यसको समाधान छैन ?

हिमालय टाइम्स
Read Time = 7 mins
A A- A+

नेपालको राजधानी काठमाडौं त्यसै पनि सानो छ । सानो नेपालका अरू ठाउँहरूका आधारमा उपत्यका ठूलो मानिएला तर संसारका अन्य देशका राजधानी शहरहरूका आधारमा यसलाई सानो भनिएको हो । शहर आफैँमा सानो भएपछि अन्य सबै कुरो सोही अनुपातमा साना हुने नै भए । यहाँका पार्क, मनोरञ्जनस्थल, विद्यालय, महाविद्यालयहरूका हाता, सडक गल्ली सबै नै साँघुरा छन् । बस्तीहरू व्यवस्थित छैनन् । योजनाबद्ध र शहरी योजनाअनुसार बनाइएका घरहरू कतै-कतै मात्र छन् । धेरैजसो ठाउँमा साँघुरो ठाउँको बसोवास भएका कारण दमकल र एम्बुलेन्स छिर्नसमेत नसक्ने अवस्था छ ।

तर, आवश्यकता भने सबैतिरका मानिसको उस्तै हो छिटो पुग्ने, सकेसम्म थोरै समयमा धेरै काम भ्याउनेलगायत चाहनाले गर्दा आफ्नो आर्थिक क्षमताले भ्याएनुसार सवारीसाधन किन्नेहरूको संख्या भने दिनप्रतिदिन बढिरहेकै हुन्छ जसले गर्दा काठमाडौं उपत्यकामा प्रायः ट्राफिक जाम भइरहन्छ । यो यहाँको कहिल्यै समाधान नहुने समस्या भएर देखापरिरहेको छ । पहिलेको भन्दा सडकहरू सुधार भए, तिनलाई फराकिला बनाइयो, चक्रपथ फराकिलो भयो, काठमाडौं भक्तपुरको राजमार्ग फराकिलो भयो तैपनि जामको समस्या उस्तै छ । यसमाथि पनि कुनै अति विशिष्ट व्यक्तिको कतै सवारी हुने हो भने त्यसको एक-दुई घण्टा पहिलेदेखि नै यातायात अस्तव्यस्त हुन थाल्छ ।

जानु एकातिर छ ट्राफिक प्रहरीले अर्कातिर पठाइदिन्छ । यसो गर्नाले एकातिर गन्तव्य छ अर्कातिर पुगिन्छ । नेपाली अति विशिष्ठ व्यक्तित्व बाहिर जाँदा र आउँदा यस्तो अवस्थाको सिर्जना हुन पुग्छ । यस्तो नहोस् भनेर महामहिम राष्ट्रपति बाहिर जानुपर्दा राष्ट्रपति भवनबाट हेलिकप्टरमा सिधै एयरपोर्ट जाने प्रबन्धसमेत गरियो जसले गर्दा यस्तो समस्यामा केही मात्रामै भए पनि न्यूनीकरण भयो होला भन्ने विश्वास गर्न सकिन्छ ।

यसैगरी विदेशी पाहुना नेपाल आउँदा पनि यस्तै अस्तव्यस्तताको अवस्था सिर्जना हुनपुग्छ । उहाँहरूको स्वागतमा जाने स्वदेशी अति विशिष्ठ तथा विशिष्ठ व्यक्तित्वहरू एयरपोर्ट जाने क्रम एक डेढ घण्टा पहिलेदेखि नै सुरु हुन्छ । यसले गर्दा ट्रफिक जाम क्रमशः बढ्न थाल्छ र आवागमन प्रभावित बन्छ । स्वदेशीलाई भन्दा विदेशीलाई गन्तव्यमा पुर्‍याउनु अझै चुनौतीपूर्ण हुने भएकाले सवारी व्यवस्थापन खल्बलिने गर्छ । कुनै व्यक्तिको सवारीको दुई घण्टा पहिलेदेखि डेढ दुई घण्टापछिसम्म सवारी व्यवस्थापन बिथोलिइरहेकै हुन्छ । जसले गर्दा पैदलयात्री, सार्वजनिक तथा निजी यातायात, पानी, फोहोर, दूध बोक्ने गाडी, एक्बुलेन्स, दमकललगायत अति आवश्यक साधनसमेत नै प्रभावित बन्छन् । कतिपय अवस्थामा बिरामीलाई मानिसले बोकेर अस्पताल लैजाँदा लैजाँदै गर्दा बाटामै मृत्यु भएको र गर्भवतीले बाटामै बच्चा जन्माएको जस्ता घटनासमेत हुन पुगेका छन् ।

हालै चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणका बेला पनि यस्तै समस्या नेपाली जनताले भोग्नुप¥यो । यातायात अस्तव्यस्त बन्नपुग्यो । माथि भनिएका जस्ता सास्ती नेपाली जनताले खेप्नुपर्‍यो । दुई-चार घण्टा हिँडेरै आफ्नो गन्तव्यमा पुगेँ भन्नेहरू धेरै भेटिए । नागरिकहरूको तहमा यस्ता सास्तीका घटना भए भने सडकमा बसेर व्यवस्थापन गर्नेहरूका पीडाका कुरा अर्कातिर अर्को प्रकारका होलान् । सबैका आ-आफ्नै प्रकारका पीडा अवश्यै रहे होलान् । सरकार र ठूला पार्टीहरूलाई पनि अर्काथरीका पीडा भएकै हुनुपर्छ । चीनले नेपालमा अमेरिकाको बढ्दो सक्रियताप्रति चिन्ता प्रकट गरेको छ । नेपाल सरकारले चीनप्रतिको हाम्रो नीतिमा कुनै प्रकारको विचलन आएको छैन भनेर चीनलाई विश्वस्त बनाउनुपरेको छ ।

यसक्रममा नेपालले आफ्नो पहिलेदेखिकै भनाइ ‘हामी एक चीन नीतिका पक्षमा छौँ’ भनेर फेरि दोहो¥याएको छ । चीनसँगका हाम्रा आशा र अपेक्षा पनि यही सन्दर्भमा प्रस्तुत भएका छन् । चीनले नेपालबाट यही नै अपेक्षा गरकोे हुँदो हो जुन पाएको छ । सन्दर्भ यस्तो बेलामा हुने ट्राफिक व्यवस्थापनको हो । जसलाई व्यवस्थित गर्न सकिँदै न ? भन्ने हो । यसलाई व्यवस्थित गर्ने प्रयास गर्ने हो भने निश्चय गर्न सकिन्छ । यस्ता विशिष्ठ पाहुनाहरू आउनुभन्दा केहीबेर पहिलेमात्र बाटो खाली गर्ने र एयरपोर्टबाट बाहिरिएको केही बेरपछि पुनः त्यसलाई सामान्यीकरण गर्ने हो भने लामो समयसम्म सर्वसाधारणले सास्ती भोग्नुपर्ने अवस्य छैन । यसैगरी, यातायातहरूका लागि वैकल्पिक बाटाहरू तोकिदिने हो भने यस्तो हुने थिएन । ट्राफिक प्रहरीले यस्तो व्यवस्था गर्नु उपयुक्त हुने देखिन्छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?