दलहरूको नजर नयाँ सरकार गठनतिर

सत्ता गठबन्धन प्रधानमन्त्रीसहित ३५ पद बाँडफाँटको जोड घटाउमा

अनिल क्षेत्री
Read Time = 9 mins

काठमाडौं । राजनीतिक दलहरू नयाँ सरकार गठन र प्रमुख संवैधानिक पद बागबण्डाको कसरतमा लागेका छन् । नेपाली कांग्रेस नेतृत्वमा रहेको सत्ता गठबन्धनको सोमबार बसेको बैठकले वर्तमान गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले गठबन्धनलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दै संयुक्त वक्तव्य जारी गरेका छन् । यो निर्णयसँगै नयाँ सरकार पनि सत्ता गठबन्धनकै बन्ने संकेत देखिएको छ । सत्ता गठबन्धनको एक घटक माओवादी केन्द्रको शनिबार बसेको पदाधिकारी बैठकले नयाँ सरकार गठनको लागि गठबन्धन बाहिरका दलहरूसँग गठबन्धनको लागि विकल्प खुला राख्ने निर्णय गरेसँगै भावी सरकार गठनमा अन्योलता देखिएको थियो । तर, सोमबार बसेको शीर्ष नेताहरूको बैठकको निर्णयले नयाँ सरकार गठनबारे देखिएको अन्योलता केही हदसम्म हटेको देखिन्छ । तर, सरकारको नेतृत्वबारे भने गठबन्धनभित्र अन्योल कायमै छ ।

यता, नेकपा एमाले पनि गठबन्धन टुटाएर नयाँ सरकार बनाउन सकिन्छ कि भनेर पहल गरिरहेको छ । सत्ता गठबन्धनले भन्दा एमाले नेतृत्वको गठबन्धनले कम सिट जितेकाले सरकार गठनका लागि बहुमत जुटाउन कठिन देखिन्छ । तर, गठबन्धनमा खेलेर आफ्नो नेतृत्वमा सरकार बनाउन एमालेले पहल गरिरहेको हो । त्यसका लागि एमालेले राजनीतिक लबिङलाई तीव्र बनाइरहेको छ । यसै क्रममा एमालेका सचिव रघुवीर महासेठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सोमबार भेटवार्ता गर्नुभएको छ । महासेठ अध्यक्ष दाहाललाई भेट्न सोमबार दिउँसो खुमलटारस्थित निवासमै पुग्नुभएको थियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेताहरूले वाम सरकार गठनको लागि अनौपचारिक छलफललाई तीव्रता दिनुभएको छ । निर्वाचनको परिणामअनुसार कुनै पनि एक दलको मात्रै बहुमत नपुग्दा फेरि पनि गठबन्धन बनाएर नै सरकार बनाउने स्थिति छ । जसकारण पनि नयाँ सरकार गठन र नेतृत्वको विषय निकै चासोपूर्ण बनेको छ ।

प्रमुख संवैधानिक पद प्राथमिकतामा
वर्तमान गठबन्धनलाई कायम राख्ने निर्णय गरेका सत्ता गठबन्धनका दलहरू आगामी सरकार समीकरणको जोड घटाउको छलफलमा जुटेका छन् । मंसिर ४ गते सम्पन्न चुनावपछि पहिलोपटक गठबन्धनका शीर्ष नेताहरूबीच सोमबार पहिलोपटक औपचारिक छलफल भएको छ । चुनावी समीक्षा र गठबन्धनको भविष्यसँग जोडिएको यो बैठकले ठोस निर्णय गरेको छैन । गठबन्धनका लागि प्रधानमन्त्री निकै पेचिलो बन्ने देखिन्छ । आलोपालोमा प्रधानमन्त्री बन्ने दलहरूबीच अनौपचारिक सहमति देखिन्छ । तर, पहिलो पटकमा प्रधानमन्त्री को बन्ने ? भन्ने विषय जटिल बनेको छ । प्रधानमन्त्री बन्ने विषयसँग अन्य प्रमुख संवैधानिक पदबीचको भागबण्डा पनि उस्तै पेचिलो बन्ने देखिन्छ । गठबन्धनका दलहरू माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रमुख संवैधानिक पदको बाँडफाँट प्याकेजमै हुनुपर्ने बताइरहेका छन् । अघिल्लो साता एकीकृत समाजवादीको सचिवालय बैठकले शक्ति बाँडफाँट प्याकेजमा हुनुपर्ने औपचारिक निर्णय नै गरिसकेको छ । गठबन्धनको निरन्तरता र प्याकेजमा सहमति जुटाउनुपर्ने निर्णयले प्रधानमन्त्री बाहेकका पद पनि महत्वका साथ हेरिएका छन् भन्ने देखाएको छ । सत्ता गठबन्धनले राष्ट्रपति, उपराष्ट्रपति, प्रदेश प्रमुख, संघीय सभामुख, प्रदेश सभामुख, संघ र प्रदेशका उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षसहित करिब ३५ वटा पदमा सहमति जुटाउनु पर्नेछ । त्यसैले गठबन्धन दलका नेताहरूले शक्ति बाँडफाँट प्याकेजमै गर्नुपर्नेमा जोड दिइरहेका छन् ।

