सत्ता गठबन्धनको चुनावी देश दौडाहा सुरु, गठबन्धनको औचित्य पुष्टि गर्न नेतृत्वलाई सकस

अनिल क्षेत्री
Read Time = 10 mins

काठमाडौं । सत्ता गठबन्धनले शुक्रबारदेखि आसन्न चुनाव लक्षित देश दौडाहा सुरु गरेको छ । गठबन्धनमा सिट बाँडफाँटका क्रममा देखिएका असन्तुष्टि हटाउन र गठबन्धन आबद्ध दलहरूका उम्मेदवारबीच भोट ट्रान्सफरमा देखिनसक्ने समस्या निराकरणका लागि पाँच दलीय गठबन्धनले सातै प्रदेशमा गर्ने चुनाव लक्षित भेला शुक्रबारदेखि सुरु भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा असोज २७ गते बसेको बैठकको निर्णयअनुसार सातवटै प्रदेशमा गठबन्धन दलको संयुक्त कार्यकर्ता भेला सुरु भएको हो । गठबन्धनले ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारा दिएर सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार गठबन्धनले शुक्रबार गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशको बुटवलमा प्रदेशस्तरीय संयुक्त भेला आयोजना गरेको छ । भेलालाई गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्नुभएको छ ।

सत्ता गठबन्धनमा शंका पैदा गर्ने काम नगरौँ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्रीसमेत रहनुभएका सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा शंका पैदा हुने काम नगर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । पाँचदलीय गठबन्धनले शुक्रबार पोखरामा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले गठबन्धन आजको आवश्यकता भएको जिकिर गर्दै भन्नुभयो, ‘कुनै पार्टीको बहुमत आउन सक्दैन, त्यसैले पार्टीहरू मिल्नुपरेको छ । गठबन्धनका साथीहरूलाई शंका पैदा गर्ने, मतभिन्नता ल्याउने कुनै पनि काम नगरौँ ।’

सभापति देउवाले गठबन्धनमा सबैको जित भएको र यसलाई कायम राख्दा सबैको पालो आउने दाबी गर्दै देउवाले भन्नुभयो, ‘हाम्रा बीचमा सबै पार्टीका साथीहरूले कसैले टिकट पाउनुभएन होला, कतिले पाउनुभयो होला । सबै पार्टीमा त्यस्तै छ । सबैको पालो आउँछ । गठबन्धनको सरकार बन्यो भने सयौँ ठाउँ हुन्छन् ।’

कांग्रेससँग हाम्रो गठबन्धन शान्ति सम्झौतादेखिकै हो : अध्यक्ष दाहाल
सत्तारूढ गठबन्धनको अर्को घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन अहिले भर्खरै मात्र बनेको भनेर बुझ्नु गलत हुने जिकिर गर्नुभएको छ । नेपाली कांग्रेस र माओवादीका बीचमा १२ बुँदे शान्ति सम्झौता हुँदादेखि नै सहकार्यको वातावरण बनेको र अहिलेको गठबन्धन त्यसैको निरन्तरता भएको दाबी गर्नुभयो । आसन्न आमनिर्वाचनलाई सामान्य चुनावको रूपमा मात्रै लिन नहुने दाबी गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘यो एउटा चुनाव मात्रै होइन, यो अग्रगमन र प्रतिगमनका बीचको प्रतिस्पर्धा हो । त्यसकारण संविधान र लोकतन्त्रको रक्षा, संविधानमा संशोधन र कार्यान्वयन तथा मुलुकको समग्र विकासको निम्ति गठबन्धनलाई जिताउन आग्रह गर्दछु । गठबन्धनका बारेमा फैलाइएका भ्रमका पछि नलाग्नुस् ।’ अहिले आफूले कांग्रेसका तत्कालीन सभापति एवं पूर्व–प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई स्मरण गरिरहेको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, ‘हामीले यो गठबन्धन अहिले मात्रै बनेको जस्तो गरेर बुझ्नु पनि गलत हुन्छ । नेपाली कांग्रेस र माओवादीका बीचमा विगतमा पनि गठबन्धन भएको उदाहरण छ । विस्तृत शान्ति सम्झौताको जग नै त्यही गठबन्धन हो । म गिरिजाप्रसाद कोइरालालाई सम्झिन्छु, किनकि त्यतिबेला हामी बीचमा जुन सहकार्य भयो, त्यही सहकार्यले यो मुलुकलाई शान्ति, संविधान, विकास र समृद्धिको नयाँ दिशातिर अघि बढाएको थियो । अहिले पनि त्यही प्रक्रियाको निरन्तरताको रूपमै गठबन्धन बनेको हो । यो गठबन्धन विगतकै उद्देश्यमा आधारित हो ।’

