सीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ भएको छ : राष्ट्रपति भण्डारी

नेपालसँगको सहकार्यलाई गहन बनाउनु आफ्नो भ्रमणको उद्देश्य : अध्यक्ष ली

काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहनुभएका चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले बुधबार पनि महत्वपूर्ण उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ । बुधबार उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गर्नुभएको हो ।

भेटमा राष्ट्रपति भण्डारीले दुई देशबीचको परम्परागत मित्रवत सम्बन्धका बारेमा चर्चा गर्दै यस्ता उच्चस्तरीय भेटवार्ताले सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको थियो । सो अवसरमा अध्यक्ष लीले यसअघि सन् २०१९ अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा भएका सहमति सम्झौता कार्यान्वयन गर्ने आफ्नो लक्ष्य भएको बताउनुभएको थियो । राष्ट्रपति सीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ भएको उहाँको भनाइ थियो । भेटवार्तामा अध्यक्ष लीले राजनीतिक पारस्परिक विश्वास अझ सुदृढ गर्नु र विविध क्षेत्रका सहकार्यलाई गहन बनाउनु आफ्नो भ्रमणको उद्देश्य रहेको बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले नेपालको संविधान दिवसका अवसरमा शुभकामना पनि दिनुभएको थियो ।

यसअघि अध्यक्ष लीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा दुई पक्षबीच नेपाल-चीन सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान भएको थियो । भ्रमणको पहिलो दिन ली चान्सुले सभामुख अग्निप्रसाद सापकोटालाई भेट्नुभएको थियो । संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्तामा सहयोगसम्बन्धी ६ बुँदे सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको थियो । नेपालका तर्फबाट सभामुख सापकोटा र चीनको तर्फबाट अध्यक्ष लीले उक्त समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

अध्यक्ष ली आज (बिहीबार) स्वदेश फर्किँदै हुनुहुन्छ । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चारदिने औपचारिक भ्रमणमा आउनुभएका ली आज विशेष विमानबाट स्वदेश फर्कन लाग्नुभएको हो । अध्यक्ष ली ६७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार नेपाल आउनुभएको थियोे ।

ऐतिहासिक सम्पदाहरूको अवलोकन
चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले भक्तपुरको ऐतिहासिक सम्पदाहरूको अवलोकन गर्नुभएको छ । बुधबार बिहान ऐतिहासिक विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायरको अवलोकन गर्नुभएको हो । अध्यक्ष लीसहित उहाँ नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरूले दरबार स्क्वायरको डबलीमा प्रदर्शन गरेको ऐतिहासिक भैरव प्याँख नाचको अवलोकन गर्नुभएको थियो । उहाँले भक्तपुर दरबार स्क्वायर, ५५ झ्याले दरबार, स्वर्णद्वार, सुनधाराको अवलोकन गर्नुभएको थियो । सम्पदाहरूमा भूकम्पले पु¥याएको क्षतिबारे पनि जानकारी लिनुभएको थियो । प्रतिनिधिमण्डलका सदस्यहरूले नगरपालिकाले हालै पुनर्निर्माण सम्पन्न गरेको सिलु महादेवको अवलोकन गरेपछि पैदल नै पाँचतले मन्दिर पुगेर त्यहाँको अवलोकन गर्नुभएको थियो । जात्रा, पर्व, नाचहरूका बारेमा जानकारी लिएपछि अध्यक्ष लीले नेपालका धेरै कला, संस्कृति, नाच र परम्पराहरू चीनको संस्कृतिसँग मिल्दोजुल्दो रहेको बताउँदै विश्वका विभिन्न देशका संस्कृति र यहाँको संस्कृतिका केही पक्षमा समानता रहेको समेत बताउनुभएको थियो । अध्यक्ष लीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, संघीय सांसद प्रेम सुवाल, बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, सृजना गोसाईं, नगरपालिकाका उपप्रमुख रजनी जोशी, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालगायत नगर कार्यपालिकाका सदस्यहरूले स्वागत गर्नुभएको थियो ।

