पिएम कप : नेपाल पुलिस क्लब सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको समूह चरणको तेस्रो खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै पुलिसले समूह ‘बी’ बाट सेमिफाइनलमा स्थान पक्का गरेको हो । जितका लागि १०९ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले ३७.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । पुलिसको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले ६६ बलमा ४३ रन जोड्नुभयो । यस्तै, सुनिल धमलाले २६ बलमा ४ चौका र २ छक्कासहित ३६ तथा अमित श्रेष्ठले ३५ बलमा ५ चौकासहित २ रन जोड्नुभयो ।

पुलिसका ओपनर कुशल भुर्तेलले ४१ बलमा २ चौकासहित ३२ रन बनाउनुभयो । त्यसबाहेक आरिफ शेख ५१ बलमा ५ चौकासहित ३५ रनमा आउट हुनुभयो । लुम्बिनीका स्पिनर अनिल खरेलले १० ओभरमा १ मेडनसहित ३१ रन खर्चेर २ विकेट लिनुभयो । दुर्गेश गुप्ता र मोहम्मद हुसेनले एक÷एक विकेट लिनुभयो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी प्रदेश ४४.२ ओभरमा सबै विकेट गुमाएर १०८ रनमा रोकियो । लुम्बिनीका लागि कप्तान देव खनालले ८ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७४, विशालविक्रम केसीले ३८ बलमा ३ चौका र १ छक्कासहित ३० रन बनाउनुभयो ।

पुलिसका दीपेन्द्रसिंह ऐरीले १० ओभरमा ५५ रन खर्चेर ४ विकेट लिनुभयो । करण केसी ७ ओभरमा २ मेडनसहित १९ रन खर्चेर २ तथा सागर ढकालले ७.२ ओभरमा २९ रन खर्चेर २ विकेट लिनुभयो ।

पुलिसले समूह ‘बी’ को पहिलो खेलमा बागमतीलाई १९२ रन र प्रदेश एकलाई ७ विकेटले हराएको थियो । पुलिसले अब अन्तिम खेल मधेशसँग कात्तिक २२ मा टियु मैदानमा खेल्नेछ । समूह ‘बी’ मा पुलिस तीन खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । लुम्बिनीले पहिलो खेलमा बागमती प्रदेशलाई ८ विकेटले हराएको थियो । लुम्बिनीले अब मधेशसँग आइतबार खेल्नेछ ।

यता मूलपानी मैदानमा भएको खेलमा मधेश प्रदेशले पहिलो खेलमा प्रदेश-१ लाई ७२ रनले हराएको छ । मधेशले दिएको २१५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश–१ ले ४३ ओभर १ बलमा अल आउट हुँदै १४२ रनमात्र बनाउन सक्यो ।

प्रदेश–१ का लागि लुभ कामतले सर्वाधिक २९ रन बनाउनुभयो । विवेक आनन्द मेहेताले २५ रन जोड्दा फिर्दोश अन्सारीले २२ रन जोड्नुभयो । मधेशका लागि आदील आलम, रुपेश सिंह, प्रदिप पासवान र विशाल सुलिङले २/२ विकेट लिनुभयो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेशले ४८ ओभर १ बलमा अलआउट हुँदै २१४ रन बनाएको थियो । मधेशका लागि अनिल शाहले ६१ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । विवेक यादवले ३२ रन जोड्दा रुपेश सिंहले ३० रन जोड्नुभयो ।

प्रदेश-१ का फिर्दोश अन्सारीले ५ विकेट लिनुभयो । सिद्धान्त लोहनीको नाममा ३ विकेट रहृयो । यस जितसँगै समूह ‘बी’ मा रहेको मधेशले एक खेलमा दुई अंक जोडेको छ । प्रदेश-१ ले तीन खेलमा दुई अंक जोडेको छ ।

प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेश गरी कुल १० टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, बागमती, लुम्बिनी, मधेश र प्रदेश १ रहेका छन् ।

आयोजक नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रधानमन्त्री कपको विजेताले १० लाख र उपविजेता टोलीले पाँच लाख पाउनेछन् । सेमिफाइनलमा पुग्ने टोलीले ५०-५० हजार पाउनेछन् । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको उत्कृष्ट ब्याटर र बलरले समान २० हजार पाउनेछन् । प्रतियोगिताको उदीयमान खेलाडीले १० हजार प्राप्त गर्नेछन् । प्लेयर अफ द म्याचले पाँच हजार पाउनेछन् । प्रतियोगिताको अनुमानित कुल बजेट एक करोड ५० लाख छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ६० लाख सहयोग गर्नेछ भने बाँकी रकम क्यानले जुटाउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?