गरे । जुन व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन हुन भने सकेन । यसभन्दा ठूलो चिन्ता अरू के हुन्छ ?

समयक्रमसँगै विकास भएको नेपाली जनताको सामाजिक चेत, राजनीतिक परिवर्तनले स्थापित गरेका नयाँ-नयाँ मान्यताका साथै हाम्रो सामाजिक सम्बन्धलाई नेपाली राजनीतिले अनुभूत गर्न नसक्दा वा नचाहँदा हामीले वर्तमान अवस्थाबाट गुज्रिनु परेको भन्दा अतिसयोक्ति नहोला । हाम्रो वर्तमान भनेको राष्ट्रिय अस्तित्वमै संकट देखापरेको अवस्था भनेर धेरैले औल्याउने गरेका छन् । यस्तो बेला हामी एक हुन नसक्नु र राजनीतिक र सामाजिक रूपमा विभिन्न झुण्डमा विभक्त हुनु हाम्रो दुभाग्य हो ।

पछिल्लो समय देशको अवस्था अझै नाजुक बन्दै गएको छ । युवाहरू यो देशमा बस्न खोज्दैनन् । अवस्था डरलाग्दो छ । भोलिको दिनमा यो देशको अवस्था के हुने होला ? अहिले नै सोच्नुपर्ने बेला भएको छ ।

अर्कोतिर आज व्यापार, उद्योगधन्दा कछुवा गतिमा छन् । आर्थिक मन्दीका निहुँमा व्यापार-व्यवसाय चल्न सकेका छैनन् । बैंकको चर्को ब्याज र ऋणले व्यापार-व्यवसाय गर्ने आमव्यापारीहरू टाउकामा हात राखेर बस्नुपर्ने अवस्था सिर्जना भएको छ । केही व्यापारीहरू ऋण तिर्न नसकेर आत्महत्या गरिरहेका छन् । बेलाबखत यस्ता दुःखद् समाचार सुन्नु, हेर्नु र पढनुपर्ने बाध्यता हामीसँग छ । व्यापार–व्यवसाय, उद्योगधन्दा सञ्चालन गर्न देशको राजनीतिक वातावरण नै छैन भन्ने उनीहरू भन्दै आएका छन् । राजनीतिक दल र तिनका नेताहरू कमाउ धन्दामा लागिरहेका कतैबाट छिप्न सकेको छैन । देश र जनताको कुनै चिन्ता र चासो उनीहरूमा भएको पाइँदैन ।

यदि उनीहरूलाई यो देशको चिन्ता हुन्थ्यो भने देश बन्थ्यो । जुन जोगी आए पनि कानै चिरेका भन्ने उखानलाई पुष्टि गर्न उनीहरू उद्यत् भएको पाइन्छ । व्यापारीभन्दा धनी कर्मचारी र उद्योगपतिभन्दा धनी नेता भएपछि यो देश कसरी बन्छ ? यो प्रश्नको जवाफ कसैसँग छ ? यस विषयमा कोही बोल्न सक्छ ? आज यस प्रश्नको उत्तर खोज्न जरुरी छ । यस प्रश्नभित्र याथार्थ कुरा लुकेको छ । आज व्यापारीभन्दा कर्मचारीहरू धनी बन्दै गएका छन् । यो सत्य कुरा हो । पिउनदेखि सचिव, मुख्यसचिवसम्मका शहरमा घरजग्गा छन् । यो कसरी सम्भव भयो ? व्यापारीहरू धराशायी हुँदै गएका छन् । जसले गर्दा देशको आर्थिक अवस्था नै चलायमान हुन सकेको छैन ।

