नगरपालिकाले ठेकेदारको मेसिनमा लगाएको ताला खोलियो

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 4 mins

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ढुकुचु/बगाले/विएण्टी जेभी सिन्धुपाल्चोककोे लफ्याङमा राखिएको एस्काभेटर र ब्याग लोडरमा लगाएको ताला खोलेको छ ।

जिल्ला अस्पताल चोकदेखि लफ्याङ सडकखण्डको दुवेछिवा खेलमैदानसम्म ३७ सय मिटर सडक ग्राभेलको अलपत्र कामलाई निरन्तरता दिने भनि ठेकेदारले नगरपालिकासँग कबुलियतनामा गरेपछि शनिबार ताला खोलिएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई, नगर प्रवक्ता तथा लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे र दिक्तेलका वडाध्यक्ष नवराज राई शनिबार लफ्याङ पुगेर ताला खोल्नुभयो ।

नगरभित्र सञ्चालित योजना अलपत्र पारी अन्तै मेशिनरी औजार लान खोजेपछि ठेकेदारको मेसिनमा नगरपालिकाले २० कार्तिकमा तालाबन्दी गरिदिएको थियो । सडकको काम गरिरहेका तीन निर्माण कम्पनीमध्ये बगाले थापा कन्ट्रक्सनका प्रतिनिधि कुमार भण्डारी र विएनटी निर्माण सेवाका प्रतिनिधि मोहन श्रेष्ठले शुक्रबार नगरप्रमुख तीर्थराज भट्टराई समक्ष कबुलियतनामा गरी हस्ताक्षर र औठाछाप गरेको थियो ।

कबुलियतनामा गरेकै मितिबाट सडकको कटिङ, नाला सफा गर्ने, खाल्डाखुल्डी पुर्ने कामलाई अगाडि बढाउने र बाँकी काम मंसिर १० गतेबाट कुनै पनि हालतमा तीव्र गतिमा काम गर्ने भनिए पनि समय अभावका कारण त्यसको भोलिपल्ट मात्रै मेसिनमा लगाईएको ताला खोलिएको हो ।
जेभीले २०७९ पुस २८ गतेमा सडक ग्राभेलको काम सक्ने गरी २०७८ जेठ २० गते सडक डिभिजन कार्यालय ओखलढुंगासँग भ्याटसहित ५ करोड ६ लाख ५५ हजार ५८६ रुपैयाँमा सम्झौता गरेको थियो । यद्यपी, निर्धारित समयमा काम नसकिने देखिएको छ । सडकको काम अलपत्र हुंदा साकेला गाउँपालिकादेखि जिल्ला अस्पताल र सदरमुकाम आउन सबैभन्दा बढी समस्या छ ।

विभिन्न सरकारी कार्यालयको वजेटबाट नगरपालिकाभित्र सञ्चालित १७ वटा योजनाहरु अलपत्र परेपछि नगरपालिकाले ३ असोजमा पत्रकार सम्मेलन गरेर उक्त योजना सञ्चालन गरिरहेका निर्माण व्यवसायी तथा कम्पनीलाई ३५ दिनभित्र नगरसँग सम्पर्क गरी हालसम्म भएको कामको विवरण बुझाउन अल्टिमेटम दिएको थियो । विवरण बुझाउन तोकिएको १७ दिन वित्दा उक्त जेभीले विवरण बुझाउनुको सट्टा निर्माणस्थलबाट उल्टै मेशिनरी सामान लैजान खोजेको थियो ।

नगरभित्र सञ्चालित अन्य १६ वटा योजनाले पनि ३५ दिनभित्र प्रगति विवरण नबुझाएमा र उक्त समयभित्र काम पुनः सुचारु नगरेमा निर्माण व्यवसायीहरुलाई कानून बमोजिमको हदैसम्मको कारवाहीको लागि नियमक निकायमा शिफारिस गरिने नगरप्रमुख भट्टराईले बताउनु भएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?