राजनीतिमुक्त शिक्षा, भ्रष्टाचारमुक्त शासन अपरिहार्य

Read Time = 14 mins

✍️ स्वयम्भुनाथ कार्की

चक्रवर्ती सम्राट अशोकको निमित्त बहादुरी सौर्य आदिको परिभाषा नै बदलियो । कलिङ युद्धको भीषण नरसंहारले विजयको स्वाद नै फिक्का पार्‍यो । उनी रगतको खोला तरेर पाएको विजयभन्दा शान्तिको ज्यादा महत्व देख्न थाले । फलत मौर्य साम्राज्यको निमित्त कलिङ युद्ध नै अन्तिम युद्ध भयो । सम्राट स्वयं बौद्धमत प्रचारक भए । आज उनैले लुम्बिनीमा ठड्याएको ‘अशोक स्तम्भ’ का प्रमाणले नेपालीले ‘बुद्ध नेपालमा जन्मेको’ भन्न पाएको छ । तरवारका महारथी सम्राट अशोक बौद्धमतका ठूला अनुयायी भए तर यो पनि तुरन्त भएन आचार्य उपगुप्तको चेला बनेर प्रक्रिया पूरा गर्नै पर्‍यो । नरभक्षीका सिकारी जिम कोरबेट अर्थात् एडवर्ड जेम्स करवेट वन्यजन्तु संरक्षक बनेको इतिहास पनि कथा भइसकेकोे छैन । वर्तमानमा उनलाई उनको सिकारको रोमाञ्चक वर्णनका कितापले चिनाएका छैनन ।

उनलाई पहिले आफूले शिकार गर्ने गरेका बाघ, चितुवा आदिको संरक्षण गर्ने कामले चिनाएको छ । जिम कारवेटका नामका अभयारण्यहरूले ज्यादा राम्रोसँग चिनाएको छ तर यो उनको सम्पूर्ण रूपान्तरण भने होइन, किनभने उनले नरभक्षीबाहेक अरू जनावरलाई मारेनन् । कुनै इलाकालाई नरभक्षीको आतंकबाट मुक्त गर्न उनलाई बोलाइन्थ्यो । तैपनि बाघ चितुवाका शिकारी त्यही बाघ चितुवाको संरक्षक बन्नु एक प्रकारको रूपान्तरण नै हो । रत्नाकरको दुर्दान्त डाकाबाट ऋषि वाल्मीकिमा कायाकल्प भयो ।

भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने गफ झैँ लाग्ने नारा धेरै भयो । जति चर्को स्वरले यो नारा लाग्छ त्यति नै कसैले कल्पना पनि गर्न नसक्ने रकमका भ्रष्टाचार भएका कुराहरू आउने गरेका छन् । भ्रष्टाचार रोक्छु भन्नेहरूले नै भ्रष्टाचार गर्ने गरेका छन् ।

यो सर्वाधिक दिने गरिएको उदाहरण हो तर जादुले छुमन्तर गरेको जस्तो वा बिजुलीको स्विच दवाए जस्तो निमेषमै यो कायाकल्प भएको थिएन । लोकोक्तिअनुसार रत्नाकरले ‘राम’ पनि भन्न सकेनन् अनि त्यसको उल्टो ‘मरा’ लगातार जपेर कायाकल्प प्रक्रियामा पसे । लामो समयपछि जब कुनै बेलाको दुर्दान्त डाका, हत्यारा ब्यधाले चरा मारेको देख्दा पनि करुणा जाग्ने भयो । जब त्यो डाका ब्याधालाई ‘मा निषाध....’ भनेर श्राप दिन पुगे तब वाल्मीकिमा रूपान्तरण भए ।

ज्यादाजसो हिजोको आफू या आफ्नो आस्थाका व्यक्ति बदलिएको हुनसक्ने कुराको उदाहरणको निमित्त पेश गर्ने गरिएका यी केही प्रमुख नामहरू हुन् । यहाँ यसको उल्लेखको गर्नुको प्रयोजन के हो भने यस्ता रूपान्तरण या कायाकल्प हिँड्दाहिँड्दै ठेस लागेर बाटो बदले जस्तो गरेर हुँदैनन् । हो बदलिने सोच भने कुनै एक पल, एक घटना वा एक अनुभव आदिले हुन सक्छ तर त्यो कायाकल्पको प्रक्रिया सुरु भएपछि फिर्ता हुने बाटो हुँदैन । कमलकोटीले प्वालभित्र हालेर थुनिसकेपछि त्यसको लार्भा कमलकोटीमा कायाकल्प भएर नै निस्कन्छ कि त्यहीँ समाप्त हुन्छ । यसरी नै रूपान्तरण हो भने कि रूपान्तरण हुनुपर्‍यो कि समाप्त हुनुपर्‍यो, प्रचण्ड वाणी जस्तो केही पलमा जंगबहादुर हुने अर्को पलमा बुद्ध पनि हुने गफ हुनु भएन ।

भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने गफ झैँ लाग्ने नारा धेरै भयो । जति चर्को स्वरले यो नारा लाग्छ त्यति नै कसैले कल्पना पनि गर्न नसक्ने रकमका भ्रष्टाचार भएका कुराहरू आउने गरेका छन् । भ्रष्टाचार रोक्न भनेर जनताको पैसा राजस्वबाट पालिएकाले नै भ्रष्टाचार गर्ने गरेका भेटिएका छन् । त्यस्ताहरू कुनै न कुनै दलहरूका भातृसंगठनका भएका कुरा लुकाइएका पनि छैनन् । वामगठबन्धन भनिने चौधानी सरकारमा (केवल मोटा र मसिना छुट्याए सबै जातका धानको मिसिएको धानलाई चौधानी भनिन्छ) सामेलहरूमध्ये नै कति त यस्तैमा लिप्त तर कानुनको छिद्रबाट भाग्न सफलहरू छन् ।

त्यसैले यो गफ झैँ लाग्ने नारा हो, मात्र नाराको निमित्त दिएको नारा हो भन्न धक मान्नु पर्दैन । लगातार परिवर्तन हुने घटकहरूसँगका तालमेल या गठबन्धन अनि त्यसको क्षणभंगुरताको कारण दण्डबाट उन्मुक्तिको प्रयत्न भनियो भने त्यो अतिसयोक्ति लाग्न छोड्ने बेला भयो । गठबन्धन यस्तो आवश्यकता हुन गयो कि अब यसमा बाम, काङ परिवार मिल्न आवश्यक भएन । आगो र पानीको सिद्धान्त बोक्नेहरूबीच पनि गठबन्धन सहज भयो ।

भ्रष्टाचारमा सजाय भुक्तान गरेका हरेक नेताहरू किन अझै कार्यकर्ता तथा पार्टीका निमित्त महत्वपूर्ण छन् । अनि केको नैतिकबलमा समाजमा उपस्थिति देखाउँछन् ? स्पष्ट छ त्यो भ्रष्टाचार उनीहरूले आफ्नो व्यक्तिगत लाभको निमित्तमात्र होइन पार्टी र उच्च नेताको निमित्त पनि गरेका थिए । किन पानीट्यांकीमा बरामद नोटका बिटाको कुरा सामसुम पारियो ? भन्नै पर्दैन त्यो रकम पार्टी र शीर्षनेताको थियो । यो केबल फलाना नेता र उनको पार्टीको मात्र कुरा होइन । सन्त नेता भनिने किशुनजी आफ्नै चेलाहरूको महत्वाकांक्षा पूरा गर्न नसक्ने भएपछि कुना लगाइए ।

एक निर्वाचनमा प्रतिपक्षमा हुनुपर्ने बित्तिकै आफैँले चुनेको नेताको विरुद्ध कांग्रेसीहरूको प्रहार बुझ्न कठिन छैन । त्यसै पनि अनौपचारिक रूपमा ‘जोगी बन्न राजनीति गरिएको होइन’ भन्ने भनाइ अब औपचारिक रूपमै आउँदैछ । सिंहदरबारको अधिकार आएको भनिएको स्थानीय तहमा कुनै कुरा आपूर्ति गर्ने व्यापारीहरूलाई सोध्नुपर्छ दश रुपैयाँको समानको बिल पारित गर्न पन्द्र रुपैयाँ कमिसन दिनुपरेको गुनासो पाइन्छ । सुविधा मागेर जनप्रतिनिधिहरू आन्दोलन गर्न थालेका छन् । यस्तोमा भ्रष्टाचारमुक्त शासन ठट्टा होइन । ठट्टा गरिनु पनि हुँदैन, यदि शासन आफैँ भ्रष्टाचारमा चुर्लुम्म डुबेको छैन भने विनाविलम्ब गरेर देखाउने हो नारा दिने होइन ।

कुनै कालखण्डमा सरकारी तलब खाएर शिक्षा दिने काममा दिइएका शिक्षकहरूले पढाउने कम र राजनीतिक कार्यकर्ता उत्पादन गर्ने काम ज्यादा गरे । कलिला बालबालिकाको दिमागमा शिक्षाको साटो तत्कालीन व्यवस्थाको विरोध र कुनै पार्टीप्रति आस्था ज्यादा फलाए । विद्यालयबाटै राजनीति सुरु गरेर अहिले त्यही त्याग तपस्याको आधारमा विभिन्न पदमा स्थापित हुनेहरू शिक्षकको जागिरको उपयोग गरेर राजनीतिक चेतना (?) फलाउन सफल भएको कुरा सगौरव प्रस्तुत गर्दछन् । त्यसैले यस्ताले भनेकाले यो कुरा पत्याउन करै लाग्छ । उनीहरू राजनीति गर्ने शिक्षकहरूकै प्रयत्नबाट निर्वाचित हुन सफल भएका हुन् तर अहिले तत्वज्ञान भएको छ शिक्षकले राजनीति गर्नु हुँदैन । कम से कम माध्यामिक तहसम्म विद्यार्थी पनि राजनीतिमुक्त हुनैपर्छ ।

