अब मुद्दाको अभियोगपत्र अनलाइनबाटै हेर्न सकिने

Read Time = 3 mins

काठमाडौं । फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाटै हेर्न सकिने भएको छ । काठमाडौं जिल्ला अदालत बार एसोसिएसनको पहलमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयबाट दायर हुने फौजदारी मुद्दाको अभियोगपत्र अनलाइन माध्यममार्फत् सार्वजनिक गरिने व्यवस्था मिलाइएको हो ।
जिल्ला अदालतमा दर्ता भएका फौजदारी मुद्दा कार्यालय समयपछि वेबसाइटमा अपलोड हुनेछन् ।

कुनै कसुरको अभियुक्त भइसकेपछि आफूविरुद्ध अनुसन्धानका क्रममा जुटाएका प्रमाण के-के छन्, आफूविरुद्ध कुन दफा लगाइएको छ भनी थाहा पाउने अधिकार प्रतिवादीको संवैधानिक अधिकार रहेको छ । संविधानले दिएको सोही अधिकारको पहुँच सरल तथा सहजरूपमा अभियुक्तका वकिल र मुद्दासम्बन्धी सरोकार राख्ने हरेक सरोकारवालासम्म पुर्‍याउने उद्देश्यले अभियोगपत्र अनलाइनमार्फत् सार्वजनिक गरेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले बताउनुभयो ।

अदालतलाई प्रविधिमैत्री, नमुना र जनताको अदालत बनाउनुपर्छ भन्ने अवधारणा अपनाउँदै आएको र अनलाइनमार्फत् फौजदारी मुद्दाको अभियोगपत्र जारी हुनु नै अदालत प्रविधि नजिक र जनतामाझ पुगेको बारका अध्यक्ष रामचन्द्र पौडेल (आरसी विमल)ले बताउनुभयो । सो अवसरमा बारका उपाध्यक्ष पुरूषोत्तम अधिकारी, सचिव उज्जलराम श्रेष्ठ, सहसचिव अञ्जु रेग्मी अर्याल, कोषाध्यक्ष सन्तोष भण्डारी, सदस्यहरू भीष्म निरौला, सूर्यबहादुर दौल्याल, चेतनाथ तिमल्सिना (चेतन) हरिओम लामिछाने, जीवन न्यौपाने, प्रवीण हुमागाईँ, जिल्ला न्यायाधिवक्ता एवं प्रवक्ता लक्ष्मण उपाध्याय घिमिरे, काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार ज्ञानेन्द्र इटनीलगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?