गण्डकीलाई हराउँदै मधेशको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 4 mins

पोखरा । नवौं राष्ट्रिय प्रतियोगिताअन्तर्गतको महिला टी-२० क्रिकेटमा मधेश प्रदेशले विजयी सुरुवात गरेको छ । ११ औं राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेशले गण्डकी प्रदेशलाई ४० रनले पराजित गर्दै समूह ‘ए’ मा विजयी सुरुवात गरेको हो । जितसँगै मधेशले दुई अंक जोडेको छ ।

उद्घाटन खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मधेशले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ७७ रन जोेडेको थियो । मधेशका लागि शान्ति चौधरीले सर्वाधिक १५ रन जोड्नुभयो । नटआउट उहाँले २७ बलको सामना गर्दै उक्त रन जोड्नुभएको छ ।

यस्तै, साना प्रविनले १४ बलको सामना गर्दै १ चौकाको मद्दतले १४ रन र अलिशा यादवले २२ बलमा एक चौकाको मद्दतले १४ रन नै जोड्न सफल हुनुभयो । यस्तै, अन्य खेलाडीहरूमा रोजी कडारी ९, सरस्वती कुमारी र सन्तोषी चौधरीले समान आठ रन र गोमा आलेले एक रन जोड्नुभयो । गण्डकीका लागि आकृति तिवारीले ३ विकेट, कुसुम गोदारले २ विकेट, सृष्टि जैशी र शिला क्षेत्रीले समान १ विकेट लिनुभयो ।
७८ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको गण्डकी प्रदेश १९ ओभरमा ३७ रनमा समेटिन पुग्यो । शिला क्षेत्रीले टिमका लागि १० रन जोड्नु बाहेक अरू खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । सिर्जना पौडेल ७ रन, कप्तान जोत्स्निका मरासिनी ५, कप्तान सृष्टि जैशीले ३ रन, अञ्जली विश्वकर्मा र सिमाना केसीले समान २ रन जोड्नुभयो । मधेशकी ओमन अफ दी म्याच अनुराधा चौधरीले ४ ओभर बलिङ गर्दै १ मेडनका साथ ८ रन दिंँदै ४ विकेट लिनुभयो । यस्तै, कविता गौतम र शान्ति चौधरीले समान २ विकेट र सन्तोषी चौधरीले १ विकेट लिन सफल हुनुभयो ।

यस्तै, समूह ‘ए’ को दोस्रो खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि ८ विकेटको जित हात पा¥यो । ७१ रनको लक्ष्य पछ्याएको बागमतीले १३.१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । बागमतीले ७२ जोड्यो । कञ्चन श्रेष्ठले ४४ बलको सामना गर्दै २५ रन जोड्न सफल हुनुभयो । उहाँ रनआउट हुनुभयो । यस्तै, सुमन खतिवडा ११ रन, अस्मिता खरेल ९ रन र आरती विडारी नटआउट ३ रन जोड्न सफल हुनुभयो । सुदूरपश्चिमकी यशु पाण्डेले १ विकेट लिनुभयो ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको बागमतीले सुदूरपश्चिमलाई ७१ रनमा रोक्न सफल भयो । सुदूरपश्चिमकी अनु कडायतले सर्वाधिक २२ रन जोड्नुभयो । उहाँले २३ बलको सामना गर्दै २ चौका प्रहार गर्नुभएको थियो । यस्तै, रुवी पोदारले १२ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सक्नुभएन । यशु पाण्डेले ७, विन्दु रावल र स्नेहा महराले समान ५, रितु कनौजियाले ३ र डली भट्टले २ रन जोड्नुभयो । बागमतीले अतिरिक्त १५ रन दिएको थियो ।

बागमतीकी ओमन अफ दी म्याच सोनी पाख्रिनले ५ विकेट लिनुभयो । उहाँले आफ्नो स्पेलमा १३ रन खर्चनुभयो । यस्तै, खुशी डंगोेलले २ र अस्मिता खरेलले १ विकेट लिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?