नेपालमा भूराजनीतिक महत्व बढेका कारण शक्ति राष्ट्रहरूबाट उच्चस्तरीय भ्रमणहरू भइरहेका छन् : सापकोटा
चिनियाँ मामिला जानकार रूपक सापकोटाले भूराजनीतिक महत्व बढेसँगै शक्ति राष्ट्रबीच नेपाललाई आफ्नो पक्ष, रणनीति, कार्यक्रममा सहभागी गराउने प्रतिस्पर्धा बढिरहेको बताउनुभएको छ । चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणका सन्दर्भमा कुरा गर्दै उहाँले नेपालमा भूराजनीतिक महत्व बढेका कारण पछिल्लो समय विभिन्न शक्ति राष्ट्रहरू अमेरिका, भारत र चीनबाट महत्वपूर्ण उच्चस्तरीय भ्रमणहरू भइरहेको बताउनुभयो । नेपालको भूराजनीतिक महत्व बढेका कारण नै चीनको तर्फबाट चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमण भएको हुनसक्ने उहाँको भनाइ छ ।

‘अहिलेको परिवेशमा नेपालको भूराजनीतिक महत्व बढेको छ । नेपालको भूराजनीतिक महत्व बढेसँगै विभिन्न शक्ति राष्ट्रहरू अमेरिका, भारत र चीनबाट पछिल्लो समय धेरै सहभागिता र महत्वपूर्ण उच्चस्तरीय भ्रमणहरू भइरहेका छन्,’ उहाँले भन्नुभयो, ‘अहिले चीनको तर्फबाट चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमण नेपालको भूराजनीतिक महत्व बढेसँगै भएको जस्तो लाग्छ । आफ्ना कार्यक्रममा सहभागी गराउन शक्ति राष्ट्रहरूले चासो दिइरहेका छन् ।’

जानकार सापकोटाले शक्ति राष्ट्रहरूसँग नेपालको सहकार्य बढ्नुको कारण र अन्तर्राष्ट्रिय तवरमा नै महत्व पाउने भ्रमण हुनुको पछि नेपालले अवलम्बन गर्दै आइरहेको अन्तर्राष्ट्रिय सम्बन्धको सिद्धान्त प्रमुख कारक रहेको बताउनुभयो । उहाँले अमेरिका, चीन र भारतबीचको त्रिपक्षीय शक्ति संघर्ष चलिरहेका बेला नेपाल अमुक मुलुकको रणनीतिमा सामेल भयो भने आफ्नो राष्ट्रिय सुरक्षामा असर पर्ने डरका कारण पनि चासो बढेको बताउनुभयो । नेपालले अवलम्बन गर्दै आएको असंलग्न परराष्ट्र नीतिलाई झनै बलियो बनाएर लैजान आवश्यक उहाँको भनाइ छ । उहाँले शक्ति राष्ट्रहरू बीचको प्रतिस्पर्धाले अहिले नेपालको भूराजनीतिक सुरक्षामा दखल पुग्ने कुरामा चनाखो हुन आवश्यक रहेको समेत धारणा राख्नुभयो ।

लीको भ्रमणबाट चीन पनि नेपालको संसद्सँग सहकार्य गर्न इच्छुक रहेको कुरा प्रमाणित भएको उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय साझेदारीमा सदनको भूमिका देखिनु नेपालका लागि नयाँ आयाम भएको उहाँले बताउनुभयो । विश्वका विकसित देशहरूले नेपालको संसद्सँग साझेदारी र सहकार्यको नयाँ आयाम थप्नुले नेपालको संसद्ले नयाँ उचाइ छोएको बताउनुभयो । ली चान्सुको नेपाल भ्रमणले नेपाल–चीनको सम्बन्धमा महत्वपूर्ण आयाम थपिएको पनि उहाँले बताउनुभयो ।

रुस, मंगोलिया हुँदै नेपाल भ्रमणमा आउनुभएका अध्यक्ष ली चिनियाँ संविधानअनुसार दोस्रो वरीयता र सिपिसीको तेस्रो वरीयतामा पर्नुहुन्छ । चीनका राष्ट्रपति सीले २०७६ असोज २५-२६ मा गरेको राजकीय भ्रमणपछि लीबाट दोस्रो ठूलो उच्च तहको भ्रमण भएको हो । सी २३ वर्षपछि नेपाल भ्रमण गर्ने चीनका राष्ट्रपति हुनुहुन्छ । यसैबीच, अध्यक्ष ली चान्सुको उच्चस्तरीय राजनीतिक भेटघाटका कारण बुधबार पनि काठमाडौं उपत्यकामा दिनभरि सवारी व्यवस्था अस्तव्यस्त भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?