रमेशप्रसाद गौतम
गत सोमबारको अंकबाट क्रमश :
हाम्रो प्राचीन संस्कार र परम्पराअनुसार पाँच वर्षदेखि सात वर्षको उमेरमा शिक्षाको शुभारम्भ गरिने चलन थियो । विद्यारम्भ, अक्षराम्भ, अक्षर स्वीकरण, अक्षर लेखन आदि नामकरण पाँच वर्ष पुगेका बालकलाई श्रीपञ्चमी वा विजयादशमीका दिन अक्षरारम्भ गराइन्थ्यो । स्कुल प्रवेशपूर्व घरमै ‘नमो वागेश्वराय’ बाट सुरु गरी कखरा, बाह्रखरी पढेपछि गणेशस्त्रोत, सरस्वतीस्त्रोत, सूर्यस्त्रोत पढने चलन थियो । अक्षरारम्भ पण्डित बाजेहरूले गराउदथिए । पढे लेखेका ब्रहृमणहरू घरमै आफ्ना छोराहरूलाई दुर्गाकवच चण्डी, रूद्री, वेद कर्मकाण्ड, कथा पुराण, अमरकोस, लघु कौमदी आदि पढाउँथे । तिनताका वेदवेदांगी धार्मिक, आध्यात्मिक संस्कृत ग्रन्थ चाणक्य नीति, हितो पदेश, आदि ग्रन्थ पढ्ने चलन थियो ।
नेपालमा उच्च शिक्षाको प्रथम संस्थागत आरम्भ सन् १९१८ मा त्रिचन्द्र कलेजको स्थापना पश्चायत नै भयो । त्यसपछि नयाँ स्कुल खोल्ने लहर चल्न थाल्यो । स्कुल खोल्नका लागि त्रिचन्द्र कलेज भवनमा रहेको डाइरेक्टर अफ पब्लिक इन्स्ट्रकसनको कार्यालयमा गई अवेदन दिनुपथ्र्योे । उक्त आवेदनलाई मृगेन्द्रशमशेरमार्फत श्री ३ महाराजामा जाहेर हुन्थ्यो । अनुमति नपाउन्जेल स्कुल सञ्चालन गर्न आँट कसैको हँुदैनथ्यो । १९७५ सालमा त्रिचन्द्र कलेज स्थापनापछि १९७६ सालमा कलेज स्कुल गोश्वाराको पनि स्थापना भयो । यसै वर्षदेखि डाइरेक्टरको पदललाई डाइरेक्टर जनरल भनी सम्बोधन गर्न थालियो ।
२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि शिक्षाको लहर बढ्दै आउन थाल्यो । परिणामतः देशका विभिन्न भागमा उच्च शिक्षा संस्थाहरू स्थापना क्रम बढ्दै आयो । उच्च शिक्षा संस्थाहरूमध्ये केही सरकारी महाविद्यालय रहे भने नगन्य मात्रामा गुठी प्रणालीमा पनि आबद्ध रहेका थिए ।
कलेज स्थापना सम्बन्धमा राणा परिवारबीच खोल्ने र खोल्न नहुने दुवै पक्षबीच धेरै छलफल र सरसल्लाहपछि चन्द्रशमशेरले कलेज खोल्ने निधो गरे । उनले काठमाडौंस्थित रेजिडेन्स कर्णेल बेलीलाई पत्र लेखी कलकत्ता विश्वविद्यालयअन्तर्गत आरम्भमा प्रमाणपत्र तह (आईए) को पठनपाठन गर्न स्वीकृति मागे । वेलीले भारत सरकारसँग अनुरोध गर्दा वेली विश्वविद्यालयअन्तर्गत कलेज स्थापना गर्न सकिने जानकारी आयो ।
उक्त विश्वविद्यालयले नेपाली भाषालाई एउटा मान्यता दिएको थियो । तापनि कलकत्ता विश्वविद्यालयबाट कलेजकै सम्बन्धन पाएबाट नेपाली विद्यार्थीमा केही सहज अनुभूति हुन नपाउँदै नेपालले भारत सरकारले कलकत्ता विश्व विद्यालयको ठाउँमा पटना विश्व विद्यालयबाट सम्बन्धन लिनका लागि अनुरोध गर्यो र सोही मुताविक जानकारी पनि दिइएको थियो ।
