पाल्पामा चार नयाँ अनुहारको उदय, प्रदेशमा भने दुुई सांसद दोहोरिए

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 10 mins

पाल्पा । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणना देशभर जारी छ । कतिपय निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ, भने केही ठाउँहरुमा जारी नै छ । यसपटकको निर्वाचनमा मूलधारका राजनीतिक दलहरूलाई स्वतन्त्र र नयाँ दलले चुनौती दिएका छन् । जनताले पनि मूलधारका राजनीतिक दललाई भन्दा पछिल्लो समय नयाँ र स्वतन्त्र उम्मेदवारलाई मत दिएका छन् । देशभरको नतिजालाई हेर्ने हो भने पनि तीन महिना अघि मात्रै दर्ता भएको रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी, राजतन्त्रको मुद्दा बोक्ने राप्रपा र केही नयाँ स्वतन्त्र व्यक्तिहरु जनताको नयाँ खोजीमा परेका अनुहार हुन् । यिनीहरुले लामो समय देखि विरासत बोकेका कांग्रेस, एमाले र माओवादी दलको गढ भत्काउँदै आफ्नो झण्डा गाडेका छन् । अझ केही ठाउँहरुमा दलहरुबाटै पटक-पटक एउटै व्यक्तिले राज गर्दै आएका ठाउँहरुमा समेत नयाँ अनुहारले जित हात पारेका छन् ।

पाल्पामा पनि चार नयाँ अनुहारको उदय भएको छ । दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार प्रदेशसभा रहेको यहाँ निर्वाचित भएका मध्ये चार जना सांसद नयाँ हुन् । जसमा दुुई जना प्रतिनिधि सभा र दुुई जना प्रदेश सभामा नयाँ अनुुहार आएका छन् । उनीहरु पहिलो पटक संसद् टेक्दैछन् । क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकै ठाकुरप्रसाद गैरे निर्वाचित हुनुुभएको छ । उहाँ नयाँ हुनुुहुन्छ । उहाँले पूर्व उद्योगमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयलाई ३ हजार ९ सय ६६ मतान्तरले पराजित गर्नुभएको हो । गैरेले २७ हजार ८ सय १७ मत ल्याउनुभयो भने पाण्डेयले २३ हजार ८ सय ५१ मत ल्याउनुभएको छ ।

यस क्षेत्रमा तत्कालिन एमालेमा हुँदा पाण्डेयले पटक पटक निर्वाचन जित्दै आउनुुभएको थियो । तर अहिले उहाँ एकिकृत समाजवादीमा गएपछि गठबन्धनको सहारामा अहिले चुनाव लड्नु भएको थियो । तर पटक-पटक निर्वाचन जित्दै आउनुुभएका पाण्डेयलाई यसपाली जनताले हराईदिए । यस क्षेत्रमाअहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले ५ हजार १ सय ८०, मंगोल नेशनल अर्गनाइजेसनका मनबहादुर दर्लामीले १ हजार ४ सय ८८, राष्ट्रिय जनमुक्ति पार्टीका हुमबहादुर थापा मगरले ५ सय १५ र स्वतन्त्र उम्मेदवार उपेन्द्रराज गहिरेले ५ सय १, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका खडानन्द गैरेले २ सय, जनसमाजवादी पार्टीका देवबहादुर हिस्कीले १ सय १०, जनता समाजवादी पार्टीका दुर्पाता साेमैले १ सय ९, नेपाल आमा पार्टीका ताराबहादुर खत्रीले ९९, स्वतन्त्र उम्मेदवार जीवलाल सुवेदीले ८८, नेपाल मजदुर किसान पार्टीका शिव सुन्दर दुख्वाले ३५ र स्वतन्त्र केशवबहादुर आलेले ७ मत पाएका छन् ।

यस्तै क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नारायण आचार्य पनि नयाँ हुनुहुन्छ । यद्यपी उहाँ यस अघि प्रदेश सभा सदस्य हुनुहुन्थ्यो । संघीय सांसदका लागि भने उहाँ नयाँ हो ।आचार्यले ३१ हजार १ सय ३ मत ल्याई विजयी हुनुभयो । निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार ज्ञानबहादुर गाहालाई १० हजार ८ सय ४७ मतान्तरले पराजित गर्दै आचार्य निर्वाचित हुनुभएको हो । पराजित गाहाले २० हजार २ सय ५६ मत ल्याउनुुभयो ।

