प्राकृतिक र मानवीय त्रुटिले हुने दुर्घटनाको कहालीलाग्दो रूप

धनविक्रम सिंह
Read Time = 16 mins

अचेल दिनहुँजसो प्राकृतिक प्रकोप, मानवीय उपद्रोे र त्रुटिले गर्दा कहालीलाग्दा दुर्घटना हुनगई मानिसहरू अकालमै मृत्युको मुखमा समाहित भइरहेका छन् । विगतमा भन्दा हालका केही वर्ष यतादेखि यस्ता विनाशकारी घटना झन् झन् बढ्दै गएका छन् । यसले गर्दा परिवार र सामाजिक जीवन नरामोसँ खलबल्याइदिने गरेको छ । घटना दुर्घटना त अनेक थरिका हुनेगर्छन् तर हाम्रो देशको भूगोल र भूवनौटले गर्दा पहाडमा वर्षायाममा झर्नेे गरेको पहिरोले घरमा रहेका मानिसहरूलाई समेत बगाएर पुरिदिँदा त्यस परिवारको विचल्नी हुनेगरेको छ ।

त्यस्तै समथर भूभाग तराई मधेसमा नदी, खोलानालाको बाढीले वर्षेनी बितण्डा मच्चाउँदै घरबारी र खेतमा पसेर डुबानमा पारी लगाइएका बालीनाली नष्ट गर्दै घर र मानिसलाई समेत बगाएर लगिदिँदा परिवारलाई बेहाल बनाइदिने गरेको छ । कति परिवारमा त ठूलाहरूलाई बगाएर ससाना नानीबाबु संयोगबस बाँच्दा त उनीहरूको बेहाल हुने गरेको छ । यी वर्षेनी हुनेगरेका दुर्घटना घट्नुको सट्टा किन झन् झन् बढिरहेका छन् ? यस्ता कहालीलाग्दा विनाशकारी दुर्घटना आगामी दिनमा फेरि-फेरि नदोहरिरहुन्, रोकथामका लागि यसको कारण पत्ता लगाई समाधान गर्नु अत्यावश्यक भएको छ ।

कारणहरू :
१. प्रकृति जबसम्म ऊ आफ्ना लयमा चल्न पाइरहेको हुन्छ शान्त र सौम्य भई चलायमान रहन्छ तर जब मानिसले जथाभावी रूपमा उसलाई चलाएर दोहन गर्न थाल्दछ अनि प्रकृति पनि आफ्नो लय छाड्न बाध्य भई बितण्डा मच्चाउन थाल्दछ । हाम्रो मध्यपहाडी भूभाग पत्रेदार कडा चट्टानले बनेको होइन भनेर यसका जानकारले बताइरहेका छन् । यहाँको जमिन मिश्रित रूपको कहीँ कडा चट्टान पनि छ भने कहीँ बग्ने खालको कमलो मसिनो गेगर मिश्रित माटो । यही भूभागमा मानिसहरूको बसोवास रहेको पाइन्छ । फिरन्ते सिकारी जीवनपछि मानिसले जहाँ खेतीयोग्य जमिन भेट्टाउदै गए त्यही आफ्नो बसोवास गरी गुजारा गर्दै आएको देखिन्छ । नेपालमा पनि सोही किसिमले बसोवास भएको अनुमान गर्न सकिन्छ ।