गठबन्धन पवित्र उद्देश्यले बनेको हो, द्विविधा राख्नुपर्ने कारण छैन : अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन पवित्र उद्देश्यले बनेकाले सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । पोखरामा शुक्रबार सत्ता गठबन्धनले गरेको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले विपक्षी गठबन्धन जस्तो अप्राकृतिक तरिकाले यो गठबन्धन नबनेको जिकिर गर्दै भन्नुभयो, ‘एमालेले जस्तो अप्राकृतिक तरिकाले यो गठबन्धन बनेको होइन । यो गठबन्धन संविधान रक्षार्थ, प्राकृतिक र पवित्र भएको उद्देश्यका साथ बनेको हो । हाम्रो ध्यान सत्तामा पुग्ने मात्र होइन जनतालाई न्याय दिने, सुखी जीवनको प्रत्याभूति, रोजगारी, उत्पादकत्व बताउन बनेको हो ।’ अध्यक्ष नेपालले एमाले र जनता समाजवादी पार्टी लगायतको गठबन्धन प्रतिगामी गठबन्धन भएको समेत आरोप लगाउनुभयो ।

वर्तमान व्यवस्था बचाउन गठबन्धन : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सत्ता गठबन्धनको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र पौडेलले पाँच दलीय गठबन्धन राष्ट्रलाई जोगाउँदै सुशासन ल्याउन बनेको दाबी गर्नुभएको छ । पाँच दलीय गठबन्धनले शुक्रबार बुटवलमा आयोजना गरेको संयुक्त प्रशिक्षण कार्यक्रममा पौडेलले गठबन्धन व्यवस्था बचाउन गरिएको दाबी गर्दै भन्नुभयो, ‘सत्ता होइन, व्यवस्था बचाउनुपर्छ । पाँच दलीय गठबन्धन धेरै ठूलो उद्देश्यका लागि भएको हो । महान् उद्देश्यका लागि समर्पित गरिएकाले सामान्य चुनावी तालमेल मात्रै होइन । मुलुकमा संविधान र संघीय लोकतन्त्रको रक्षा गर्ने पक्ष एकातिर र अर्कातिर नेपालमा गणतन्त्र आउनै सक्दैन भन्ने शक्ति बीचको लडाइँ जारी छ । प्रतिगामीहरूले जिते संविधान र लोकतन्त्र नै रहँदैन ।’

यसअघि सत्ता गठबन्धनले काठमाडौ क्षेत्र नम्बर २ र ललितपुरमा संयुक्त नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ । आसन्न निर्वाचन लक्षित दुवै प्रशिक्षणलाई गठबन्धनका शीर्ष नेताहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधवकुमार नेपालले सम्बोधन गर्नुभएको थियो । गठबन्धनले केन्द्रीयस्तरबाट निर्वाचन परिचालन गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा समन्वय समिति बनाएको छ । गठबन्धनले प्रदेश तथा जिल्लाहरूमा पनि गठबन्धन दलको समन्वय समिति गठन गर्ने निर्णय यसअघि गरेको छ । सत्ता गठबन्धनले शनिबार विराटनगर र जनकपुर, आइतबार धनगढी र सुर्खेतमा प्रादेशिक भेला गर्दैछ । कात्तिक ७ गते काठमाडौंमा संयुक्त भेला गरेर गठबन्धनले आसन्न चुनाव लक्षित पहिलो चरणको देश दौडाहा समापन गर्नेछ । निर्वाचन आयोगले चुनावी प्रचारप्रसारको लागि निर्धारित अवधिभन्दा अघि भेला नगर्न निर्देशन दिए पनि सत्ता गठबन्धनले भने आयोगको निर्देशनविपरीत चुनाव प्रचारलाई तीव्रता दिन थालेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?