विद्युत् निर्यात एक अर्ब युनिट नाघ्यो

Read Time = 3 mins

काठमाडौं । भारततर्फको विद्युत् निर्यात एक अर्ब युनिट नाघेको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठदेखि इण्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत् बिक्री सुरु गरेको थियो । मंगलबारसम्म अर्थात् २५ असोजसम्ममा एक अर्ब ३० लाख युनिट विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ ।

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यात गरी सो अवधिमा सात अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘विद्युत् निर्यात एक अर्ब युनिट नाघ्नु हाम्रा लागि अर्को कोशेढुंगा हो ।’ निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत मूल्य सात रुपैयाँ ९१ पैसा रहेको छ ।

सुरुमा दुईवटा विद्युत्गृहको ३९ मेगावाट विद्युत्लाई स्रोत मानी दैनिकरूपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठदेखि छवटा जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिकरूपमा तीन सय ६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकाले सो अवधिमा विद्युत् बिक्रीबाट चार अर्ब ९५ करोड ७६ लाख भारु नेपाल भित्रिएको प्राधिकरणको भनाइ छ । जसबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटा कम गर्न योगदान पुगिरहेको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत् निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ ।

प्राधिकरणका अनुसार आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ । त्यसैले हरेक ब्लकको मूल्य फरक-फरक हुने गरेको छ । प्राधिकरणले हालसम्म निर्यात गरेको विद्युत्को औसतदर प्रतियुनिट सात रुपैयाँ ९१ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?