‘सायरा’ को औपचारिक रूपमा निर्माण घोषणा

Read Time = 5 mins

काठमाडौं । चलचित्र ‘सायरा’ निर्माण हुने भएको छ । काठमाडौंमा मंगलबार एक कार्यक्रमबीच यो चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो । चलचित्र भारतीय र नेपाली निर्माताले संयुक्तरूपमा निर्माण गर्न लागेका हुन् ।

सिनेमालाई बलिउड निर्देशक विशाल देसाईले निर्देशन गर्ने यो चलचित्र दशैं-तिहारको बीचमा छायांकन सुरु हुने छ । यसको ९० प्रतिशत अष्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुने बताइएको छ । चलचित्रमा नेपाल र भारत दुवै देशका कलाकारको अभिनय रहनेछ ।
नेपालबाट अभिनेता आर्यन सिग्देल र मोडल तथा डान्सर कविता नेपालीको मुख्य भूमिका रहनुहुने छ भने भारतबाट अभिनेत्री सुफिया सिद्दिकीको अभिनय रहनेछ । सुफियाले एक दर्जन बढी बलिउड र केही हलिउड चलचित्रमा अभिनय गर्नुभएको छ । कार्यक्रमलाई सुफियाले भिडियो सन्देशबाट सम्बोधन गर्नुभएको थियो ।

डिविआर मिडिया एण्ड मुभी प्रालिको प्रस्तुतिमा अष्ट्रेलियाको आइविल प्रोडक्सनले चलचित्र निर्माणमा सहकार्य गरेको छ । रघु परियार प्रस्तुतकर्ता रहेको यो चलचित्रको कार्यकारी निर्मातामा काजीमान अत्रेय तथा निर्मातामा पुष्कर झा हुनुहुन्छ । चलचित्रको कथा प्रस्तुतकर्ता परियारको हो । उहाँले लभस्टोरी कथामा पूर्ण कमर्शियल चलचित्र निर्माण गर्न लागेका बताउनुभयो ।

कार्यक्रममा अभिनेता आर्यन सिग्देलले चलचित्रको टिम राम्रो लागेकाले काम गर्न तयार भएको बताउनुभयो । ‘सायरा’बाट अभिनेत्रीको रूपमा डेब्यु गर्न लाग्नुभएकी कविताले यो चलचित्रलाई लिएर आफू उत्साहित रहेको बताउनुभयो । डान्सिङ रियालिटी शो वुगी वुगी विजेता कविता नेपाली यसै चलचित्रमार्फत डेब्यु गर्दै हुनुहुन्छ ।

चलचित्रका भारतीय निर्माता पुष्कर झाले ‘सायरा’ नेपाली भाषामा निर्माण हुने र हिन्दी डब गरेर भारतमा पनि प्रदर्शन गरिने बताउनुभयो चलचित्र नेपाल र भारतमा एकसाथ प्रदर्शन बताइएको छ ।

बद्नाम गर्न खोजियो : केसी
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली सिनेमालाई हल नदिएको आरोप लगाएर आफ्नो बद्नाम गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभएको छ । मंगलबार नेपाली चलचित्र ‘सायरा’ निर्माण हुने जानकारी दिन काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष केसीले आफू र चलचित्र विकास बोर्डले नेपाली सिनेमालाई हल दिएन भनेर नकारात्मक हल्ला फैलाई आफ्नो बदनाम गर्ने कोसिस भएको जिकिर गर्नुभयो ।

उहाँले चलचित्र विकास बोर्डले चलचित्र विकासका लागि काम गरिरहेको भन्दै आगामी दिनमा नेपाली चलचत्र क्षेत्रलाई उचाइमा पुर्‍याउने बताउनुभयो । अध्यक्ष केसीले नेपाली सिनेमालाई नेपालमा नै सोचेजति साथ र सहयोग नमिलेको गुनासो गर्नुभयो । उहाँले बाहिरी देशका चलचित्रहरूले पनि नेपालमा स्थान पाउनुपर्ने तर पहिलो प्राथमिकता भने नेपाली चलचित्रलाई नै हुनुपर्ने बताउनुभयो । अध्यक्ष केसीले चलचित्र क्षेत्रको विकासका लागि सरकार सकारात्मक रहेको उल्लेख गर्दै चलचित्रका केही नीति, नियम परिवर्तन गर्न जरुरी रहेको सुनाउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?