सत्ता गठबन्धनको पक्षमा मतदान गर्न शीर्ष नेताहरूको अपिल

जनताको समृद्धिको आकांक्षालाई पूरा गर्ने प्रतिबद्धता

अनिल क्षेत्री
Read Time = 15 mins

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध प्रमुख तीन दलका शीर्ष नेताहरूले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा संविधानको रक्षा, राजनीतिक स्थिरता र समृद्धिका लागि सत्ता गठबन्धनका दलहरूका पक्षमा मतदान गर्न अपिल गरेका छन् । मंगलबार प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संयुक्त विज्ञप्ति जारी गरेर आसन्न निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई मत दिन अपिल गर्नुभएको हो । तीन दलका प्रमुख नेताहरूले मंसिर ४ को चुनावपछि पनि गठबन्धन सरकार बनाउने साझा प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । सत्ता गठबन्धनको तर्फबाट मंगलबार सार्वजनिक साझा प्रतिबद्धतामा कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालले मात्र हस्ताक्षर गर्नुभएको छ । गठबन्धनमा रहेका दलहरू लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरूले भने अपिलमा हस्ताक्षर गरेका छैनन् ।

शीर्ष नेता नेताद्वारा हस्ताक्षरित अपिलमा मतदाताको मत तान्न दर्जनौँ विषय उठाइएको छ । अपिलमा शीर्ष नेताहरूले संविधानको मर्मविपरीत गरिएको प्रतिनिधिसभाको असंवैधानिक विघटन लगायतका तत्कालीन सरकार प्रमुख एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी कदमलाई परास्त गर्नु र संविधानको रक्षा गर्नु गठबन्धनको उद्देश्य भएको उल्लेख गरिएको छ । अपिलमा पाँच दलीय गठबन्धनको उद्देश्य मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको भावना र मर्मविपरीत दुई/दुईपटक गरिएको प्रतिनिधिसभाको असंवैधानिक विघटनलगायत तात्कालीन सरकार प्रमुखको अनेकौँ स्वेच्छाचारी कदमहरूलाई परास्त गर्नु र संविधानको रक्षा गर्नु रहेको उल्लेख छ । अपिलमा भनिएको छ, ‘पाँच दलीय गठबन्धन सरकार बनेपछि संविधानको मूलमर्म र भावनाअनुरूप काम गर्दै आएको छ । गठबन्धन सरकार गठन भएलगत्तै महामारीको रूपमा रहेको कोरोना भाइरस (कोभिड-१९) को रोकथाम नियन्त्रण भएको छ । जनताको आवश्यकता पूर्तिका निम्ति निरन्तर क्रियाशील छ । यो छोटो अवधिमा सरकारले लोकतन्त्रलाई संस्थागत गर्न संवैधानिक अधिकारको पूर्ण प्रत्याभूति गरेको छ । गठबन्धनको यो सरकार आउँदो आम निर्वाचनलाई पनि भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न कटिबद्ध छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्तावेजमाथि अधिनायकवादी आक्रमणको खतरा जीवतै रहेको भन्दै उहाँहरूले संविधान माथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै रहने जिकिर गर्नुभएको छ । आगामी निर्वाचनपछि बन्ने सरकारले जनताको समृद्धिको आकांक्षालाई बिना आलटाल सम्बोधन गर्ने गठबन्धनको प्राथमिकता प्रष्ट रहेको स्ष्ट पार्दै भनिएको छ, ‘कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि एवं बजारीकरण, पूर्वाधार विकास र पर्यटन प्रवद्र्धन, द्रुत औद्योगीकरण, व्यापार घाटाको न्यूनीकरण गर्न आयात प्रतिस्थापन एवं निर्यात प्रवद्र्धन र जलविद्युत् जस्ता क्षेत्रको विकास अहिलेको आवश्यकता भएको र यसका लागि पर्याप्त निजी, सहकारी एवं सार्वजनिक लगानी वृद्धि गर्दै देशको हितमा विदेशी लगानी आकर्षण गर्ने नीति गठबन्धन सरकारले लिनेछ ।’