तर, नेपालमा समथर जग्गा धेरै कम र पहाडी भूभाग धेरै भएकाले मानिसहरू आफ्नो रुचि र सुविधाअनुसार तथा आफ्नो पारिवारिक जातीय पहिचानको आधारमा कोही तराई मधेस र कोही पहाड, हिमालमा बसोवास गरेर बसे होलान् । नेपालको खासगरी पहाडी भूभागमा जहाँ खेतीयोग्य जमिन सीमित मात्रामा उपलब्ध रहेकाले ठाउँ ठाउँमा डाँडापाखामा भएका बोटबिरुवा काटेर सफा गरी बस्ती बसालेर त्यहीँ वरिपरि खोस्रेर गह्रा खेतीसमेत गर्नाले पनि अतिवृष्टि भएको सालमा कमलो माटो बगाएर लग्दा लगाइएका बालीसमेत बगाएर नष्ट पार्दै त्यसमुनि कुनै घरगोठ भए सो समेत बगाएर, पुरेर नष्ट गरिदिँदा त्यस परिवारको विचल्नी बनाइदिने गरेको छ । अनुमानको भरमा अनियन्त्रित रूपमा बोटबिरुवा फँडानी गरी बस्ती बसीदिँदा प्रकृतिका यस्ता कहालीलाग्दा प्रकोप जसले कहिलेकाँही एकै परिवारका सम्पूर्ण सदस्यलाई पुरेर निमिट्यान्न पारेर त्यस परिवारको अस्तित्व समाप्त पारिदिने गरेको कारुणिक श्रव्यदृश्य सञ्चारमाध्यममार्फत सुन्दा र हेर्दा मन नकल्पी रहनै सक्दैन ।

खोला र नदीकिनारमा बस्तीको बिस्तारले गर्दा नदीको वहाब क्षेत्र साँगुरिएर बाढीको उछाल बाहिरिई घरघरमा पसेर हानीनोक्सानी गर्ने गरेको छ । अन्यत्र मात्र नभएर काठमाडौं उपत्यका समेतमा धेरैजसो खोलाहरू अतिक्रमणमा परी त्यहाँ बसाइएका घरमा बाढी पसी बितन्डा मच्चाउने गरेको छ ।

२. मानिसको जात सुखसुविधाभोगी र महत्वाकांक्षी प्राणी भएकाले समयानुसारको सुखसुविधा उपभोग गर्न सो सुविधा जुटाउन यावत् उपक्रम गर्नु स्वाभाविकै हो । तर, विना कुनै भौगर्भिक सर्भेक्षणलगायत प्रभाव मूल्यांकन नै नगरी पहाडका पाखाहरू काटेर खोलिएका मोटरेबल ट्याकले गर्दा कमलो भीरपाखा झरेर पहिरो जाँदा जनधनको कहालीलाग्दो गरी क्षति हुने गरेका छन् । अहिले त झन् स्थानीय निकायले बजेट र अधिकारसमेत पाएकाले विना कुनै अध्ययन सर्भेक्षण जथाभावी ट्य्राक खोल्दै गरेकाले यस्ता विनवाशकारी दुर्घटना बढिरहेका छन् ।

तराई मधेसमा भएका जंगलबाट पहिला अत्यावश्यक घरेलु प्रयोजनका लागि नियन्त्रित रूपमा काठदाउरा काट्न अनुमति दिँदै आएकोमा सूर्यबहादुर थापा प्रधानमन्त्री भएको बेलामा पूर्वी तराईका जंगलहरू अन्धाधुन्ध रूपमा फँडानी गरी आफन्तलाई खोरिया जग्गाहरू बसोवासका लागि बाँडियो । तराईका जंगल सखाप पारेर अब मानिसहरू चुरेपर्वत शृंखलामा रहेका रूखबिरुवा पनि निमिट्यान्न पार्दै गरेकाले चुरे पर्वतको भुसभुसे माटो भूखस्लन भएर तराईका गहिरा नदीनालामा बाढी छताछुल्ल भएर बग्दा गाउँबस्तीमा पसेर सालसालै धनजनको विनाश गर्ने गरेको छ । फुसको घरमा भएका मानिस, पशुपक्षी र अन्नपातसमेत बगाएर लगिदिँदा त्यस परिवारको विचल्नी हुनेगरेको छ । अझ खेतबारीमा लगाइराखिएका बालीसमेत नष्ट गरिदिँदा बाँचेकाले के खाएर जीवन निर्वाह गर्ने भन्ने समस्या आइपर्छ ।

३. अर्को कारण खोला र नदी किनारमा बस्तीको विस्तारले गर्दा नदीको बहाव क्षेत्र साँगुरिएर बाढीको उछाल बाहिरिई घरघरमा पसेर हानीनोक्सानी गर्ने गरेको छ । अन्यत्रमात्र नभएर काठमाडौं उपत्यका समेतमा धेरैजसो खोला अतिक्रमणमा परी त्यहाँ बसाइएका घरहरूमा बाढी पसी बितन्डा मच्चाउने गरेको छ । बल्खुखोला, धोबीखोला, टुकुचाखोलामाथि त पक्की घरहरू नै निर्माण भएका छन् । काठमाडौं महानगरका प्रमुख बालेन साह यी खोलाहरूको अतिक्रमणबाट उन्मुक्तिका लागि प्रयासरत छन् ।

