सिक्किमेली स्रष्टा जीवन शर्मालाई मिलाप विशिष्ट सम्मान

Read Time = 8 mins

काठमाडौं । सिक्किमका गीतकार, संगीतकार तथा कवि जीवन शर्मा काठमाडौंमा सम्मानित हुनुभएको छ । उहाँलाई शुक्रबार एक विशेष समारोहबीच मिलाप विशिष्ट सम्मानबाट विभूषित गरिएको हो । मिलापका सम्पादक कृष्ण भुसालको सभापतित्वमा सम्पन्न भएको समारोहमा प्रमुख अतिथि विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डिआर उपाध्याय, गीतकार संघका निवर्तमान अध्यक्ष चूडामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट साहित्यकार खेमनाथ दाहाल, लेखनाथ पोख्रेल, वरिष्ठ कलाकार उत्तम केसीलगायतले स्रष्टा शर्मालाई खादा, दोसल्ला, माला र सम्मानपत्रबाट विभूषित गर्नुभएको थियो ।

निर्देशक तथा सञ्चारकर्मी माधवराज खरेलले सहजीकरण गरेको कार्यक्रममा स्रष्टा शर्माले आफू नेपाली भाषा साहित्य, कला संस्कृतिको एक साधक रहेको बताउँदै नेपालमा आफूले पाएको यो सम्मानका लागि विशेष आभारी रहेको बताउनुभयो । उहाँले साहित्य कुनै सीमाभित्र नबाँधिने र यसको क्षेत्र व्यापक र विस्तार भएको बताउनुभयो । यस सम्मानले आफूमा अझ जिम्मेवारी थपिएको बताउँदै आउँदा दिनमा पनि यस क्षेत्रमा आफू अविरल लागिरहने शर्माले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि डा. उपाध्यायले नेपालबाहिर पनि नेपाली भाषीले भाषा साहित्य, कला संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने जुन कार्य गरिरहनुभएको छ त्यो अत्यन्त स्तुत्य रहेको बताउनुभयो । उहाँले आफूले पनि विविध क्षेत्रमा कलम चलाएको सुनाउँदै फरक ढंगका काम गर्दै जाँदा १३२ विश्व कीर्तिमान कायम गर्न सफल भएको सुनाउनुभयो । आफूले केही वर्षअघि सिक्किममा गएर पुस्तक तथा एल्वम विमोचन गरेको स्मरण गर्दै सिक्किमले यस क्षेत्रमा निकै प्रशंसनीय कार्य गरेको चर्चा गर्नुभयो ।

यस्तै, साहित्यकार लेकालीले नेपालबाहिर सिक्किममा साहित्यको उर्वर भूमि रहेको बताउँदै पछिल्लो समय सिक्किमले नयाँ–नयाँ प्रतिभा जन्माएको जिकिर गर्नुभयो । पहिला दार्जिलिङमा भाषा साहित्यका धेरै कार्यक्रम, गतिविधि हुने गरेकोमा अहिले आएर सिक्किममा यस्तो धेरै हुने गरेको भनाइ राख्नुभयो । उहाँले स्रष्टा शर्माको साहित्यिक व्यक्तित्वका बारेमा प्रकाश पार्दै नेपालमा उहाँलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

यस्तै, गीतकार देवकोटाले गीतसंगीतमा शर्माको योगदानको प्रशंसा गर्दै आउँदा दिनमा उहाँका अझ धेरै सिर्जनाले नेपाली गीतसंगीतको क्षेत्र सिञ्चित हुनेमा आफू आशावादी रहेको बताउनुभयो । त्यस्तै, साहित्यकार दाहालले मिलापका कार्यको प्रशंसा गर्दै स्रष्टा शर्माले नेपाली गीतसंगीत क्षेत्रका पु¥याएको योगदानको चर्चा गर्नुभयो । उहाँले नेपालबाहिर रहेका नेपाली भाषी भाषा साहित्य, कला संस्कृतिका व्यक्तित्वहरूलाई मिलापले जोड्ने काम गरेको बताउनुभयो ।

त्यस्तै, कलाकार केसीले सिक्किमले नेपाली भाषाका चलचित्रलाई प्राथमिकतामा राखेर गरेका कार्यको प्रशंसा गर्नुभयो । उहाँले हाम्रो पहिचान भनेको हाम्रा संस्कार र संस्कृति रहेको भन्दै हाम्रा प्रस्तुतिमा यस्ता विषयलाई प्राथमिकता दिनुपर्ने जिकिर गर्नुभयो ।

सम्पादक भुसालले सिक्किममा रहेर विगत तीन दशकदेखि निरन्तर गीतसंगीतको क्षेत्रमा लाग्नुभएका स्रष्टा शर्मालाई नेपालमा सम्मान गर्न पाउँदा आफूहरू पुलकित भएको बताउनुभयो । शर्माले यस क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्दैै आउँदा दिनमा उहाँका अझ धेरै सशक्त सिर्जना श्रोता/दर्शक र पाठकमाझ आऊन् भन्दै बधाई तथा शुभकामना दिनुभयो । मिलापले गर्दै आएका कार्यका बारेमा बताउँदै उहाँले भाषा साहित्य, कला संस्कृतिका क्षेत्रमा स्रष्टाहरूले पुर्‍याएको योगदानको उच्च कदर गर्दै स्रष्टा शर्मालाई सम्मान गरिएको जिकिर गर्नुभयो । यस्तै, मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारी र अन्य अतिथिहरूले स्रष्टा शर्मालाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा निर्देशक तथा गीतकार गणेश सुवेदी, कलाकार निर्देशक शेखर खनाल, प्रेम शर्मा पौडेल, साहित्यकार शैलेन्द्र चापागाईं, मिलन शाह शंकर, वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, सूर्य चन्द, निमेश गौतम, कमला जोशी, किरण अधिकारी, राजन थापा, भोला अधिकारी, शम्भु ढुंगाना, रिना श्रेष्ठ, मदन ढुंगाना, कुमार आचार्य, अर्जुन गुरागाईं, गोमा गौतम, दिपाशा कार्की, अनिल पोख्रेल, राज गजमेरलगायतका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो ।

स्रष्टा शर्मालाई बुधबार काठमाडौंमा उर्वरा फाउण्डेशनले पनि सम्मान गरेको थियो । उहाँले बिहीबार एक नेपाली गीतको काठमाडौंमा रेकर्डिङ पनि गर्नुभएको छ । शर्माको स्वर र संगीतमा एक दर्जनभन्दा बढी गीत छन् भने उहाँले गीत लेखन र कविता लेखनमा आफूलाई सक्रिय राख्दै आउनुभएको छ । उहाँ सिक्किम साहित्य परिषद्को पूर्व महासचिवसमेत हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?