यस क्षेत्रमा २०५१ देखि नै एमालेले एक क्षेत्र निर्वाचन जित्दै आएको छ । यस अघिका निर्वाचनमा एमालेबाट अरु नै चुनाव लडेका थिए । अहिले यहाँ स्वतन्त्र उम्मेदवार विपिन कंडेलले २ हजार ८ सय ६३ मत ल्याएर तेस्रोमा छन् । यस्तै मंगोल नेशनल अर्गनाइजेसनका थम्मनबहादुर बूढा मगरले १ हजार ९ सय १६, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर सिंजालीले २ सय ४४, राष्ट्रिय जनमुक्ति पार्टीका उजर सिं दर्लामीले १ सय ९, स्वतन्त्र उम्मेदवार राजु सुनारले ६६, जनता समाजवादी पार्टीका मेहरमान रानाले ५०, स्वतन्त्र उम्मेदवार नारायण न्यौपानेले २१, अर्का स्वतन्त्र डोलराज तिमिल्सीनाले ७ मत प्राप्त गरेका छन् ।

यस्तै, नेकपा एमालेका राजुप्रसाद श्रेष्ठ पनि नयाँ हुनुहुन्छ । उहाँ निर्वाचन क्षेत्र नं.१ (१) को प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । श्रेष्ठले नेपाली काँग्रेसका श्यामकान्त खनाललाई ५ हजार ३ सय ९० मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । श्रेष्ठले १७ हजार ६ सय ४२ मत ल्याउनुभयो भने उहाँका प्रतिद्वन्द्वी खनालले १२ हजार २ सय ५२ मत ल्याउनुभयो । यस्तै प्रदेशसभामा मंगोल नेशनल अर्गनाइजेसनका पूर्णबहादुर रुचालले २ सय ६०, राष्ट्रिय प्रजातन्त्र पार्टीका डुलबहादुर गाहाले ४ सय ३१ मत प्राप्त गरेका छन् । यस्तै घर चिह्नका भिमसेन सुनारी मगरले ८० मत पाएका छन् ।

क्षेत्र नं. १ (२) को प्रदेश सभा सदस्यमा निर्वाचित एमालेका खेम सारु पनि नयाँ हुुनुुहुन्छ । उहाँले १४ हजार २ सय ९६ मत ल्याएर निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शंकर खनाललाई पराजित गर्नुभएको हो । काँग्रेसका खनालले ९ हजार ५ सय ५ मत ल्याउनुुभयो । विजयी सारु शिक्षक पेशाबाट राजनीतिमा आउनुभएको हो । यहाँ मंगोल नेशनल अर्गनाइजेसनका लालबहादुर दर्लामीले २ हजार ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मणप्रसाद पंगेनीले ३ सय ७४, राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर रानाले १ सय ६५ मत प्राप्त गरेका छन् ।

यस्तै निर्वाचन क्षेत्र नं.२ (१) को प्रदेशसभामा विजयी नेपाली काँग्रेसका वीरबहादुर राना भने दोहोरिनुभएको छ । उहाँ २०७४ को निर्वाचनमा समानुपातिकबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । रानाले प्रदेशको विकास र समृद्धिको क्षेत्रमा उल्लेखीय काम गरेकाले यहाँका मतदाताले पुनः दोहोर्‍याएका हुन् । रानाले १६ हजार ३९ मत प्राप्त गरी निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका परशुराम भट्टराईलाई हराउनुभयो । उहाँ लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री समेत हुनुुहुुन्छ । यहाँ मंगोल नेशनल अर्गनाइजेसनका लक्ष्मण गाहाले १ हजार ५ सय ९७, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु गैरेले १ हजार ५ सय २० मत प्राप्त गरेका छन् ।

यस्तै घर चिन्हमा ३ सय ५१, छातामा १ सय ६३ र मादल चिन्हमा ७७ मत खसेको छ । यस्तै निर्वाचन क्षेत्र नं २(२) प्रदेश सभामा निर्वाचित नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती पनि दोहोरिनेमा पर्नुहुन्छ । उहाँ २०७४ को निर्वाचनमा पनि प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ओमबहादुर घर्तीलाई ९ सय ४१ मतले पछि पार्दै विजयी हुनुभएको हो । विजयी घर्तीले १३ हजार ९ सय ९२ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी ओमबहादुरले १३ हजार ५१ मत प्राप्त गर्नुभयो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका चक्रपाणी पौडेलले ८ सय ९०, मंगोल नेशनल अर्गनाइजेसनका शिवबहादुर गाहाले ३ सय ७८ र राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्रबहादुर अस्लामीले ३ सय ४५ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?