सन्दर्भः अन्तराष्ट्रिय श्रमिक दिवस-श्रमिकका समस्या बुझ्दैनन् मालिक, सरकारले चासै राख्दैन

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । आज मे १ अर्थात् १ सय ३४ औं विश्व मजदुर दिवस । विश्वभरका श्रमिकले विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन् । नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरेर यो दिवस मनाइदै छ ।

तर, म्याग्दीको बेनी-दरवाङ सडकखण्डमा मजदुरी गर्ने रिता परियार, म्याग्दी नदीबाट बालुवा उठाएर विक्रि गर्ने श्याम दर्जी, सदरमुकाम बेनी बजारको एक होटलमा कामगर्ने सुनिता किसानलगायत जिल्लाका निजि तथा संस्थागत विद्यालय र संघसंस्थामा काम गर्ने सयौं श्रमजीविहरुलाई श्रमिक दिवसले छोएको छैन ।

दैनिक ज्यालादरी गरेर जीवन यापन गर्ने श्रमिक मात्रै होइन विभिन्न निजी क्षेत्रका विद्यालय र संघसंस्थामा वौद्धिक काम गर्ने श्रमिकहरुलाई पनि यो दिवसका बारेमा खासै मतलव छैन ।

बेनी-दरवाङ सडक खण्डमा मजदुरी गर्ने टेकवहादुर विकलाइ आज त श्रमिक दिवस हो, आरा म गर्ने दिन तपाईंले दिवस मनाउने होइन ? भन्ने प्रश्न गर्दा विकले भन्नुभयो “एक दिन दिवस मनाएर के गर्नु भोलिदेखि भारी नबोकी खान पुग्दैन । छाक टार्न काम गर्नैपर्छ । आज मजदुर दिवस मनाउन गयो भने एक दिनको कमाइ हानी हुन्छ ।”

सरकारले मदजुरको होइन मालिकका लागि मे दिवस मनाउन गरेको र आफुँजस्ता श्रमिकको समस्या मालिकले मात्रै होइन राज्यले समेत नसुनिदिने गरेको उहाँको भनाइ छ ।

सरकारले एकतिर हरेक मजदुरलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने भन्दै मे दिवस मनाइरहेकाे छ । भने, अर्कोतिर कतिपय मजदुर भने मे दिवस कहाँ कसरी मनाइदै छ भनेर अनविज्ञता प्रकट गर्छन । सदरमुकाम बेनी बजारको नजिक निजि विद्यालयमा अध्यापनरत एक शिक्षकले श्रमिकको हकहितका लागि मनाइने मे दिवसले वास्तविक श्रमिकहरुलाई छुन नसकेको बताउँदै सरोकारवालाहरुले सँधै मजदुरको बाध्यतालाई बुझ्ने गरी काम गर्न सुझाव दिनुभयो ।

त्यसैगरी दरवाङ बजारमा पेटी निर्माण काम गरिरहनुभएका तारा श्रीषलाई पनि मे दिवसले छोएको छैन । श्रीष अरु दिन जस्तै आजपनि बिहानै देखि काममा खटिनुभएको छ । उहाँले भन्नुभयो “मैले निर्माण क्षेत्रमा काम गरेको ९ वर्ष भयो । अहिलेसम्म मे दिवस मनाएको छैन । हामी जस्ता काम गर्ने गरीबलाई किन मनाउनु पर्‍यो मजदुर दिवस ।” मे दिवसका दिन पनि ठेकेदारले छुट्टी नदिने गरेको उहाँको भनाइ छ ।

मे दिवसमा विकसित देशले श्रमिकका सेवा सुविधा परिमार्जन र बृद्धि गर्ने गरेका छन् । तर, नेपालमा मे दिवस मनाइएपनि मजदुरका लागि त्यस्ता सेवा सुविधामा वास्ता हुँदैन । यो दिवस श्रमिकमैत्री भन्दा पनि राजनीतिक दल केन्द्रित हुने गरेको छ । जसका कारण वास्तविक मदजुर मे दिवस मनाउन उत्साहित नदेखिने गरेका नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव एवम् स्थानीय समाजसेवी क्या.मीनवहादुर कार्कीले बताउनुभयो ।

केन्द्रीय तंथ्याक विभागको तंथ्याक अनुसार नेपालमा करिब २० लाख ज्यालादारीका श्रमिक रहेका छन् । उनीहरु सरकारले निर्धारण गरेको सेवा सुविधा नलिइ आफनै ढंगले विभिन्न क्षेत्रमा काम गरिरहेका छन् । देशभर नीजि र सरकारी क्षेत्रमा ७० लाखभन्दा बढि विभिन्न क्षेत्रमा काम गर्ने श्रमिक छन् ।

अमेरिकाको सिकागो सहरका मजदुरले १ मे १८८६ मा ८ घण्टा काम, ८ घण्टा विश्राम र ८ घण्टा मनोरञ्जनको माग राख्दै आन्दोलनमा गरेका थिए ।

करिब ४ वर्ष लगातार मजदुरको आन्दोलनपश्चात् अमेरिकी सरकार मजदुरलाई ८ घण्टा मात्र काममा लगााउने कानुन बनाउन र मजदुरले राखेको अन्य माग पूरा गर्न बाध्य भयो । यसरी मजदुरले आन्दोलनबाट विजय हासिल गरेको दिनको सम्झनामा मे दिवसका रुपमा मजदुर दिवस मनाउन थालिएको हो ।

१ मेलाई दिवसका रूपमा मनाउन सन् १८९० मा एंगेल्सको अगुवाइमा भएको दोस्रो कम्युनिस्ट इन्टरनेसनलको सम्मेलनमा छलफल भई निर्णय भएको आधारमा १ मे १८९० देखि विश्वभर मे दिवस मनाउन थालिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?