चुनावी एजेण्डामा सीमित लोकमार्गः २५ वर्षमा पनि भएन कालोपत्रे

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङ-घोँडाबाँधे सडकको ट्रयाक खुलेको २५ वर्ष पुग्यो । सडक कालोपत्रेका लागि निर्माण कम्पनीसँग सम्झौता भएको पनि एक दशक पुग्नै लाग्यो तर अहिलेसम्म कालोपत्रे हुन सकेको छैन । सडक निर्माण भएपछि धेरै पटक निर्वाचन भए । अहिलेसम्म भएका निर्वाचनहरुमा उम्मेदवारहरुले यो सडक कालोपत्रे गर्ने विषयलाई मुख्य एजेण्डा बनाउँदै आए । तर काम भने भएन ।

आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विभिन्न दल तथा स्वतन्त्र रुपमा उम्मेदवार बनेकाहरुले पनि घोषणा पत्रको मुख्य बुँदामा यो सडक कालोपत्रे गर्ने लेखेका छन् । हरेक निर्वाचनमा उम्मेदवारको प्रमुख एजेण्डा बन्ने यो सडक कालोपत्रे नहुँदा मतदाताले अहिले पत्याउनै छोडिसके । नेताहरुले भोट फुत्काउन आफूहरुको आँखामा छारो बर्साएको मतदाता बताउँछन् ।

काठेखोला गाउँपालिका-५ का स्थानीय मनप्रसाद कँडेल भन्नुहुन्छ-“सडक कालोपत्रे गर्ने कुरा जब चुनाव आउँछ, तब मात्रै उठ्छ, चुनाव सकिएपछि नेताले कुर्सी पाउँछन्, जनताले आहात, अहिलेसम्म कालोपत्रे गर्छौँ भनेर हाम्रो आँखामा छारो बर्साए, मत पाउनलाई अनेक तिकडम गरे, सडकको हालत उस्तै छ, अहिले पनि फेरि सडक कालोपत्रे गरेरै छोड्छौँ मत दिनु भन्दै आएका छन् ।”

कँडेलले राष्ट्रिय गौरवको आयोजनाको हालत नै खराब हुँदा जनप्रतिनिधिहरु गम्भीर नहुनुमा निर्माण कम्पनीसँग मिलेमतो हुन सक्ने बताउनुहुन्छ । सडक खुलेको साढे दुई दशक पुरा हुँदा पनि कालोपत्रे नहुँदा यात्रु, चालक र स्थानीयले निकै सास्ती खेप्नु परेको उहाँले बताउनुभयो । वर्षातमा हिलो र हिँउदमा धुलोले गर्दा सडक छेउछाउँकाले बसाइँसराइ गर्न बाध्य भएको कँडेलको भनाई छ ।
“हामीहरुले यो सडकको हिलो र धुलो खाएर बसेको २२/२५ वर्ष भयो, हिउँदमा धुलोले घरनै देखिदैन सबै धुलैधुलो हुन्छ, खानाको भागदेखि सुत्ने बिस्तरासम्म धुलो हुन्छ, बर्खामा हिलोले बाहिर निस्किनै नसक्ने हुन्छ,” कँडेलले भन्नुभयो-“सडकको अवस्था यस्तो भएको अहिले होइन, यो त वर्षौँ भयो, नेताहरुले काम गरि हाल्छौँ भनेको पनि कयौँ वर्ष बित्यो तर हालत उस्तै छ, हिलो र धुलोका काँरण यस क्षेत्रबाट धेरैले बसाइँसराइ गरि सके, धेरै विस्थापित भए, त्यो पीडा हामीलाई छ, नेतालाई जिते र पद पाए पुग्छ, पछि घुमेर आउनु पर्दैन ।”

स्थानीय सुरेश पुनले अघिल्लो पटक भोट माग्न आएका उम्मेदवारले छ महिना भित्रै कालोपत्रे गर्छु भनेर आश्वासन देखाएको भन्दै जितेर एक पटक आफूहरुलाई भेट्नसमेत नआएको बताउनुभयो । उहाँले सडक बनाउने प्रतिबद्धा गरेपछि आफूहरुले मत दिएको र उक्त मत खेर गएको बताउनुहुन्छ । “अघिल्लो निर्वाचनमा एक जना नेताले मैले जिते भने सबैभन्दा पहिलो यो सडक बनाउने छु भनेर हामीसँग प्रतिबद्धता जनाउनुभयो, चुनाव पनि जित्नुभयो तर काम गर्नु त टाढाको कुरा भयो जितेर एक पटक हामीहरुलाई धन्यवादसमेत भन्न आउनु भएन” पुनले भन्नुभयो ।

उहाँले यो सडकको कारण वर्षौँदेखि हजारौँ यात्रुले दुःख पाउँदै आएको बताउनुभयो । पुनले आफूहरुले सडक कालोपत्रेका लागि बारम्बार निर्माण कम्पनी र नेताहरुलाई भने पनि कुनै सुनुवाई नभएको गुनासो पोख्नु भयो । उहाँले आफूहरु भोट माग्नका लागि उम्मेदवारहरुले अनेक आश्वासन दिएको भन्दै यस पटक सोचेर भोट हाल्ने मनशय बनाएको बताउनुभयो ।

यस सडकमा यात्रा गर्दा हप्तामा गाडीको पार्टपुर्जा फेर्नु पर्ने गाडी चालक लोकेन्द्र घर्तीले बताउनुभयो । उहाँले सडकमा निकै खाल्डाखुल्डी हुँदा यात्रु र गाडीवालाले सास्ती खेप्नु परेको बताउनुभयो । घर्तीले यो सडकका कारण गाडी व्यवसायीहरुले समय-समयमा दुल्ख पाइराखेको बताउनुभयो ।

“यो बाटोमा गाडी चलाउन लागेको १३ वर्ष बढी भयो, सुरुमा जस्तो अवस्था थियो अहिले पनि उस्तै छ, सडकका खाल्डाखुल्डी कसले पुर्ने, नाली कसले बनाउने ?, कयौँ पटक चालकहरु मिलेर बाटो बनाउँदै यात्रा गर्‍यौँ, त्यो संभव नहुँदो रैछ,” उहाँले भन्नुभयो-“सडकको दुरावस्थाका कारण कयौँ पटक गाडीको टायर पड्किएर, पट्टा भाँचिएर सडकमौ बास बस्नु परेको छ, यहाँका नेताहरु के भएका हुन्, चुनावका बेला छिटै कालोपत्रे गर्छौँ भन्छन्, अरु बेला वास्तै गर्दैनन् ।”

उपल्लाचौरदेखि अक्षेते-बिहुँ खण्ड कालोपत्रेका लागि २०७३ माघ १४ गते भारत/सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी/एससिएफ/इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा कालोपत्र गर्ने ठेक्का सम्झौता गरेका थिए । तर निर्माण शुरु भएको यतिका वर्षसम्म कालोपत्रे हुन सकेको छैन ।

कुल एक हजार ७७६ किलोमिटर लोकमार्गको बागलुङ खण्डमा मात्रै १४२ किलोमिटर पर्छ । जसमध्ये बागलुङमा अब करिब १८ किलोमिटर मात्रै सडक कालोपत्र गर्न बाँकी छ । बागलुङको लाइफलाइनसंग जोडिएको मध्यपहाडी लोकमार्ग जिल्लाको दुर्गम स्थान निसीखोला, ढोरपाटन, गलकोट र बडिगाडमा कालोपत्रे भइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?