सुरुमा भवनको अभावले दरबार हाइस्कुलमै कलेज चलाउने कार्य भयो । त्यहाँ आइएमा भाषातर्फ अंग्रेजी, नेपाली र संस्कृत तथा अन्य विषयमा इतिहास, तर्कशास्त्र र गणित आदिको पठनपाठन कार्य हुने गरेको थियो । त्यसपछि भवन बनाउने तरखर भयो । घण्टाघर र वीर पुस्तकालयकै सेरोफेरोभित्र कलेज भवन निर्माण भयो । राजा त्रिभुवनले १९७६ साल असोज २७ गते उद्घाटन गरे । कलेजको शुल्क बिएका विद्यार्थीले ४२ रुपैयाँ र आइए र आइएस्सीका विद्यार्थीले ३२ रुपैयाँ बुझाउनु पर्दथ्यो । जुद्धशमशेरको पटना विश्वविद्यालयका नाममा १७ रुपयाँ बुझाउनु पर्ने रमकमध्ये सात रुपैयाँ विद्यार्थीले र बाँकी १० रुपयाँ सरकारले तिरिदिने प्रबन्ध मिलाए ।
कलेज स्थापना भएपछि कलेजको प्रिन्सिपल दरबार हाइस्कुलका प्रधानअध्यापक बटुककृष्ण मैत्रेयलाई नै जिम्मा दिइयो । त्यसताकाका शिक्षकहरूमा शारदाप्रसाद मुखोपाध्याय, अभया चटर्जी, आसुतोष सेन, सुधीरकुमार राय चौधरी, नेपालचन्द्र बनर्जी, एसके दास, शिक्षितचन्द्र चक्रवर्ती, गोकुलचन्द्र मलहोत्रा आदि थिए । प्रिन्सिपल र शिक्षकहरू फेरबदल हुनेक्रम राणाकालभरि चलि नै रहृयो ।
१९८२ सालमा दरवार हाइस्कुलका हेडमास्टर शारदाप्रसाद मुखर्जीको निधनपछि रूद्रराज पाण्डेलाई हेडमास्टरको जिम्मेवारी दिइयो । १९८१ बाट विएको पठनपाठनका साथै त्यहाँ संस्कृत, इतिहास, अंग्रेजी, अर्थशास्त्र, राजनीतिशास्त्र आदिको पठनपाठन हुनेगर्दथ्यो । १९८६ सालको बिए एकजनामात्र नेपालीले उत्तीर्ण गरेका थिए । विज्ञानतर्फ आइएससीमा भौतिकशास्त्र, रसायनशास्त्र, गणित आदि विषय राखिएका थिए ।
यति बेलासम्म पनि नेपालमै बसेर जति मिहिनेत गरे पनि म्याट्रकदेखि बिएसम्मको परीक्षा दिन भारतमै जानुपथ्र्याे तर १९८५ सालबाट भारत जानु नपर्ने नेपालमै परीक्षा दिन पाउने व्यवस्था भयो । त्यसबेला पटना विश्वविद्यालयको सम्बन्धनमा काठमाडौंकै सेन्टरबाट परीक्षा दिने भन्ने गरिन्थ्यो । पटना विश्वविद्यालयबाट प्रश्नपत्र र उत्तर पुस्तिका चाहिँ लिएर उतैका सुपरिवेक्षक आउँथे, उनैले बोकेर लग्ने चलन थियो । नेपालका तर्फबाट सुपरिवेक्षकको खाने बस्ने सबै प्रबन्ध मिलाइन्थ्यो ।
त्रिचन्द्र कलेजमा सुरुमा आर्टस्मात्र पढाइ हुने गरेकोमा सन् १९२० मा विज्ञानको पढाइ हुन थाल्यो । सुरुमा विज्ञान पढ्ने तीनजनामात्र थिए । सन् १९४२ मा आएर केही बढे र क्रमैसँग सबै विषयका विद्यार्थीको संख्या बढ्दै जानथाल्यो । बेला बेलामा निरीक्षण गर्न पटना विश्वविद्यालयका प्रध्यापकहरू आउने गर्दथे ।
नेपालले २००७ को क्रान्तिपछि राजनीतिक परिवतनका साथै सामाजिक, आर्थिक, शैक्षिक क्षेत्रमा पनि ठूलो फड्को मार्दै आयो । प्रजातन्त्रपूर्व नेपालमा दरबार हाइस्कुल, त्रिचन्द्र कलेज, रानीपोखरी पाठशाला र आयुर्वेद विद्यालय थिए । यी काठमाडौं नगर केन्द्रित नै थिए । २००७ सालको प्रजातन्त्रको अभ्युदयसँगै शिक्षा क्षेत्रमा जनचासो र हौसला बढ्दैआयो । सरकारी स्तरबाट गरिने लगानी साथै निजीक्षेत्रबाट पनि त्यत्तिकै हौसिँदै शिक्षाको विकास र उन्नतिमा साथ सहयोग हुँदैआयो । शिक्षाको विस्तार हुुनुका साथै राष्ट्रिय सांस्कृतिक परम्पराको संरक्षण र विकास र कला एवं विज्ञानमा र अरू व्यावसायिक क्षेत्रमा ज्ञान र अनुसन्धानको वृद्धिमा चासो बढ्न थाल्यो । तद्नुरूप २०१६ सालमा त्रिभुवन विश्व विद्यालय स्थापना भयो । त्रिभुवन विश्वविद्यालय स्थापनापूर्व उच्च शिक्षण संस्थाहरूको संख्या करिब २५ जति मात्र थियो ।