तर, कानुन जसको आँखा, कान र नाक हुँदैन अगाडि तेर्सिएर यस्ता अभियानमा तगारो भई उभिदिन्छ । उहिले पनि कानुनले यस्ता गैरकानुनी काम भइरहेको देख्दै देखेन, सुन्दै सुनेन र छनक पनि पाउँदै पाएन वा कुनै आर्थिक लाभका लागि देखेन सुनेन । तर, आज पनि यस्ता कार्यहरूले संरक्षण पाउनु न्यायोचित हुँदैन । प्रकृतिलाई स्वछन्द छाडिनुपर्छ आफ्नो लयमा प्रवाहित भइरहनका लागि हामीले त्यसबाट हुनसक्ने हानी नोक्सानी व्यहोर्नु पर्दैन ।

४. सडक दुर्घटना मोटामोटी तीन कारणबाट हुने गरेको देखिन्छ : (क) मानवीय असावधानी (ख) सडकको दूरावस्था र (ग) निगरानी नियन्त्रणको अभाव । पहिलो कारणमा पर्याप्त अनुभवविनै लामो दूरी र अप्ठ्यारो पहाडी सडकमा सवारी चलाउन थाल्नु । अझ राजमार्गहरूमा पर्याप्त खाली ठाउँ नभईकनै साँघुरोमै अर्का सवारीलाई उछिन्न खोज्नु यसको दुष्परिणाम के देखिने गरेको छ भने कहिले तीन वा सोभन्दा बढी गाडीहरू एकआपसमा जुध्न गई धेरै मानिसको ज्यान जाने र हताहत हुने गरेको छ । त्यस्तै कुनै बेला उछिन्दा सडकबाट बाहिर गई खोँचमा गएर पल्टिदा त्यहाँबाट घाइते र लाश निकाल्न धौ धौ पर्ने गरेको छ ।

अर्थको अभावले र भूवनौटको प्रकृतिले गर्दा हाम्रा सडकहरू हुनुपर्ने मापदण्ड अनुसारका छैनन् । पहाडी राजमार्ग र ग्रामीण सडकको त कुरै छाडौँ । जहाँ खन्न सजिलो कमलो भुसभुसे पहाड भेट्टाउँदै गरेको छ बाटो त्यतैबाट लग्ने गरेको देखिन्छ । टर्निङमा कडा चट्टान पर्न गएमा विपरीत दिशाबाट आउने गाडीलाई मोड नपुगे पनि धेरैजसो ठाउँमा एकतर्फी ट्याक खोलदिएर छाड्ने गरेको पाइन्छ । हुन त हाम्रा माउन्टेनियस टोपोग्राफी पनि बडो बिचित्रको छ जहाँ गाह्रो त्यहीँ साह्रो प्रायः मोडहरूमै कडा चट्टान भेट्टाउने गर्छ ।

अनि फेरि पहाडमा कहीँ-कहीँ त सडकको अर्को किनारमा स्पिड ब्रेक गर्ने होचा होचा पिलर राखिएका हुँदैनन् । अगाडि मोड छ भन्ने संकेत एकआध किमी अगाडिदेखि राख्नुपर्नेमा यस्ता अरू पनि अनेक संकेत चिहृनहरूको प्रयोग गरिएको देखिँदैन । हचुवाको भरमा सडक बनाउनु मानिसको जीवनसँग खेलबाड गर्नु जत्तिकै हुन्छ । त्यस्तै सालसालै पैहिरो जाँदा स्थायी विकल्प खोज्नुको सट्टा त्यसलाई पन्छाउनमा पैसाको खोलो बगाउनु सरकारी ढुकुटी रित्याएर आफूले कमिसन सँगाल्नु नै हो जस्तो देखिन्छ ।