यातायात पूर्वाधार, सूचना प्रविधि र ऊर्जा विकास तथा अन्य आर्थिक गतिविधिबाट मुलुकलाई लाभ दिलाउनु तत्कालका प्राथमिकता हुने उहाँहरूको भनाइ छ । नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई देशको आवश्यकता र राष्ट्रिय स्वार्थ केन्द्रित लक्ष्यका साथ सञ्चालन गर्ने भन्दै प्रतिबद्धता पत्रमा भनिएको छ, ‘नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई देशको आवश्यकता र राष्ट्रिय स्वार्थ केन्द्रित लक्ष्यका साथ सञ्चालन गर्ने नीति गठबन्धनले लिएको छ । लोकतान्त्रिक शक्तिहरू सम्मिलित गठबन्धन सरकार साझा राष्ट्रिय दृष्टिकोण बनाउन निरन्तर क्रियाशील रहनेछ । भूमण्डलीकरणका बीच नेपालले आफ्नो राष्ट्रिय स्वार्थअनुरूप परराष्ट्र सम्बन्ध र कूटनीति सञ्चालन गर्नेछ । द्विपक्षीय र बहुपक्षीय सन्धि सम्झौताहरूलाई नेपालको राष्ट्रिय स्वार्थअनुरूप गर्न गठबन्धन सरकार प्रयत्नशील रहनेछ ।’

आर्थिक अभावका कारण आधारभूत शिक्षा र स्वास्थ्यको अवसरबाट कोही पनि नेपाली वञ्चित हुन नसक्ने दाबी गर्दै अपिलमा भनिएको छ, ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गरी सेवाको उपलब्धता र गुणस्तरमा उल्लेख्य सुधार गर्न गठबन्धनका दलहरू प्रतिबद्ध छन् । मुलुकभित्रै गुणस्तरीय उच्च शिक्षा दिन, योग्यता र क्षमता अनुरूपको सीप सुनिश्चित गर्दै अध्ययनसँगै आयआर्जन गर्न र अध्ययनपछि लाभदायी रोजगारी सुनिश्चित गर्न सबै सरोकारवालाहरूको साझा प्रयास आवश्यक छ । यस कार्यमा देशका लोकतन्त्र पक्षधर प्रमुख दलहरूको गठबन्धन क्रियाशील हुनेछ ।’

गठबन्धनले पूर्वीय चिन्तन, संस्कृति र सभ्यताका सकरात्मक वैज्ञानिक सोचहरू तथा त्यसको अभिन्न अंगको रूपमा रहेको योग, साधना, ध्यान जस्ता मानव जीवन उपयोगी अभ्यासको प्रवद्र्धनमा जोड दिइने पनि जनाएको छ । साझा प्रतिबद्धताको विस्तारित रूप पार्टीगत घोषणापत्रमा ल्याउने सत्ता गठबन्धनको अपिलमा उल्लेख छ ।

संयुक्त कार्यकर्ता भेलालाई निरन्तरता
सत्तारूढ गठबन्धनले आसन्न निर्वाचन केन्द्रित संयुक्त कार्यकर्ता भेलालाई निरन्तरता दिएको छ । आइतबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर–२ मा संयुक्त भेला आयोजना गरेका सत्ता गठबन्धनका दलहरूले मंगलबार ललितपुरमा संयुक्त भेला गरेका छन् । भेलालाई शीर्ष नेताहरूले सम्बोधन गर्नुभएको छ ।

राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद् भंग गर्नेहरू छन् : देउवा
प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा र आर्थिक समृद्धिका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गर्नुभएको छ । सत्ता गठबन्धनले ललितपुरमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले पूर्व–प्रधानमन्त्री केपी ओलीले दुई/दुई पटकसम्म संसद् भंग गरेर संविधान मिच्ने काम गरेको र आवधिक निर्वाचनको चक्रलाई समेत मिच्न खोजेको टिप्पणी गर्दै भन्नुभयो, ‘जनताले चुनेको संसद्लाई मनपरी गरेर भंग गर्न मिल्दैन । तर, राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद् भंग गर्नेहरू छन् । त्यही काम बिहान ६-७ गरेको भए पनि हुन्थ्यो । लहडमा भंग गरिदिनु भयो । लहडमा त उहाँले के गर्नुहुन्छु, के गर्नुहुन्न के थाहा ?’

