परिजिता ‘द भोइस’को ‘नकआउट’मा प्रवेश

Read Time = 4 mins

काठमाडौं । अमेरिकन रियालिटी टेलिभिजन सिरिज ‘द भोइस’को ‘ब्याटल राउण्ड’मा परिजिता बाँस्कोटाले जित हासिल गर्नुभएको छ । नेपाली मूलकी १७ वर्षीया पारिजिता यससँगै द भोइसको नकआउटमा प्रवेश गर्नुभएको छ । नेपाली समयानुसार बुधबार बिहान भएको प्रतिस्पर्धामा उहाँले ‘हाउ डिप इज योर लभ’मा आफ्नो प्रस्तुति दिनुभएको थियो ।

प्रस्तुतिपछि परिजिताका लागि टिप्पणी दिँदै कोच ब्लेक सेल्टनले भन्नुभयोे, ‘परिजिता १७ वर्षकी हुन् । तिम्रो भोइस यति युनिक र असाध्यै पावरफुल छ । परिजिता यहाँ यत्तिको आत्मविश्वासी भएर आएको नै मलाई मनपर्‍यो । मलाई तिम्रो प्रस्तुती र भोइस दुवै असाध्यै मनपर्‍यो । यदि मैले छान्नुपर्‍यो भने मैले परिजितालाई नै छान्नेछु । ’

अर्की कोच क्यामिला क्याबेलोले पनि परिजिताको स्वरको असाध्यै तारिफ गर्नुभयो । उहाँले भन्नुभयो, ‘तिमी यो उमेरमा नै आफ्नो स्वरको मास्टर भइसकेकी छौ । तिमीले निकै सहज तरिकाले गाएको जस्तो सुनिन्छ । तिम्रो स्वर असाध्यै राम्रो छ ।’

यस्तै, अर्की कोच ग्वेन स्टेफनीले परिजिताले प्रस्तुति दिइरहँदा उहाँको व्यक्तित्व पनि बाहिर आइरहेको जुन असाध्यै राम्रो भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तिम्रो स्वर निकै युनिक छ । यसले मलाई ७० को दशकको सिंगर-सङ राइटरको याद दिलाइरहेको थियो ।

मलाई असाध्यै मनपर्‍यो ।’ यस्तै अन्तिममा उहाँका आफ्नै कोच जोन लजेण्डले भन्नुभयोे, ‘परिजिता तिमी को हौ, त्यसमा तिमी राम्रोसँग कनेक्टेड भएको जस्तो देखिन्छ । यो उमेरमा तिम्रो यो परिपक्वता निकै अद्भूत छ । तिम्रो स्वर असाध्यै मिठो छ । तिम्रो स्वर आकर्षित गर्ने खालको छ ।’

ब्लाइण्ड अडिशनमा प्रतिष्ठित रूपमा चारवटै कुर्सी घुमाउन सफल परिजिताले टिम लिजेण्ड रोज्नुभएको थियो । र, मंगलबार ब्याटल्स राउण्डमा कोच जोन लिजेण्डले उहाँलाई ब्याटल्स राउण्डको विजेताको रूपमा चुन्नुभएको हो ।

‘द भ्वाइस’ सिजन २२ को ब्याटल्स राउण्डका लागि जोनले पारिजितालाई दिदीबहिनीको जोडी द मारिलिन्ड्स विरुद्ध प्रतिस्पर्धामा पठाउनु भएको थियो । बी जीको ‘हाउ डीप इज योर लभ’ लाई ब्याट्स गीतको रूपमा छनोट गरिएको थियो । यद्यपि मारिलिन्ड्स दिदीबहिनी पनि शोमा सुरक्षित हुनुहुन्छ । जोनले मारिलिन्ड्स दिदीबहिनीलाई पनि आफ्नो विशेष अधिकार प्रयोग गरेर सुरक्षित गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?