उदाहरणका लागि नारायणगढ मुगलिन सडकखण्डमा वर्षायाममा कहिलेकाहीँ एउटै सिजनमा दोह¥याई तेहर्‍याई पैह्रो खसिरहन्छ, विगत कैयौं वर्षदेखि यस्तै भइरहेको छ । तर, त्यसको स्थायी समाधानन खोजी पैह्रो पन्छाउनमै लागिरहनुको पछाडि के अर्थ हुन्छ ? विज्ञहरूले सर्भेक्षण गरी थाहा पाउनुपर्ने कुरा के हो भने त्रिशूली नदीको वारिपारि कता पैह्रो जाने खतरा न्यून छ नदीमाथि एउटा पुल हालेर पैह्रो छल्नुपर्ने वा त्यस्तो सम्भावना नभेट्टाइएमा कमसेकम १०/१५ वर्षका लागि पैह्रो जान नसक्ने गरी बलियोसँग रिटेन गरी रोकथाम गर्नुपर्छ । सो अवधिपछि फेरि पहिरो जान थालेपछि पुनः सोही वा अर्को विकल्प खोज्ने गर्न सकिँन्छ ।

दुर्घटना न्यूनीकरणका उपाय :
क) सबारी चालक अनुमतिपत्र प्रदान गर्नुमा विशेष ध्यान पुर्‍याउनु पर्ने देखिन्छ । हाल १६ वर्ष उमेर पुगेपछि चालक अनुमतिपत्र प्राप्त गर्न योग्य मानिन्छ । त्यसलाई परिमार्जन गरेर २१ वर्षको उमेर कायम गर्दा दुर्घटनाको जोखिम कम हुनसक्छ । किनभने अहिले हुनेगरेका यी कहालीलाग्दा दुर्घटना कम उमेरका चालकहरूकै कारण बढी हुने गरेका छन् । अर्को विकल्पमा ३० वर्ष काटेका वा दश वर्ष चालक अनुभव सँगालेकाले मात्र लामो दूरीको पहाडी राजमार्ग र समथर राजमार्गमा सवारी चलाउन पाउने नियम बाँधेर सोहीबमोजिम कडाइका साथ अनुगमन गर्नुपर्छ ।

सवारीसाधनको क्षमता अनुसारको मानिस वा लोड राख्न दिने, बढी राखेमा तत्काल ठाउँमै जरिवाना गर्ने अधिकार सम्बन्धित चेकजाँच गर्ने चौकीलाई हुने कानुन बनाउन जरुरी देखिन्छ । नत्र चौकीमा वा चौकीभन्दा अलि वरै बढी राखिएका मानिस ओराली चेकजाँच गराएर अगाडि लगेर बस वा भ्यान रोकेर फेरि मानिसहरूलाई चढाएर लैजाँदा भरखरका अनुभवहीन चालकहरूलाई के थाहा उकालोमा ओभरलोड गाडीले तान्न नसकेर गाडी पछाडि गुडेर ट्याक छाडी खोँचमा खस्ला भनेर ।

यस्ता ड्राइभिङ विधाको पोख्त ज्ञान नभएका चालकले कुनै रोकटोकविना पहाडी अप्ठ्यारो बाटोमा गाडी चलाउँदा त्यसमा सवार कतिलाई घाइते पार्दै कतिकोे जीवनलीला समाप्त पार्दै आफ्नो छोटो जीवनलीला पनि इतिश्री गर्नेगरेको देखिन्छ । थोत्रा, इन्जिन जीर्ण भएका लामो अवधि चलिसकेका बस र अन्य सवारी पहाडको अप्ठ्यारो बाटोमा चलाउन दिँदा यस्ता हृदयविदारक दर्दनाक घटना हुनेगरेको देखिएका छन् । त्यस कारण एउटा निश्चित अवधि चलिसकेपछिका गाडीहरू सडकमा दघुर्नबाट वञ्चित गरिनुपर्दछ । माथि उल्लेखित सुझावलाई मनन् गर्दै यी कहालीलाग्दा दुर्घटना न्यूनीकरण गर्न राज्यसंयन्त्रले विशेष ध्यान दिनैपर्ने देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?