गठबन्धनबाट मुख्यमन्त्रीका आकांक्षी
संघबाहेक प्रदेश मुख्यमन्त्री निकै शक्तिशाली र आकर्षक पद हो । त्यसकारण गठबन्धनका दलहरूले प्रदेश मुख्यमन्त्रीमा पनि उत्तिकै दाबी गरिरहेका छन् । प्रदेश १ को मुख्यमन्त्रीका लागि कांग्रेसबाट हालका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की दौडमा हुनुहुन्छ । यस्तै, कांग्रेसबाट नै पार्टी केन्द्रीय सदस्यद्वय अमृत अर्याल, उद्धव थापा र प्रदीप सुनुवारको पनि दाबी छ । सत्ता गठबन्धनको घटक नेकपा एकीकृत समाजवादीबाट हालका मुख्यमन्त्री राजेन्द्र राई पनि मुख्यमन्त्रीमा निरन्तरताको आशामा रहनुभएको छ । यस्तै, गठबन्धनको अर्को घटक नेकपा माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बोको दाबी छ ।

मधेश प्रदेशको मुख्यमन्त्रीको लागि कांग्रेसबाट कांग्रेसका प्रदेश सभापति कृष्णप्रसाद यादव प्रमुख दाबेदार देखिनुभएको छ । यसबाहेक कांग्रेसबाट नै प्रदेशका पूर्वमन्त्री रामसरोज यादव र पर्सा कांग्रेसका सभापति जनार्दनसिंह क्षत्री पनि मुख्यमन्त्रीका आकांक्षी देखिनुभएको छ । गठबन्धनको घटक लोसपाबाट जितेन्द्र सोनलको पनि दाबी छ । बागमती प्रदेशको मुख्यमन्त्रीको लागि कांग्रेसबाट बागमती प्रदेश सभापति एवं पूर्वराज्यमन्त्री इन्द्र बानियाँ प्रमुख दाबेदार देखिनुभएको छ । सत्ता गठबन्धनभित्रै माओवादीबाट हालका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमकट्टेल प्रमुख दाबेदारको रूपमा हेरिएको छ ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीको लागि कांग्रेसका सुरेन्द्रराज पाण्डे र महेन्द्रध्वज जिसी प्रमुख दाबेदार देखिनुभएको छ । तर, गठबन्धनको घटक माओवादी केन्द्रबाट हरिबहादुर चुमान पनि मुख्यमन्त्रीमा दाबी गरिरहनु भएको छ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको लागि माओवादी केन्द्रबाट जोखबहादुर महराको बलियो दाबी छ । कांग्रेसबाट डिल्लीबहादुर चौधरी मुख्यमन्त्रीका बलियो दाबेदार देखिनुभएको छ । कर्णाली प्रदेशको मुख्यमन्त्रीको लागि कांग्रेसबाट वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीले निरन्तरता दिन खोजिरहनु भएको छ । माओवादीबाट राजकुमार शर्मा र बिन्दमान विष्ट पनि मुख्यमन्त्रीका आकांक्षी हुनुहुन्छ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको लागि कांग्रेसबाट बहादुरसिंह थापा, प्रदेश महामन्त्री मेघराज खड्का, प्रकाश देउवा लगायतको दाबी छ । माओवादी केन्द्रबाट सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट निर्विकल्प उम्मेदवार हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?