कुरो उनीहरूको तत्वज्ञान सही वा गलतको होइन, कुरा उनीहरूकोे डरको हो । जुन चेतनाको प्रचारप्रसारले उनीहरू अनुकूल युगान्तकारी (?) परिवर्तन भयो त्यो बाटो बन्द गर्न आवश्यक ठान्छन् । त्यो बाटो उनीहरूको विपक्षमा प्रयोग गर्न नपाउन् भन्ने चाहन्छन् । यो कुरा लुकाएका पनि छैनन् । अब मुलुकमा थप राजनीतिक चेतनाको आवश्यकता छैन भन्ने सोचको उपज हो यो कुरा ।

अब सबैले आर्थिक विकास गर्नुपर्छ र उनीहरू जस्ता राजनीतिक प्राणीलाई पाल्नुपर्छ । नेपालमा अब थप चेतनाको आवश्यकता छैन, पुरानो कुरा बदलिएपछि अब केही बदल्न आवश्यक छैन भन्ने तर्कले शिक्षक र विद्यार्थी राजनीतिमा बन्देज गर्न खोजिएको भए त्यो ठीक होइन । तर, विद्यालय राजनीतिमुक्त हुनुपर्छ भन्ने कुरा भने गलत होइन । त्यसैले यो ठट्टा पनि होइन र ठट्टामा सीमित पनि हुनुहुँदैन ।

चाहे रत्नाकरको वाल्मीकिमा रूपान्तरण होस् वा सम्राट अशोकको बौद्ध दिक्षा सबैमा परिवर्तन देखिएको छ । आफूले पहिले गरेको काम गलत थियो भन्ने मान्यता छ, आफ्नो त्यो कर्मको पश्चाताप छ । वाल्मीकिले आफूले रत्नाकर भएर गरेको कामलाई त्यस बेलाको आवश्यकता भएकाले सही थियो भनेनन् ।

चाहे रत्नाकरको वाल्मीकिमा रूपान्तरण होस् वा सम्राट अशोकको बौद्ध दिक्षा सबैमा परिवर्तन देखिएको छ । आफूले पहिले गरेको काम गलत थियो भन्ने मान्यता छ, आफ्नो त्यो कर्मको पश्चाताप छ । वाल्मीकिले आफूले रत्नाकर भएर गरेको कामलाई त्यस बेलाको आवश्यकता भएकाले सही थियो भनेनन् । सम्राट अशोकले आफ्ना बाजेले जोडेको र आफूले उचाइमा पुर्‍याएको मौर्य साम्राज्य नै समाप्त हुन दिए तर पहिला आफूले गरेको काम सही हो भन्ने तर्क गरेनन् । अशोकपछि केही दशकमै त्यो शक्तिशाली मौर्य साम्राज्य समाप्त भयो । त्यसैले राजनीतिमुक्त शिक्षा र भ्रष्टाचारमुक्त शासन कुनै दिवास्वप्न होइन असम्भव चिन्तन पनि होइन ।

यो सरल र तुरुन्त हुनसक्ने कुरा हो यदि इच्छाशक्ति भयो भने । जनता मुर्ख बनाउन, काम गर्दैछौँ भनेर देखाउनमात्र यो नारा हो भने यसभन्दा ठूलो भ्रष्ट आचरण अरू के हुनसक्छ ? कलिला मनमस्तिष्कमा कुनै कुरा बलात भरेर मान्छेको चिन्तन क्षमता नै समाप्त पार्नु कहिल्यै ठीक थिएन । न यस्ता कुरा भविष्यमै ठीक ठहरिन्छन । यो त मानवताप्रतिको अपराधको श्रेणीमा आउने काम हो ।

मानवको सबैभन्दा ठूलो शक्ति नै चिन्तन क्षमता र त्यस चिन्तनले निकालेका निष्कर्ष प्रयोग गर्ने कुशलता हो । यसै योग्यताको भरमा अन्य प्राणीभन्दा मानव श्रेष्ठ भएको हो । यसमा आएको ह्रासले मानव जातिलाई अस्तित्वको संकटतर्फ लैजान्छ । त्यसैले राजनीतिमुक्त शिक्षा र भ्रष्टाचारमुक्त शासन ख्यालठट्टाको विषय होइन । वर्तमानमा देखा परेका विकृतिहरू कुनै समयमा कलिला बालकमा बलात कोचाइएका मान्यता र चिन्तनको समाप्त पाएिको धरालत हुनसक्ने सम्भावना सिधै अस्वीकार गर्न सकिँदैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?