श्री ३ महाराज पद्यशमशेरले २००४ साल भदौ २६ गते सुधार समितिअन्तर्गत ऐन कानुनका आधारमा कलेज स्थापना गर्ने निर्णय गरे । उक्त उपसमितिमा बिएल र एलएलबी अध्ययन गरेकालाई समावेश गरिएको थियो तर त्यसबमोजिम कलेज खुल्न भने सकेन । त्रिचन्द्र कलेजमा सहशिक्षालय थिएन । महिलाले पढ्ने व्यवस्था नभए तापनि प्राइभेट परीक्षा दिन पाउनेसम्म मुस्किलले अवसर पाए । यस किसिमको पहिलो अवसर पाउने महिलामा अंगुरबाबा जोशी थिइन् । त्यसपछि अन्य महिका लागि बाटो फुक्दैआयो । २०१२ सालदेखि उक्त कलेज सहशिक्षालयको रूपमा परिणत भयो ।
श्री ३ पद्यशमशेरलाई हटाएपछि श्री ३ महाराजाका रूपमा मोहनशमशेर आसीन भए । उनको सिन्दुरजात्रापछि आफ्नो भाषणका क्रममा उनले अब देशमा उच्च शिक्षाको नितान्त आवश्यक भएकाले एक विश्वविद्यालय स्थापना गर्ने हाम्रा लक्ष छ भनेका थिए । यसका लागि के कस्तो बन्दोबस्त चाहिन्छ तत्सम्बन्धमा राय सुझाव दिन एक विश्वविद्यालय योजना जाँचसभा गठन हुनेछ भनेका थिए । २००५ साल भदौमा विश्वविद्यालय योजना सभाको सभापति शिक्षा डाइरेक्टर मृगेन्द्रशमशेरको सभापतित्वमा २५ सदस्य रहेको सभा गठन पनि गरे ।
विश्वविद्यालय योजना सभाको पहिलो बैठक २००५ साल भदौ १४ गते भयो । यस बैठकमा पढाइका बारेमा परीक्षा सहशिक्षा विषय अनुसन्धान विभिन्न उपसमितिसमेतको गठन गर्ने कार्य भयो । कहिलेदेखि कुन कुन विषय पढाउन सकिन्छ आदि विषयमा छलफल गर्न असोज ९ गते दोस्रो बैठक बसेको थियो । २००६ साल साउन छ गते सरस्वती सदनमा बसेको बैठकले कलेजको संख्या बढाइ र विश्वविद्यालय खोल्ने बारे छलफल भएको थियो । यसरी शिक्षाको पहुँच सबैतिर पुग्नुपर्दछ भन्ने धारणा विकास हुँदै आउन थालेको थियो ।
२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि शिक्षाको लहर बढ्दै आउन थाल्यो । परिणामतः देशका विभिन्न भागमा उच्च शिक्षा संस्थाहरू स्थापना क्रम पनि बढ्दै आयो । उच्च शिक्षा संस्थाहरूमध्ये केही सरकारी महाविद्यालय रहे भने नगन्य मात्रामा गुठी प्रणालीमा पनि आबद्ध रहेका थिए । साँच्चै भन्ने हो भने तत्कालै अधिकांश महाविद्यालय जनस्तरमा सञ्चालित थिए । त्रिवि स्थापनापूर्व सबै महाविद्यालय शिक्षामन्त्रालयमार्फत स्वीकृति र अनुदान दिने भएता पनि शैक्षिक सम्बन्धनका सम्बन्धमा भारतीय शैक्षिक संस्था वा भारतीय विश्वविद्यालयबाट हुनेगर्दथ्यो ।