पछिल्लो समय देशको अवस्था अझै नाजुक बन्दै गएको छ । युवाहरू यो देशमा बस्न खोज्दैनन् । अवस्था डरलाग्दो छ । भोलिको दिनमा यो देशको अवस्था के हुने होला ? अहिले नै सोच्नुपर्ने बेला भएको छ । भएका हाम्रा उद्योगधन्दा बन्द गरेर हामी बाहृय वस्तु भिœयाउनलाई प्रोत्साहन गरिरहेका छौं । उद्योगधन्दा खोल्ने कुरामा हाम्रा नेताहरूको खासै ध्यान गएको देखिँदैन । विसं २०४७ सालदेखि अहिलेसम्म मन्त्री पद खाएका नेताहरूको सम्पत्ति छानविन गर्ने हो भने सबै कुरा छर्लंग हुन्छ । यो देश बनाउने हो भने नेता र कर्मचारीहरूको सम्पत्ति छानबिन हुनुपर्छ । त्यसो भयो भने मात्र यो मुलुकको भविष्य बन्नसक्छ । यो देश बनाउने हो भने यो हिम्मत गर्नुपर्छ । नेता र कर्मचारीहरूको घरमा देशको ढुकुटी थुप्रिएको छ ।

अब छानविन गर्ने कि नगर्ने ? अब हिम्मत गर्ने हो भने यो देश बनाउन यो काम गर्नुपर्छ । किन नेपाल अघि बढ्न सकेन ? यस प्रश्नको जवाफ आमजनताले खोजिरहेका छन् । सरकारले जनताको भावना अनुसार काम गर्न सकेन । सरकारलाई काम गर्न अहिले केले रोकिरहेको छ । कहाँ के कति कमी कमजोरी छन्, ती कमी कमजोरी पत्ता लगाएर सच्चिँदै अघि बढ्नुपर्ने आवश्यकता अहिलेको समयको माग हो । समय सधैँ एकैनासले अघि बढ्दैन, समयको गतिँगै अघि बढ्न सकेमात्र सफलता हासिल हुन्छ । सरकारले गतिका साथ काम गर्न नसक्नाले आमनेपाली धेरैभन्दा धेरै निराश छन् । जनतामा निराशा आउनुभनेको संकटको घण्टी बज्नु हो ।

यसबारे सत्तारुढ दल गम्भीर बन्नुपर्ने जरुरी देखिएको छ । यति धेरै समय बित्दा सरकारको प्रभावकारिता दिनप्रतिदिन घट्दै जानुमा कर्मचारीतन्त्रको चरित्रले काम गरिरहेको छ । मन्त्रीहरू आफ्ना जिम्मेवारी गहनरूपमा पूरा गर्दै जानेभन्दा पनि व्यक्तिगत स्वार्थमा अलमलिरहेका छन् । यो सरकारको गतिहिनता देख्दा जनता निराशामा डुबेका छन् । कर्मचारीतन्त्रले परम्परागत रूपले यो सरकारलाई असहयोग गर्दै आएका छन् । सरकारले अघि सारेको नीति तथा कार्यक्रम बमोजिम कर्मचारीतन्त्रले प्रतिबद्धताका साथ जनतासमक्ष सेवाप्रवाह गर्न सकेको छैन । कर्मचारीतन्त्रको काम भनेको सरकारका नीति तथा कार्यक्रम बमोजिम जनतालाई सेवाप्रवाह गर्नु हो तर कर्मचारीतन्त्रले नै देशको गतिलाई रोकिरहेको छ ।

जनतालाई सरकारको अनुभूति गराउने मुख्य भूमिका कर्मचारीतन्त्रको हो । सरकारका नीति तथा कार्यक्रमहरू एक्सनमा लैजाने काम भनेकै कर्मचारी प्रशासनले हो । जनतालाई सेवा प्रवाह दिलाउने काम सरकारी कर्मचारीको हो । जनतालाई प्रदान गर्ने सेवाहरू, विकास, समृद्धि र सुशासन कायम गर्ने जिम्मेवारी कर्मचारीतन्त्रको हातमा छ । कर्मचारीतन्त्रले नै भ्रष्टाचारलाई बढावा दिने हो भने सुशासनको कल्पना कसरी गर्न सकिन्छ ? देशमा जनताले सुशासनको अनुभूति गर्न पाएका छैनन् । सरकारले कर्मचारी तन्त्रलाई पारदर्शी र निष्ठाका साथ काम गर्न निर्देशन दिनुपर्छ । सरकारले जनतासँगको सम्बन्ध जोड्न आफ्नो नीति तथा कार्यक्रमल्याउने गर्छ । तर, कर्मचारीतन्त्रको असहयोगका कारण सरकार असफल हुनेगरेका छन् ।

