चाडपर्व लक्षित प्रहरी परिचालन

काठमाडौंमा मात्र तीन हजार बढी प्रहरी खटाइयो

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । दशैँ, तिहार जस्ता चाडपर्वलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबारदेखि लागू हुने गरी व्यापक संख्यामा प्रहरी परिचालन गरेको हो । परिसर-२०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार ३४३ प्रहरी परिचालन गरेको जनाएको छ । चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्दै सुरक्षाको भरपर्दो वातावरण निर्माण गर्न चाडपर्व सुरक्षा योजना-२०७९ लागू गरेर प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताउनुभयो ।

चाडपर्वको अवसरमा शान्ति सुरक्षालाई सुदृढ बनाई काठमाडौंको जनजीवनलाई सहज र सरल बनाउने उद्देश्यका साथ विशेष सुरक्षा योजना लागू गरिएको प्रहरी उपरीक्षक मैनालीको भनाइ छ । ‘आपराधिक गतिविधि नियन्त्रणका लागि विगतमा भएका र अहिले कार्यान्वयनमा ल्याइएका नयाँ अभ्यासहरू प्रयोग गरिनेछ,’ मैनालीले भन्नुभयो, ‘चाडबाडमा सबै नागरिकलाई शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउन सकिने गरी हामीले सुरक्षा योजना ल्याएका छौँ ।’

विशेष सुरक्षा योजनाअन्तर्गत परिसरले काठमाडौंको विभिन्न १४ स्थानमा सादासहितका प्रहरी टोली परिचालन गरेको छ । त्यसैगरी चाडबाडमा बढी भिड हुने स्थानहरू बस टिकट काउन्टर, बैंक तथा वित्तीय संस्था, ठूल्ठूला सपिङ मलहरूमा विशेष निगरानीका साथ प्रहरीहरू परिचालन गरिएको छ । यस्तै, १२ स्थानमा प्रहरी हेल्प डेस्क स्थापना गर्ने, १२ स्थानका टिकट काउण्टरमा प्रहरी खटाउने, २४ स्थानमा मोबाइल गस्ती गर्ने, ९१ स्थानमा पिकेटिङ, प्रहरी निरीक्षकको कमाण्डमा १४ स्थानमा क्युआरटी, २८ स्थानमा नाका सिल, कर्डन एण्ड सर्च, ३५ स्थानमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पर्चा पम्प्लेट वितरण, ४२ स्थानमा चेक प्वाइन्ट, ३८ स्थानमा सादा पोसाकमा प्रहरी परिचालन गरिनेछ ।

त्यसैगरी, १२ वटा मन्दिरमा प्रहरी परिचालन, खसी, कुखुरा किनबेच हुने बजारमा सुरक्षा, २२ स्थानमा एम्बुसिङ र निगरानी, ४६ स्थानमा सिआरबी परिचालन, छ स्थानमा अनुगमन र अतिविशिष्ट व्यक्तिको सवारी तथा कार्यक्रमको सुरक्षा व्यवस्थापन मिलाइएको छ ।
प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौंको फेसबुक पेज, ट्राफिक एफएम तथा सञ्चारका अन्य माध्यमबाट जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, टोलटोलमा माइकिङ गर्नुका साथै पर्चा पम्प्लेट वितरण गर्ने, स्थानीय जनसमुदाय, सुरक्षाविद् तथा पूर्व-सुरक्षाकर्मीसँग निरन्तर छलफल तथा अन्तरक्रिया गर्ने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?