बडादशैँ सुरु, आज घटस्थापना, घरघरमा जमरा राखिँदै

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैँ आज (सोमबार)बाट सुरु भएको छ । बडादशैँको पहिलो दिन घटस्थापना । आज सबै नेपालीहरूले आ-आफ्नो घरघरमा जमरा राख्ने गर्दछन् । आज सबैले आ-आफ्नो घरको पूजा कोठामा विधिपूर्वक घटस्थापना गर्छन् । त्यस्तै काठमाडौंको हनुमानढोकास्थित दशैँघरमा पनि धार्मिक विधिपूर्वक घटस्थापना गरिँदैछ ।

आज बिहान १०ः२३ बजे घटस्थापनाको शुभ साइत रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन छ ।
जमरालाई समृद्धिको प्रतीक मानिन्छ । त्यसैले टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ । घटस्थापनाको पहिलो दिन झिसमिसेमै आत्माशुद्धीपछि नदी खोला, बगर अथवा आफूलाई पायक पर्ने स्थानबाट बालुवा या माटो ल्याई जमरा राखिन्छ ।

जमरा राख्नुपूर्व पूजा कोठाको सरसफाइ तथा गाईको गोबरबाट लिपपोत गर्ने प्रचलन छ । यसैबीच घटस्थापनाको उपलक्ष्यमा काठमाडौंको हनुमानढोका दरबारमा रहेको दशैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रिको पूजा आरम्भ हुन्छ ।

आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीको टीकाको दिन पहेँलो जमरासँगै दुर्गा देवीको प्रसाद ग्रहण गर्ने प्रचलन रहेको छ । घटस्थापना गरिएको स्थानमा हरेक दिन अधिष्ठात्रि देवी दुर्गाका नौ स्वरूपको पूजा गरिन्छ ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दशैँघर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमददेवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुति पाठ गरिन्छ । यस अवसरमा देशभरका शक्तिपीठहरूमा पूजाआजाका लागि भक्तजनहरूको घुँइचो लाग्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?