परम्परागतशैलीले अब देशको विकास सम्भव छैन । देशको विकास, समृद्धि गर्न नयाँ सोच, चिन्तन र स्पष्ट खाकासहितको मार्गचित्र कोर्नुपर्छ । अहिलेको युग भनेको प्राविधिक र सञ्चारको युग हो । प्रविधि र सञ्चारसँग खेल्न नसक्ने कर्मचारीबाट अब कुनै आशा नराखे पनि हुन्छ ।

अहिले पनि त्यही भएको छ । शासकीय सुधारका लागि सबैभन्दा पहिला कर्मचारीतन्त्रलाई सुधार गर्नुपर्नेछ । कर्मचारीतन्त्र आफ्नै स्वार्थमा केन्द्रित बन्दै आएको छ । यसले देशको भलो हुँदैन । सेवा प्रवाह गर्ने निकायका कर्मचारी बिचौलियाको घेराबन्दीमा छन् । जसले गर्दा सरकारको काम कारबाही प्रभावकारी ढंगले अघि बढ्न सकेको छैन । ठूलो समस्या नै यही हो । शासकीय सुधारका काम सरकारले एक्सनका साथ अघि बढाउनुपर्छ । त्यसो भयो भनेमात्र सुधार गर्न सम्भव छ ।

परम्परागत पाराले अघि बढेको कर्मचारीतन्त्रलाई सुधार गर्न सकिँदैन । केही अपवादलाई छाडेर अधिकांश मन्त्रीहरू यक्तिगत स्वार्थमा रुमलिरहेका छन् । त्यस कारणले पनि देशमा सुशासन कायमहुन सकेको छैन । मन्त्रीहरूले आफ्नो मातहतका कर्मचारीहरूलाई एक्सनमा उत्रिएर निर्देशन दिने हो भने शासकीय सुधार गर्न केले रोक्छ ? सवाल यो हो । संघीयतालाई सफल बनाउने भूमिका कर्मचारीतन्त्रले खेल्न सकिरहेको छैन । अहिले विभिन्न बहानामा जनताका काम अड्काउने गरिएको छ । सरकारका कामहरू र मुलुकको अस्तब्यस्तता हेर्दा अत्यन्त निराशाजनक अवस्था छ । जसले गर्दा सरकारको कार्यशैलीमा कुनै प्रभावकारीता देखिन सकेको छैन ।

यसको बढी दोष कर्मचारीतन्त्रले लिनुपर्छ । सरकारले विकास, समृद्धि र सुशासनका नारा अघि सारेको छ । यो नारा पूरा गर्न पनि कर्मचारीतन्त्रको ठूलो हात छ । कर्मचारीतन्त्रले सरकारलाई काम गर्न ठूलो सहयोग गर्नुपर्ने आवश्यकता देखिएको छ । कर्मचारीतन्त्रले अब पूरा देश र जनताको हितमा केन्द्रबिन्दु राखेर काम गर्नुपर्ने जरुरी देखिएको छ । आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रबिन्दु बनाएर काम गरेका कर्मचारीहरू सच्चिएर अब देश र जनताको सेवाप्रवाहमा खट्नुपर्छ । सरकारले आर्थिक समृद्धि, विकास र भ्रष्टाचारमा शून्य सहनशीलता, सुखी नेपाली र समृद्ध नेपालको कुरा गरिरहेको छ । तर, हाम्रो कर्मचारीतन्त्र त्यसलाई पूरा गर्न तयार छैन ।

