वर्डप्रेस नेपालले वर्डक्याम्प आयोजना गर्ने

Read Time = 3 mins

काठमाडौं । वर्डप्रेस नेपालले सन् २०१२ देखि नेपालमा वर्डक्याम्प आयोजना गर्दै आएको छ । वर्डक्याम्प वर्डप्रेससम्बन्धी विश्वव्यापीरूपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । विश्वका ६५ देशका तीन सय ७९ शहरमा एक हजार एक सय २४ वर्डक्याम्प सम्पन्न भइसकेको आयोजकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । नेपालमा पनि हालसम्म काठमाडौं, पोखरा, भरतपुर, विराटनगर र बुटवल गरी १४ वटा वर्डक्याम्प सफलतापूर्वक सम्पन्न भइसकेको वर्डप्रेसले जनाएको छ । यसपटक चितवनको भरतपुरमा वर्डक्याम्प नेपाल २०२२ को बृहत् कार्यक्रम हुने बताइएको छ ।

चितवन गार्डेन रिसोर्टमा कात्तिक १९ र २० गते आयोजना हुने वर्डक्याम्पमा वर्डप्रेस डिभलपर्स, प्रयोगकर्ता र सोप्रति चासो राख्ने पाँच सयभन्दा बढीले हालसम्म सहभागिताका लागि नाम दर्ता गराइसकेको आयोजकले जनाएको छ । दुईदिने वर्डक्याम्पलाई इभेन्ट डे र कन्टिव्युसन डे गरी दुई भागमा विभाजित गरिएको छ । कार्यक्रममा आपसी जनसम्पर्क विस्तार र सहभागीबीच अनुभव आदानप्रदान हुने बताइएको छ । सहभागीबीच एकआपसमा सौहार्द, मित्रवत् र खुला हृदयसाथ प्रस्तुत भई वर्डक्याम्प अघि बढाउन आचारसंहिता नै बनाइएको वर्डप्रेस नेपालका अध्यक्ष एवं वर्डप्रेस नेपाल कम्युनिटीका स्वास खड्का, लोकल लिडमा वर्डप्रेस डिभलपर विकास पुनले बताउनुभएको छ ।

२५ भन्दा बढी अनुभवी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्पिकरले विभिन्न शीर्षकमा प्रस्तुति दिने, जनसम्पर्क विस्तार र अवसर आदानप्रदान वर्डप्रेस कार्यशाला, वर्डप्रेसको विकासका लागि योगदान दिने विज्ञसँग प्रत्यक्ष सम्पर्क र विभिन्न सत्र क्याम्पका प्रमुख आकर्षणका रूपमा रहेका छन् । कार्यक्रममा ग्लोबल कम्युनिटीका डेपुटी यामबहादुर क्षेत्रीले मेन्टरिङ गर्नुहुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?