डेंगु संक्रमण अनियन्त्रित बन्दै

हिमालय टाइम्स
Read Time = 6 mins

हालका दिनमा हामी डेंगुको चरम संक्रमणमा परिरहेका छौँ । यसलाई सुरुमा रोगका रूपमा लिइएन र त्यही सोचअनुरूप व्यवहार गरियो । तर, विस्तार-विस्तार यसले भयानक रूप लिँदै गएर हाल धेरै मानिस संक्रमणमा परिरहेका छन् । दिन प्रतिदिन बढ्दै गएको डेंगुका कारण संक्रमित हुने मानिस पछिल्लो आधिकारिक तथ्यांक अनुसार साढे पच्चीस हजारभन्दा बढी भइसकेका छन् । यसलाई सुरुका दिनमा लामखुट्टेले टोकेर हुने सामान्य रोगका रूपमा हेरियो । लामखुट्टे चिसो, सफा पानीमा बस्ने र तीन फिटभन्दा माथि जान नसक्ने भनिएका कारण मानिसले यसलाई वास्ता नगरेका हुन् । दिनको उज्योलामा टोक्ने भनिएकाले दिउँसो टोक्न आए धपाउन सकिने हुनाले यसप्रति मानिस संवेदनशील बन्न नसकेका हुनसक्छन् । तर हालका दिनमा चिनेजानेका मानिसहरूले आपूm बिरामी छु भनेर साथीभाइलाई जानकारी गराउनेको संख्या उल्लेख्य छ ।

कोरोना जसरी नै यसलाई असाध्य र भयंकर महामारीका रूपमा सुरुदेखि चित्रण गरिएको भए संत्रास सोही किसिमको हुने थियो तर यसलाई हाम्रो रैथाने संक्रमणका रूपमा मानियो । जनता र सरकार दुवैको दृष्टिकोण एकै रहन गयो । सामान्य ठानिएको यस संक्रमणबाट मानसिको मृत्यु हुँदैन भन्ने सोचियो तर हालसम्मको तथ्यांकले नेपालमा डेंगुबाट यस वर्ष ३२ जनाको मृत्यु भइसकेको छ । यो सामान्य संक्रमण होइन । डेंगु प्रभावितले बताएको अनुभव सुन्दा कोरोनाकै जसरी घातेर अत्यन्त शिथिल बनाएको थाहा हुन्छ । मानिसले बेलाबेलामा अनेकौं रोग तथा महामारीको सामाना गर्नुपरेको छ ।

यो लामखुट्टेको टोकाइबाट सर्ने रोग भएको हुँदा डेंगु सरुवा रोग हो भनिरहनै पर्दैन तर चेतना, सरसफाइ जस्ता विभिन्न व्यवहारमा सुधार गर्न सके स्वतः प्रभाव कम हुन्छ । नेपालमा यसको प्रभाव ज्यादै बढी छ । घनाबस्ती भएका अव्यवस्थित शहरी क्षेत्रमा डेंगुको संक्रमण फैलिइरहेको छ । काठमाडौं उपत्यकामै संक्रमण अत्यधिक बढेको छ । बेलाबेलामा देखापर्ने गरेका अनेक प्रकारका संक्रमणले केही मानवीय क्षति गराएर गएका छन् । डेंगु पनि यस्तै एक वर्गमा पर्न आउँछ । गत केही वर्षदेखि सबैभन्दा ठूलो महामारीको रूपमा संसारव्यापी बनेर कोरोना फैलियो । सुरुमा यसको सन्त्रासले विश्व आतंकित भयो । औषधि नभएका कारण धेरैको ज्यानसमेत गुम्यो । केही समयपछि खोप आविष्कार भयो र मानिसले लगाउन पाए । हाल यो क्रमशः नियन्त्रणमा आउँदैछ ।

डेंगु पनि विस्तारै निष्प्रभावी त बन्दैजाला भन्ने आशा गर्न सकिन्छ, तर वर्तमान अवस्थामा राजधानीलगायत सुविधा सम्पन्न ठाउँमै मानिसहरूको ज्यान गएकाले सतर्क हुनुपर्ने अवस्था वृद्धि भएको छ । सरकार, स्थानीय निकाय, विभिन्न संघसंस्था तथा नागरिक सबैको सचेतताको खाँचो छ । जुनसुकै रोगबाट बच्न त्यसका कारण, लक्षण, परिणाम र सावधानी आदिबारे जानकारी राखेर सुरक्षित रहनुपर्ने दायित्व हामी सबैको हो । यीमध्ये कसैमा बढी र कसैमा कम जिम्मेवारी हुन सक्ला तर सचेत भने सबै रहनुपर्छ । सरसफाइ, खानपान, बानीव्यवहारमा सुधारजस्ता सचेतता सबैले अपनाउनै पर्छ ।

स्वास्थ्योपचारका लागि स्वास्थ्यकेन्द्र स्थापना र औषधि उपकरण तथा विज्ञ जनशक्तिको व्यवस्था गर्ने काम सरकार हो । नागरिक-नागरिकबीच सहकार्य गर्ने/गराउने कार्य सरकारकै अंगका रूपमा रहेका स्थानीय निकाय र स्थानीय प्रशासनको हो । यसैगरी सरकारलाई घच्घच्याउने र सरकारबाट सकेसम्म बढी सुविधा लिने कार्य जनस्तरबाट हुनुपर्छ । नागरिक र सरकारबीच सहकार्य गरिनुपर्छ । यसका लागि यी दुवैको बराबरी भूमिका रहने गर्छ । सबै मिलेर काम गर्न सके कोरोना जसरी नै डेंगु संक्रमणबाट पनि जोगिन सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?