सूर्यग्रहण विचार

Read Time = 16 mins

✍️ डा. नारायणप्रसाद निरौला

ग्रहण भनेको ग्राहृय र ग्राहकबीचको सम्बन्ध हो । सामान्य अर्थमा पृथ्वीको छायाँले चन्द्रमालाई छेकेको अवस्थामा चन्द्रग्रहण हुन्छ भने चन्द्रमाले सूर्यको प्रकाशलाई पृथ्वीमा आउनबाट रोक्दा सूर्यग्रहण लाग्ने गर्दछ । चन्द्रग्रहण पूर्णिमा तिथि र सूर्यग्रहण औँसी तिथिका दिनमात्र लाग्ने सम्भावना रहन्छ । ग्रहण पौरस्त्य वाङ्मयको देन हो । वेदले ग्रहणका बारेमा यसरी ऋग्वेदमा उल्लेख गरेको पाइन्छ  '..यं वै सूर्यस्वर्भानुस्तमसाऽविध्यदासुरः । अत्र यस्तमनवविन्दन्न हृयन्वे अशक्नुवन् ।।’ (ऋग्वेद, ५।४०।५९) अर्थात् सूर्यलाई राहुले ग्रस्त पारेको अवस्थामा ग्रहण लाग्दछ । राहुलाई ग्रहणको कारक मानिएको छ । राहु भनेको तम अर्थात् अन्धकार हो । ग्रहण लागेका बेला पनि अन्धकार हुने गर्दछ ।

चन्द्रमा हिँड्ने बाटो (चन्द्रविमण्डल) र सूर्य हिँड्ने बाटो क्रान्तिवृत्तका दुई सम्पातलाई राहु र केतु भनिन्छ । यी दुई वृत्तको पातविन्दुबाट पाँच अंशसम्मको अन्तर रहने गर्दछ । आधुनिक मतमा चन्द्रमा र पृथ्वीको कोणीय अन्तर पाँच डिग्रीले तल माथि भइरहन्छ । जब यो अन्तर शून्यप्राय हुन्छ यस्तो बेलामा ग्रहणको सम्भावना हुन्छ । किनकि उक्त समयमा सूर्य, चन्द्रमा र पृथ्वी एउटै सरल रेखामा रहन्छ । ज्योतिषीय भाषामा यसलाई शर भनिन्छ । शर न्यून हुँदा ग्रहण सम्भावना हुन्छ । शरको अन्तर बढ्दै जाँदा ग्रहण सम्भावना पनि न्यून हुन्छ । यस्तो सम्भावना सूर्यग्रहणका निम्ति अमान्त (औँसी) र चन्द्रग्रहणका निम्ति पूर्णान्त अर्थात् पूर्णिमा हुनु अनिवार्य रहन्छ ।

सूर्य ग्रहण :
चन्द्रमाले सूर्यको प्रकाशलाई छेकेको अवस्थामा सूर्य ग्रहण लाग्ने गर्दछ । सूर्यलाई चन्द्रमाले ढाक्न औँसीका दिनमात्र सम्भव हुन्छ । सबै औँसीमा पनि यस्तो स्थिति अउँदैन । किनकि चन्द्रमा र सूर्यबीच पाँच अंशसम्मको कोणीय ढल्काइ रहनसक्छ । जब सूर्य, चन्द्रमा र पृथ्वी एउटै सरल रेखामा अर्थात् शून्य कोणीय ढल्काइमा हुन्छन् तबमात्र सूर्य ग्रहणको सम्भावना रहन्छ । सूर्य ग्रहण कुनै स्थानमा लागेको बेला पृथ्वीकै अर्को स्थानमा नलाग्न पनि सक्छ । सूर्य र चन्द्रमा एउटै राशिमा भएको अवस्थामा मात्र सूर्य ग्रहण आकाशमा देखिन्छ ।

चन्द्रमाले सूर्यको प्रकाशलाई छेकेको अवस्थामा सूर्य ग्रहण लाग्ने गर्दछ । सूर्यलाई चन्द्रमाले ढाक्न औँसीका दिनमात्र सम्भव हुन्छ । सबै औँसीमा पनि यस्तो स्थिति अउँदैन । किनकि चन्द्रमा र सूर्यबीच पाँच अंशसम्मको कोणीय ढल्काइ रहनसक्छ ।

सूर्य ग्रहण तीन प्रकारका हुन्छन् । खग्रास, खण्डग्रास र वलय सूर्यग्रहण । जब चन्द्रबिम्बले सूर्यको सम्पूर्ण भाग छेक्छ तब पूर्णग्रास सूर्यग्रहण हुन्छ । यसैगरी सूर्यको केही भागमात्र ग्रसित गरेको अवस्थामा खण्डग्रास सूर्यग्रहण देखिन्छ । चन्द्रबिम्बले सूर्यबिम्बलाई पूर्ण ढाक्दा सूर्यको तेजिलो प्रकाशले चन्द्रमाको कालो धब्बा वरिपरि सेतो गोलाकृति देखिन्छ जसलाई वलय सूर्यग्रहण भनिन्छ । चन्द्रमाले सूर्यको प्रकाश पृथ्वीमा पर्नबाट रोकेको अवस्था नै वास्तवमा सूर्यग्रहण हो ।

२०७९ साल कात्तिक ८ गतेको ग्रस्तास्तखण्डग्रास सूर्यग्रहण :
विक्रम संवत् २०७९ साल कात्तिक ८ गते तदनुसार २५ अक्टोबर २०२२ मा ग्रस्तास्तखण्डग्रास सूर्यग्रहण लाग्नेछन् । ग्रहण ग्रस्त भएसँगै अस्त पनि हुने भएकाले यो ग्रहणलाई ग्रस्तास्त भनिएको छ । सूर्यास्तकाल नै यो ग्रहणको प्रभाव समापनको अवस्था हो । ग्रहणसँगै सूर्य पनि अस्त हुने भएकाले मोक्षको स्थिति यो ग्रहणमा देखिँदैन । यो सूर्यग्रहण नेपाल भारत, चीनसहित एशियाका अधिकांश स्थानका साथै युरोप, मध्यअफ्रिका लगायतका स्थानबाट पनि देख्न सकिनेछ । रुसको मस्कोबाट सूर्यबिम्बको ६३ प्रतिशत ग्रहण देख्न सकिन्छ । यसैगरी नेपालबाट २३.४२ प्रतिशत सूर्यबिम्बको भाग ग्रसित रहनेछ । अमेरिका, अष्ट्रेलियाबाट भने ग्रहण देखिनेछैन । अर्थात् ग्रहणको प्रभाव रहँदैन ।

काठमाडौंमा बेलुका ४.५२ बजे ग्रहणको स्पर्श (सुरु) हुन्छ । जुन सूर्यको दक्षिण पश्चिम (नैऋत्य) दिशाबाट स्पर्श गर्दै अघि बढ्छ । यसपछि क्रमशः सूर्यको भागमा चन्द्रमाले कालो धब्बा बढाउँदै जानेछन् । यसरी चन्द्रमाले सूर्यबिम्बको २३ प्रतिशत भाग ढाक्ने समयमा सूर्य पनि अस्ताउँछन् । सूर्यास्त ५.२४ बजे भएसँगै ग्रहण पनि नदेखिने अवस्थामा पुग्दछ । यसैले सूर्यास्तसँगै ग्रहण समापन हुन्छ । यसैले यो ग्रहणलाई ग्रस्तास्त भनिन्छ । यसरी ३२ मिनेटसम्म काठमाडौंको आकाशबाट ग्रहणको दृश्य अवलोकन गर्न सकिन्छ । यो सूर्यग्रहण प्रत्यक्ष आँखाले भने हेर्न हुँदैन । विशेष चश्माको प्रयोग गरेर वा प्रतिच्छा बनाएर ग्रहणको अवलोकन गर्न सकिन्छ ।

ग्रहणफल :
२०७९ साल कात्तिक ८ गते लाग्ने सूर्यग्रहण स्वाती नक्षत्रका दिन तुला राशिमा चन्द्रमा भएका बेला पर्ने भएकाले स्वाती नक्षत्र एवं तुला राशि भएका व्यक्तिलाई भने ग्रहणको दर्शन कष्टदायी रहने फल बताइएको छ ।
मेष राशि : यस राशिका लागि ग्रहण दर्शन फल स्त्रीपीडा बताइएको छ ।
वृष राशि : वृष राशिलाई यो ग्रहण दर्शन सुख प्राप्त हुने फल बताइएकाले ग्रहण हेर्नु लाभप्रद रहनेछ ।
मिथुन राशि : मिथुन राशिका लागि ग्रहण दर्शनले चिन्ता पैदा गर्ने हुन्छ ।
कर्कट राशि : कर्कट राशि भएका व्यक्तिलाई पनि यो ग्रहण दर्शन अशुभ रहनेछ ।
सिंह राशि : सिंह राशिलाई ग्रहण लाभदायी रहनेछ । फल श्रीप्राप्ति बताइएको छ ।
कन्या राशि : कन्या राशिलाई हानी फल बताइएको छ ।
तुला राशि : तुला राशिलाई ग्रहण दर्शन फल घात बताइएको छ ।
वृश्चिक राशि : वृश्चिक राशिका लागि यो ग्रहणले खर्चमा वृद्धि गराउनेछ ।
धनु राशि : धनु राशिका लागि ग्रहण दर्शन लाभदायी रहनेछ ।
मकर राशि : मकर राशिका लागि ग्रहणदर्शन फल सौख्यम् बताइएको छ ।
कुम्भ राशि : कुम्भ राशिलाई ग्रहण फल माननाश बताइएको छ ।
मीन राशि : मीन राशिलाई पनि यो ग्रहण दर्शन कष्टदायी रहनेछ ।

वृष, सिंह, धनु र मकर राशिलाई यो सूर्यग्रहण दर्शन शुभ र अन्य राशिलाई अशुभ रहनेछ । यसरी सूर्य ग्रहण हेर्दा नाङ्गो आँखाले प्रत्यक्ष सूर्यबिम्बमा नहेर्नुहोला । यसैगरी दूरदर्शक यन्त्रको सहायताले हेर्दा पनि विशेष प्रकारको चश्मा लगाएर हेर्नुहोला । सूर्य ग्रहण सूर्य बिम्बमै लाग्ने भएकाले आँखामा प्रत्यक्ष असर गर्न सक्दछ । गर्भवती महिलाले भने ग्रहण दर्शन जुरे पनि नहेर्नु नै उचित हुनेछ ।

ग्रहणको सुतक र बार्नु पर्ने कार्य :
सूर्यग्रहणको सुतक भने कार्तिक ७ गते सोमबार राति ४.५२ बजेबाट (अर्थात् ८ गते सूर्योदयपूर्व ४.५२ बजेबाट) सुतक लाग्नेछ । ग्रहण लागेको समयलाई विद्ध मानिन्छ । त्यसैले सुतक बार्नुपर्ने शास्त्रीय विधान रहेको छ । ‘सूर्यग्रहे ग्रहणप्रहरादर्वाक् यामचतुष्टयं वेधः । चन्द्रग्रहे तु प्रहरत्रयम् ।’ (धर्मसिन्धु, प्रथमपरिच्छेद, पृ.२७) अर्थात् सूर्यग्रहण लाग्नु भन्दा चार प्रहर (१२ घण्टा) पूर्व र चन्द्रग्रहण लाग्नुभन्दा ३ प्रहर अर्थात् ९ घण्टा अघिदेखि सुतक लाग्छ भनिएको छ । यसैले बाल, वृद्ध र आतुरबाहेक अरूलाई शास्त्रले भोजनादि निषेध गरेको छ ।

ग्रहण लागेको समयमा भोजन गर्न, सुत्न, मैथुनादि समागम, शरीरमा तेल घस्न, शृंगार, शौच, बध, अरूलाई कष्ट हुने कार्य बर्जित रहन्छन् । ‘ग्रहणकाले शयने कृते रोगो मूत्रे दारिद्रयं पुरीषे कृमिर्मैथुने ग्रामसुकरोभ्यंग कुष्ठी भोजने नरक इति ।’ (धर्मसिन्धु, प्रथमपरिच्छेद, पृ. २७) । ‘निद्रायां जायते व्याधिर्मूत्रे दारिद्र्यमाप्नुयात् । पुरीषे कृमियोनिश्च मैथुने ग्रामसुकरः । आभ्यञ्जने भवेत् कुष्टिर्भोजने स्यादधोगतिः । बन्धने च भवेत् सर्पो बधे च नरकं व्रजेत् ।।’

अर्थात् ग्रहण लागेका अवस्थामा सुते रोग लाग्न सक्छ, शौचादि कार्य गर्नाले दारिद्य्र हुन्छ । दिशा बस्नाले कृमियोनि प्राप्त हुन्छ, मैथुनादि संगम गर्नाले अर्को जन्ममा सुगुरको योनि प्राप्त हुन्छ, शरीरमा तेल लगाउनाले वा शृंगार गर्नाले कुष्टरोग लाग्न सक्छ, भोजन गर्नाले अवनति हुन्छ । कसैलाई बन्धनमा राख्नाले सर्पको योनि प्राप्त हुन्छ भने काटमार आदि बध गर्दा नरकको यातना भोग गर्नुपर्छ भनी उल्लेख गरिएको छ ।

ग्रहणमा कस्ता कार्य गर्नु शुभ हुन्छ ?
ग्रहणको समय दान पुण्यका लागि अति उत्तम मानिएको छ । ‘बहुफलं जपदान हुतादिके स्मृतिपुराणविदः प्रवदन्ति हि । सदुपयोगि जने सचमत्कृति ग्रहणमिन्द्विनयोः कथयाम्यतः ।।’ (सिद्धान्तशिरोमणि, चन्द्रग्रहणधिकार, श्लो. १) अर्थात् जप, दान, यज्ञाहुति आदि गर्नका लागि ग्रहण उत्तम अवसर हो । यो आकाशमा देखिने एक चमत्कृति पनि हो । ग्रहण लागेको समयका जप, दान, मन्त्रसिद्धि जस्ता कार्य गर्नु विशेष शुभ मानिएको छ । विद्यार्थीले अध्ययनको कार्यलाई निरन्तरता दिनु नै उचित हुन्छ । विद्या साधनाका निम्ति पनि यो उत्कृष्ट समय हो । दान लिनुभन्दा पनि दान दिनु उचित हुन्छ भनी शास्त्रमा उल्लेख पाइन्छ ।

ग्रहणमा स्नान पनि विशेष शुभदायी मानिन्छ । ग्रहण स्नान गर्नाले रोगव्याधि हटेर जान्छन् भनिएको छ । ग्रहण लागेको समयमा सबै कुरा अपवित्र हुन्छन् । त्यसैले कुश साथमा राख्नाले अथवा कुश पानीले स्नान गर्नाले ग्रहणजन्य दोषबाट निवृत्त हुन सकिन्छ ।

यसैगरी ग्रहणमा स्नान पनि विशेष शुभदायी मानिन्छ । ग्रहण स्नान गर्नाले रोगव्याधि हटेर जान्छन् भनिएको छ । ग्रहण लागेको समयमा सबै कुरा अपवित्र हुन्छन् । त्यसैले कुश साथमा राख्नाले अथवा कुश पानीले स्नान गर्नाले ग्रहणजन्य दोषबाट निवृत्त हुन सकिन्छ । तुलादानका कार्य ग्रहणमा शुभ रहने निर्णयसिन्धुमा बताइएको छ । (निर्णयसिन्धु, पृ.४२) ।

ग्रहण सामान्य खगोलीय प्रक्रिया हो । विशेषतः पृथ्वीको छायाँमा चन्द्रमा प्रवेश गरी आफ्नो प्रकाशलाई अवरुद्ध गराएको अवस्था चन्द्र ग्रहण हो भने चन्द्रमाले सूर्यलाई छेकेको अवस्था सूर्य ग्रहणको हो । विशेषतः ग्रहण लागेको समयमा पृथ्वीमा विकार उत्पन्न हुने भएकाले स्नान, दान, जपादि कर्म गर्नु भनी शास्त्रले निर्देश गरेको हो । ग्रहण पूर्वीय ज्ञानको उपज हो । यसको सही अर्थ र रहस्य हजारौं वर्षपहिले नै हाम्रा ऋषिमुनिहरूले पत्ता लगाइसकेका थिए । त्यसैले यस्ता गूढतम रहस्यका विषयलाई थप पुष्टि थर्दै पूर्वीय ज्ञानको धरोहरलाई फैलाउनु आवश्यक देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?