अहिले सत्ता गठबन्धन राम्रोसँग चलिरहेको र चुनावपछि पनि गठबन्धनकै सरकार बस्ने दाबी गर्दै देउवाले भन्नुभयो, ‘अहिले गठबन्धन राम्रोसँग चलेको छ । कुरा गर्ने मान्छेले जे पनि भन्छन् । मैले पनि अस्ति हँसिया हथौडामा भोट हालेकै हो । सबै साथीहरूले, जनताहरूले यो कुरा बुझ्नुपर्छ भन्ने लाग्छ । अहिले गठबन्धन छ, जहाँ जो उम्मेदवार छ, त्यही भोट हालौँ । जहाँ रूख छ, त्यहाँ हालौँ । कलम भए पनि हालौँ, हँसिया हथौडा भए पनि हालौँ ।’

एमाले नेतृत्वको गठबन्धन प्रतिगमनकारी : अध्यक्ष दाहाल
सत्तारूढ गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले नेतृत्वमा राजावादी, अलगाववादी र देशलाई विखण्डन गर्न चाहनेको प्रतिगमनकारी गठबन्धन भएको आरोप लगाउनुभएको छ । मंगलबार ललितपुरमा सत्ता गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रतिपक्षीले अपवित्र गठबन्धन गरेको आरोप लगाउँदै भन्नुभयो, ‘हाम्रो त गठबन्धन होइन, तालमेल मात्रै हो भनेर विपक्षीले भन्ने गरेका छन्, तर त्यो गठबन्धन नै हो । राजावादीहरू, अलगाववादीहरू, देशलाई विखण्डन गर्न चाहने तत्वहरू, प्रतिगमनकारीहरूको गठबन्धन प्रष्ट देखिएको छ । कस्ता अनुहारहरू छन्, कस्ता भाषा बोल्छन् तिनीहरूको गठबन्धन ।’

अध्यक्ष दाहालले मुलुकमा अप्राकृतिक, अपवित्र र प्रतिगमनकारी प्रवृत्ति तथा कसरत चलिरहेकोले निर्वाचन पछि पनि वर्तमान गठबन्धन आवश्यक पर्ने जिकिर गर्दै भन्नुभयो, ‘यो एउटा सामान्य खालको चुनाव होइन । हामी राजनीतिक ब्याटल लड्दैछौँ । त्यसो त हामी ब्यालेटबाट लड्दैछौँ । ब्यालेटबाट अग्रगमन र प्रतिगमनको ब्याटल लड्दैछौँ । त्यसकारण यसलाई सामान्य नसोचियोस् भन्ने अपिल गर्न चाहन्छु । हामी विजयी हुने कि प्रतिक्रान्तिकारी विजयी हुने भन्ने फैसला मंसिर ४ गते हुन्छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर अध्यक्ष दाहालले गोरुगाडावालाहरू देशलाई अझै प्रतिगमन र अराजकतातिर जाने योजनामा रहेको दाबी गर्दै भन्नुभयो, ‘हिजो १२ बुँदे समझदारी पक्षधर एक भएका छौं । हिजो १२ बुँदे समझदारी केपी ओलीले गरेको होइन । गोरुगाडावालहरु कहीँ न कहीँ प्रतिगमनतिरै, अराजकतातिरै देशलाई लैजानेमा छन् ।’

ओली नेतृत्वको गठबन्धन अपवित्र : अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेतृत्व गरेको गठबन्धन अपवित्र भएको टिप्पणी गर्नुभएको छ । सत्ता गठबन्धनले ललितपुरमा मंगलबार गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सत्ता गठबन्धनबारे विपक्षीले भ्रम फैलाउने कोसिस गरिरहेको जिकिर गर्दै भन्नुभयो, ‘हामी सहकार्य गर्न सक्छौँ । धेरै ठाउँमा जित्न सक्छौँ भनेपछि यो सत्ता गठबन्धनको बारेमा विपक्षीले भ्रम फैलाउन थालेका छन् । विपक्षीको अनेक कुरालाई खण्डन गर्नुपर्छ । गठबन्धन प्राकृतिक हो कि अप्राकृतिक भनेर प्रश्न गरेमा हामीले काउण्टर दिनुपर्छ । हामीले गरेको गठबन्धन पवित्र हो । विपक्षी गठबन्धन अपवित्र हो ।’

गणतन्त्र र संविधान जोगाउन अहिलेको सत्ता गठबन्धन बनेको स्मरण गर्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘दुईपटक संविधान कुल्चिने काम भएको थियो । अधिकार नाघेर तत्कालीन प्रधानमन्त्रीले कदम चाले । हामी एकै ठाउँमा उभिएर संविधान र लोकतन्त्र जोगायौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?