कालीकोटमा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक, स्थानीय तहले बजेट निकासा नगर्दा समस्या

पाठ्यपुस्तक वितरणको जिम्मा पाएको विनोद बुक सेन्टर कालीकोट । तस्बिर : मान बहादुर विश्वकर्मा/हिटा

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 6 mins

कालीकोट । नयाँ शैक्षिकसत्र सुरु हुनु अगावै कालीकोटका विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । हरेक वर्ष पाठ्यपुस्तकको अभाव झेल्दै आएका यहाँका सामुदायिक विद्यालयहरुले यो वर्ष समयमै पाठ्यपुस्तक पाएका हुन् ।

नौवटा स्थानीय तह रहेको कालीकोटमा हालसम्म जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका, महावै गाउँपालिका र खाँडाचक्र नगरपालिकाका सामुदायिक बिद्यालयहरुमा पाठ्यपुस्तकहरु पुग्ने क्रम जारी रहेको जनक शिक्षा सामग्री केन्द्रको आधिकारिक बिक्रेता बिनोद बुक सेन्टर कालीकोटले जनाएको छ ।

चैत्र २४ गतेसम्म महावै गाउँपालिकाका-८ वटा सामुदायिक बिद्यालय र खाँडाचक्र नगरपालिकाको नैनेलदेव आधारभूत विद्यालय सियाँला र सान्नीत्रिवेणी गाउँपालिकाको शंकर माध्यमिक विद्यालय सेरिज्यूलामा सबै बिषयका पाठ्यपुस्तक पुगिसकेको बिनोद बुक सेन्टरका सञ्चालक नन्दबहादुर शाहीले बताउनुभयो ।

हरेक वर्ष वार्षिक परीक्षा हुँदासम्म हातमा किताब नपाउने गरेका दुर्गमका विद्यार्थीहरुले यो वर्ष समयमै हातहातमा सबै बिषयका पाठ्यपुस्तक पाउने भएपछि शिक्षक र अभिभावक खुसी छन् । कालीकोटमा भने शैक्षिकसत्र सुरु हुनु अगावै चैत्र १८ गते सम्पूर्ण बिषयका पाठ्यपुस्तक जिल्लामा पुगिसकेका थिए । पाठ्यपुस्तक बितरणको जिम्मा पाएको बिनोद बुक सेन्टरले सम्पर्कमा आए जति सबै विद्यालयहरुलाई पुस्तक उपलब्ध गराउने गरेकोे जानकारी दिएको छ ।

प्रत्येक वर्ष सामुदायिक विद्यालयले पाठ्यपुस्तक अभावका कारण पठनपाठनमा समस्या हुने गरेकोमा यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै पुस्तक पाइएको शिक्षकहरुले बताएका छन् ।

विगतका वर्षमा शैक्षिक सत्र सुरु भएको महिनौँ बितिसक्दा पनि विद्यालयमा पुस्तक अभाव हुने गरेको थियो । तर यो वर्ष आगामी शैक्षिक सत्र ०८१ का लागि भने अधिकांश विद्यालयमा चैत २० गते नै पुस्तक पुगिसकेका छन् ।

भौगोलिक विकटताका कारण दुर्गम गाउँका विद्यालयमा पाठ्यपुस्तक समयमा नपुग्ने समस्या हटाउन यो वर्ष पुस्तक व्यवसायीले समयै पाठ्यपुस्तक उपलब्ध गराएका हुन् ।

ब्यक्तिगत लगानीमा विगत १० वर्षदेखि जनक शिक्षाको आधिकारीक विक्रेताका रुपमा कालीकोटमा पाठ्यपुस्तक उपलब्ध गराउन थालेको बिनोद बुक सेन्टरका सञ्चालक नन्दबहादुर शाहीले बताउनुभयो ।

“हामीले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई आवश्यक सरकारी पाठ्यपुस्तक जिल्लामा ल्याइसकेका छौँ, विद्यार्थीको अनुमानित सङ्ख्याका आधारमा पुस्तक ल्याएका छौँ”, उहाँले भन्नुभयो, “अपुग भएर सम्बन्धित विद्यालयबाट माग भएमा थप पाठ्यपुस्तकसमेत ल्याउने प्रबन्ध पनि गरेका छौँ । यो वर्ष जिल्लामा वैशाख १ गतेभित्रमा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्छ ।”

यो वर्ष बिनोद बुक सेन्टरले .करीब ८० लाखको लगानीमा कक्षा १ देखि १० सम्मका करीब ११ हजार पाठ्यपुस्तक जिल्लामा भित्र्याएको छ ।

स्थानीय तहले बजेट निकासा नगर्दा समस्या

बिनोद बुक सेन्टरका सञ्चालक शाहीकाअनुसार पुस्तक लिन आउनु भनेर आग्रह गर्दा पनि कतिपय स्थानीय तहहरूले भने बजेट निकासा नगरेकाले लिन नआउँदा समस्या भएको बताउनुभएको छ ।

‘पाठ्यपुस्तक लिन आउनु भन्दा केही स्थानीय तहले बजेट निकासा भएको छैन्, बजेटको व्यवस्था गरेपछि मात्रै लिन आउँछौँ भनेका छन्,’ उहाँले भन्नुभयो, ‘यसो हुँदा हामीले बिक्री वितरणमा जसरी तीव्रता दिइरहेका थियौँँ, त्यसरी भने काम भएको छैन, बजेट निकासा नभएकाले समस्या भएको छ ।’

स्थानीय तहका कारणपछि जनक शिक्षामाथि र वितरणको जिम्मा लिएका वितरण केन्द्रहरुमाथि दोष थुप्रिने भन्दै ती स्थानीय तहहरूलाई तत्काल बजेट निकासा गरेर पाठ्यपुस्तक लिन जान उहाँले आग्रहसमेत गर्नुभयो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०८१ को नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक खरिद गर्न मंसिर महिनामै ३ अर्ब ५७ करोड ९८ लाख ९० हजार विनियोजन गरी सबै स्थानीय तहलाई हस्तान्तरण गरिसकेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?