त्रिचन्द्र कलेज स्थापना भएपछि कलेजको प्रिन्सिपल दरबार हाइस्कुलका प्रधानअध्यापक बटुककृष्ण मैत्रेयलाई नै जिम्मा दिइयो । त्यसताकाका शिक्षकहरूमा शारदाप्रसाद मुखोपाध्याय, अभया चटर्जी, आसुतोष सेन, सुधीरकुमार राय चौधरी, नेपालचन्द्र बनर्जी, एसके दास, शिक्षितचन्द्र चक्रवर्ती, गोकुलचन्द्र मलहोत्रा आदि थिए ।
तत्कालीन शिक्षा प्रणालीमा प्राज्ञिक वा व्यावसायिकभन्दा प्रशासनिक नियन्त्रणमा आधारित थियो । विसं १९९८ मा इन्स्पेक्टर अफ स्कुल अफिस स्थापना भएको थियो । २००७ सालपछिको अन्तरिम सरकारले भने शिक्षासम्बन्धी कार्य हेर्ने गरी अलग्गै शिक्षामन्त्रालयको स्थापना ग¥यो । यसपछि क्रमिक रूपमा शिक्षाको विकास र विस्तार हुँदै आयो । यस अवधिमा उपयुक्त शिक्षा पद्धतिका खोजीमा अनेक सभासम्मेलन, बैठक, छलफल चर्चा, परिचर्चा आदि भए । शिक्षा सुधारका लागि सुझाव लिन अनेक आयोग समिति आदि बने । तिनका सुझाव संकलन कार्यान्वयन दिशातर्फ पनि लगिएका थिए । तथापि सरकारी नीति नियमको अव्यावहारिकता र सरोकारवालाको प्रतिबद्धताको कमी, निहित राजनीतिक स्वार्थ आदिका कारण शिक्षा क्षेत्र अन्योलमै पर्दै आयो ।
२००७ सालको क्रान्तिपश्चात राजनीतिक परिवर्तनका साथै शिक्षामा पनि सुधार ल्याउने उद्देश्यले २००९ सालमा शिक्षा बोर्ड गठन भयो । उक्त बोर्डको सिफारिस अनुसार २०१० साल चैत ९ गते नेपाल राष्ट्रिय शिक्षा आयोग सरदार रुद्रराज पाण्डेको अध्यक्षतामा गठन भयो । यस आयोगले राष्ट्रिय शिक्षामा समयानुकूल परिवर्तनका लागि सुझाव दिएनुसार २०११ सालमा राष्ट्रिय शिक्षा योजना आयोग गठन भयो । यस आयोगले तत्कालीन अवस्थामा पनि शैक्षिक क्षेत्रको उन्नति र प्रगतिका लागि उचित व्यवस्थापन मिलाई विकेन्द्रित, आधुनिक र लोकतान्त्रिक प्रणालीमा आधारित भई शिक्षा मन्त्रालयदेखि स्थानीय तहसम्म विभिन्न निकाय गठन गर्ने सिफारिस गर्यो ।
२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले दुई तिहाइ बहुमत ल्याई बनेको नेपाली कांग्रेसको लोकप्रिय नेता बीपी कोइरालाको सरकारलाई अपदस्त गरी निरंकुश निर्दलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरे । त्यसपश्चात पनि शिक्षामा सुधारका खातिर राष्ट्रिय शिक्षा आयोग २०११ ले सिफारिश गरेका शिक्षा क्षेत्रमा विकासलाई व्यवस्थित गरेर लाने प्रयास गरिएको देखिएता पनि जनचेतना र जनसहभागिताविनाका कार्यक्रम र सुझावहरू व्यावहारिक रूपले कार्यान्वयन हुन सकेनन् । हुनत अझै तत्कालीन साँघुरो परिवेशको राजनीति र तिरस्कृत परिस्थितिमा शिक्षालाई पक्कडमा लिई निर्दलीयतालाई मजबुत पार्न सकिन्छ कि भनी अनेक प्रयास भए । तद्नुरूप तत्कालीन शिक्षामन्त्री विश्वबन्धु थापाको अध्यक्षतामा २०१८ साल वैशाख २५ गते श्री ५ महेन्द्रबाट सर्वांगीण राष्ट्रिय शिक्षा समितिको गठन भयो । क्रमशः
https://ehimalayatimes.com/2022/09/44451/
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच