वित्तीय संकटको असरबारे गभर्नरको ध्यानाकर्षण, उद्योगको लागत शतप्रतिशत बढेको दाबी

Read Time = 5 mins

काठमाडौं । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश १ को संयुक्त प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत उच्चपदस्थ कर्मचारीसँग भेट गरी वर्तमानको वित्तीय संकट सम्बन्धमा प्रतिवेदनसहित सुझाव प्रस्तुत गरेका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल, नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेलगायत पदाधिकारी र कार्यसमिति सदस्य सम्मिलित प्रतिनिधिमण्डलले गभर्नर अधिकारीलाई केन्द्रीय कार्यालयमै भेटेर हालको समस्याले उद्योगमा गम्भीर संकट आएकाले तत्काल समाधान खोज्न आग्रह गरेको हो । गभर्नर अधिकारीले उद्योगको समस्याप्रति राष्ट्र बैंक गम्भीर रहेको जनाउँदै सम्पूर्ण वित्तीय व्यवस्थामा सन्तुलन कायम गर्दै वर्तमान समस्या क्रमशः समाधान गर्दै जाने आश्वासन दिनुभएको उद्योग संगठन मोरङले जनाएको छ ।

तरलता अभाव तथा बढ्दो ब्याजदरका कारण २९ प्रतिशत उद्योगको लागत ७५ देखि शतप्रतिशतसम्म बढेको र ७१ प्रतिशत उद्योगको लागत २५ प्रतिशतले बढेको बताइएको छ ।

तीन संगठनहरूले गभर्नर अधिकारीलाई बुझाएको प्रतिवेदनमा बैंकमा देखिएको कर्जा लगानीयोग्य रकम अभाव, तरलता अभाव तथा बढ्दो ब्याजदरका कारण २९ प्रतिशत उद्योगको लागत ७५ देखि शतप्रतिशतसम्म बढेको र ७१ प्रतिशत उद्योगको लागत २५ प्रतिशतले बढेको उल्लेख छ ।

त्यस्तै, राष्ट्र बैंकले लिएको कर्जा निक्षेप अनुपातको व्यवस्थालाई खारेज गर्न, सिआरआरमा तीन प्रतिशतको सीमा घटाई लगानीयोग्य रकम वृद्घि हुने वातावरण तयार गर्न, आधारदरसमेत कम गरी कर्जाको ब्याजदर कम गराउन, वैधानिक तरलता अनुपातसमेत घटाई वाणिज्य बैंकका लागि १० तथा विकास बैंक र वित्त कम्पनीका लागि आठ प्रतिशत कायम गर्न, ब्याजदर अन्तरलाई तत्कालै चार प्रतिशत र सरकार आफैंले हस्ताक्षर गरेको वित्तीय क्षेत्र सुधार पञ्चवर्षीय रणनीति÷योजना मुताबिक स्प्रेडदर तीन प्रतिशतमा झार्ने प्रतिबद्धता पूरा गर्दै स्प्रेडदर अबिलम्ब घटाउन माग गरिएको छ ।

त्यसैगरी कोरोनालगायतका कारण जोखिम व्यवस्थापनका लागि एक प्रतिशतबाट १.३ प्रतिशतमा वृद्धि गरिएको अतिरिक्त कर्जा नोक्सानी व्यवस्थाको प्रावधान हाल अवस्था सामान्य भएकाले साबिकबमोजिम एक प्रतिशत तथा सूक्ष्म निगरानीअन्तर्गतको कर्जा नोक्सानी व्यवस्था पाँच प्रतिशतबाट कम गरी २.५ प्रतिशत कायम गर्न, आधारदर र ब्याजदरमा वृद्धि समान हुनुपर्ने नीति कडाइसाथ कार्यान्वयन गर्न, चालु पुँजी कर्जाको नयाँ व्यवस्थासमेत पुनर्विचार गर्न माग गरिएको छ ।

निक्षेप संकलन १७ अर्बले घट्यो
पछिल्लो एक साताको अवधिमा बैंकमा निक्षेप संकलन १७ अर्बले घटेको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको विवरणअनुसार कात्तिक दोस्रो हप्तासम्म बैंकको निक्षेप ४५ खर्ब २४ अर्ब रुपैयाँ रहेको छ । कात्तिक पहिलो साता बैंकको निक्षेप संकलन ४५ खर्ब ४१ अर्ब रहेको थियो । असोज अन्तिम सातादेखि निक्षेप घट्न थालेको थियो ।

असोज अन्तिम साता ४५ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । कात्तिक दोस्रो साता कर्जा प्रवाह भने स्थिर रहेको छ । बैंकहरूले ४२ खर्ब २५ अर्ब कर्जा प्रवाह गरेका छन् । अघिल्लो साता पनि सोही बराबरको कर्जा प्रवाह भएको थियो । तिहारका कारण पछिल्लो समयमा वाणिज्य बैंकहरूबाट बढी रकम बाहिरिएको अनुमान गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?