मालपोत, नापी, वैदेशिक रोजगार, यातायात र भन्सारजस्ता कमाउने ठाउँमा जान कर्मचारी मरिहत्ते गर्छन । यो प्रवृत्तिको अन्त्य हुनु जरुरी छ । पैसाविना जनताको काम अहिले पनि छिटो छरितो हुन सकिरहेको छैन । यो आमजनताको गुनासो हो । अहिले पनि बिचौलिया र दलालहरूको सक्रियतामा कमी आउन सकिरहेको छैन । कमिसनविना विकास निर्माणका काम अघि बढ्न नसकेको अवस्था अझै छ । सरकारले दिएको निर्देशनलाई व्यवहारमा उतार्न सबै सरोकारवाला निकायहरू इमानदारीसाथ लाग्ने हो भने देशको विकास र समृद्धिले गति लिन सक्छ । अबको कर्मचारीतन्त्र इमानदार, कर्तव्यनिष्ठ, सिर्जनात्मक हुन जरुरी छ ।

परम्परागतशैलीले अब देशको विकास सम्भव छैन । देशको विकास र समृद्धि गर्न नयाँ सोच, चिन्तन र स्पष्ट खाकासहितको मार्गचित्र कोर्नुपर्छ । अहिलेको युग भनेको प्राविधिक र सञ्चारको युग हो । प्रविधि र सञ्चारसँग खेल्न नसक्ने कर्मचारीबाट अब कुनै आशा नराखे पनि हुन्छ । त्यस्ता कर्मचारीलाई अवकाश दिई नयाँ प्राविधियुक्त कर्मचारीलाई भित्र्याउनुपर्छ । त्यसो भयो भने सरकारले अघि सारेका योजनाहरू सफल हुनसक्छन् । भ्रष्ट नेता र कर्मचारीतन्त्रको आहालमा हाम्रो मुलुक रहेका कारण नै विकास हुन नसकेको हो ।

पार्टीगत र पार्टीभित्रका समूहगत स्वार्थमाका साथै भ्रष्ट कर्मचारीतन्त्रका कारण नै हामी वर्तमानको कहालीलाग्दो अवस्थामा पुगेको हो भन्ने कुरा अब कसैबाट लुक्न सकेको छैन । देशको कमजोर अवस्थाको फाइदा लुट्न अनेक दाउ लाएर बसेकाहरू चलमलाइरहेका छन् । देशको वर्तमान दुर्दशाबाट यसलाई माथि उठान आम सचेत नागरिकको खबरदारी आवश्यक छ । देशको राजनीतिमा जति परिवर्तन भए पनि आममानिसको जन जीवनमा परिवर्तन भएन भने अन्य धेरैै विद्रोह नेपालले भोग्नुपर्नेछ । परिवर्तन सकारमा मात्र होइन जनजीवनमा आउनुपर्छ । तबमात्र त्यो दिगो हुन्छ ।

राष्ट्रहितका लागि सत्यको अन्वेषण गर्दै सचेत नागरिकले झकझकाइ रहनुपर्दछ  । जतिसुकै कठोर परिस्थिमा पनि आशाको दियो बालिरहनुपर्छ । शासकहरू चरम सत्ता र व्यक्तिगत स्वार्थमा लिप्त भएका कारण देशले वर्तमान अवस्थाबाट गु्रजिनुपरेको यर्थाथलाई बुल्नद गर्नु सचेत नागरिकको कर्तव्य हो । आ-आफ्नो ठाउँबाट सबैले आफ्नो आवजलाई बुल्नद गरौं । राष्ट्रहितको पक्षमा उभिरहने पराक्रम सचेत नागरिकहरूले कायम राख्नुपर्छ । अन्यथा भोलिको पुस्ताले हामीलाई माफ गर्नेछैन । सबैमा समयमै चेतना भया ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?