बागलुङमा थपिँदै ५२३ मिटर लामो झोलुङ्गे पुल

हिमालय टाइम्स
Read Time = 4 mins

डम्मर बुढा मगर/हिटा
बागलुङ । लामा र अग्ला झोलुङ्गे पुलहरूको जिल्लाको रूपमा परिचित बागलुङमा फेरि अर्को पुल निर्माण हुन थालेको छ । बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथि ५२३ मिटर लामो झोलुङ्गे पुल बन्न थालेको हो । बागलुङ नगरपालिका-४ उपल्लाचौर गौरीधामदेखि पर्वत जिल्लाको जलजला गाउँपालिका-८ ओडारे जोड्ने ५२३ मिटर लामो झोलुङ्गे पुल निर्माण थालिएको हो । उक्त पुल सात करोड लागतमा निर्माण हुन थालेको हो ।

दुई वर्षमा निर्माण सक्ने गरी सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौंसँग हिमशिखर कन्ट्रक्सन निर्माण कम्पनीबीच सम्झौता भएर काम थालिएको छ । बागलुङ नगरपालिका-१ रामरेखादेखि पर्वतको कुश्मा नगरपालिका-१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको दुई वर्षपछि फेरि अर्को बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुल निर्माण थालिएको हो ।

उक्त पुल विश्वकै एकल स्पानमध्ये लामो भएको बागलुङ नगरपालिकाले विश्व रेकर्डका लागि निवेदनसमेत दिएको छ । बागलुङको गौरीधामदेखि पर्वत जिल्लाको जलजलास्थित ओडारे जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गर्न थालिएको पुल निर्माणको बागलुङ तर्फबाट जग खन्ने कार्यको थालनी गरिएको छ ।

बागलुङ नगरपालिका-४ का वडा अध्यक्ष कुमार विक्रम क्षेत्रीले बागलुङ बजारलाई पर्वतको जलजला गाउँपालिकासँग जोड्दा बागलुङ बजारको व्यापार व्यवसाय बढ्ने र जलजलावासीहरू घण्टौँ लगाएर बागलुङ बजार आउनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । क्षेत्रीले पुल निर्माणका लागि बागलुङतर्फ निःशुल्क जग्गा दिने जग्गा दातालाई धन्यवाद दिनुभयो ।

‘जलजलाका नागरिकहरू प्रशासनिक कामका लागि सदरमुकाम कुस्मा गए पनि व्यापारिक कामका लागि बागलुङ आउने गर्दछन्, पुल बनाएपछि एक डेढ घण्टाको बाटो छोट्टियो’ अध्यक्ष क्षेत्रीले भन्नुभयो, ‘पुल निर्माणसँगै बागलुङ र पर्वत जिल्लाको पर्यटन क्षेत्रको समेत विकास हुनेछ ।’ पुल निर्माणका लागि २०७९ जेठमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

पुल निर्माणका लागि बागलुङ तर्फको झण्डै ६ आना जग्गा निःशुल्क दिएको जग्गादाता राजेन्द्रबहादुर जिसीले बताउनुभयो । ‘विकासका लागि बाधक बन्नु हुँदैन भन्ने लाग्यो मैले आफ्नो जग्गाबाट पुल बनाउन दिए, पुल निर्माण भएपछि यहाँको पर्यटन व्यवसाय फस्टयाने छ’ जिसीले भन्नुभयो, ‘आफूले व्यावसायिक केराखेती मासेर पुल बनाउन जग्गा दिएको छु, पुल निर्माणपछि बागलुङको व्यवसाय थप बढ्ने अपेक्षा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?