फेरि आमने सामने राजेन्द्र र महिन्द्र

हिमालय टाइम्स
Read Time = 3 mins

प्रकाश मैनाली/हिटा
सर्लाही । मधेश प्रदेशका दुई चर्चित नेता राजेन्द्र महतो र महिन्द्र राय यादव फेरि यो पटकको निर्वाचनमा आमनेसामने हुनुभएको छ । एउटै सत्ता गठबन्धनमै भए पनि मित्रवत प्रतिस्पर्धा गर्ने गरी दुईजना पुनः दोस्रोपटक चुनावी मैदानमा आमने सामने हुनुभएको हो । सर्लाहीको क्षेत्र नं. २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट महतोले तथा नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट यादवले उम्मेदवारी दिनुभएको छ । आफ्नो पार्टी नेपाल समाजवादी पार्टी भए पनि यादवले माओवादीसँगको सहमतिअनुसार उसैको चुनाव चिन्ह लिएर उम्मेदवारी दर्ता गराउनुभएको हो ।

मधेशका यी दुई शीर्ष एवं चर्चित नेताबीच प्रतिस्पर्धा हुने भएपछि सर्लाही क्षेत्र नं. २ लाई निकै चासोका साथ हेर्न थालिएको छ । किनकि उनीहरू दुईजना धेरैपटक एउटै पार्टीमा सहयात्री भएर काम गर्ने अनि अनेकौँपटक फुट्ने मात्र हैन, एक आपसमा निर्वाचन लड्नेसमेत गर्नुभएको छ । यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा त करिब करिब सोही क्षेत्रहरू पर्ने तत्कालिन २ नम्बर क्षेत्रमै एक आपसमा चुनावी मैदानमा उत्रँदा बाजी मार्नुभएका यादवसँग महतोले दोस्रोपटक पुनः भिड्ने उम्मेद्वारीले पक्का गर्नुभएको हो ।

२०७० सालमा तत्कालीन तराई मधेश सद्भावना पार्टीका अध्यक्ष यादवले तत्कालीन सद्भावना पार्टीका अध्यक्ष महतोलाई पराजित गर्नुभएको थियो । यादव २०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । महतो २०७४ सालमा भने धनुषा ३ बाट निर्वाचित हुँदा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई पराजित गर्न सफल हुनुभएको थियो । यसपटक धनुषा ३ मा नेकपा एमाले नेतृ जुली महतो आफैँ उम्मेदवार बन्ने भएपछि महतो आफ्नो पुरानै मैदानमा फर्किनुभएको हो । गत निर्वाचनमा जुलीले सहयोग गरेकै कारण निधिलाई हराउनुभएका महतो यसपटक उक्त क्षेत्र असुरक्षित देखेपछि पुरानै मैदानमा फर्किएको एक नेताले दाबी गर्नुभयो ।

त्यहाँ विपक्षी गठबन्धनबाट भने नेकपा एमालेका जिल्ला अध्यक्ष राजनारायण साहले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएको छ । साहले २०७० सालको संविधानसभा निर्वाचनमा समेत एमालेबाटै संविधानसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?