‘पर्यटन सूचना केन्द्र’मा नौ लाख लगानी, उपलब्धी शुन्य

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 8 mins

खोटाङ । कुनै पनि संघसंस्था, सरकारी कार्यालयले उपलब्धी आउनेगरी लगानी गर्छ । तर, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले त सानोतिनो हैन नौ लाख रकम स्वाह पारेको छ । त्यसको कुनै उपलब्धी छैन, चिनोबानो छैन ।

त्रि-धार्मिकस्थल हलेसी आउने पर्यटकलाई दिक्तेलबजारसम्म ल्याउने भन्दै नगरपालिकाले हलेसी महादेवस्थान विकास समितिको भवनमा २०७५ चैतमा निःशुल्क कोठा लिएर ‘पर्यटन सूचना केन्द्र’को स्थापना गर्‍याे ।

स्थापना भएको सूचना केन्द्रको २०७५ चैत २९ गते हलेसी मन्दिर प्राङगणमा तत्कालिन मेयर दिपनारायण रिजाल र प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले बडो तामझामका साथमा उद्घाटन गरे । पहाड नै उचाल्ने झै गरी ढर्रा देखाए, घाँटी सुकिन्जेल भाषणबाजी गरे अरुले परर..ताली पड्काए । उद्घाटनको तडकभडक हेर्दा दिक्तेलबजारका व्यापारी तथा बजारबासी ढुक्क भए, अब हलेसी आउने पर्यटक दिक्तेलसम्म आउँछन् र, यहाँको व्यापार व्यवसाय चल्छ, आर्थिक चलखेल हुन्छ ।

दिक्तेल बजारबासी ढुक्क नहुन पनि कसरी नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को नौ लाख बजेट खर्चेर त्यति धेरै तडकभडक र तामझाम गरेका थिए । हुँदाहुँदा कार्यक्रममा मान्छे धेरै देखाउन नगरपालिकाले मोटो रकम खर्चेर दिक्तेलबाट दुई गाडी मान्छे समेत लगे/ल्याए । उद्घाटनमा सहभागी सयाैंलाई खाजा नास्ता खुवाईए, नचाईए । नगरपालिकाको पर्यटकीय तथा धार्मिकस्थलहरुको फोटो वर्णन भएकों हाते ब्रुसर बाँडे, युवायुवतीलाई टिसर्ट पनि बाँडियो ।

स्थापना गरेको सूचना केन्द्रमा नगरपालिकाले सुरुवातमा निर्णय गरेर नवराज घिमिरे र त्यसपछि नगरकै कार्यालय सहयोगी मोहन दुलाललाई कर्मचारीका रुपमा राखे । उनीहरुको काम हलेसी आएका पर्यटकलाई दिक्तेलसम्म जानुहोस भन्दै ब्रुसर बाड्ने र नगरको पर्यटकीय तथा धार्मिकस्थलहरुको भिडियोे डिस्प्लेमा देखाउने बाहेक केही थिएन । उनी दुईलाई नगरपालिकाले तलब दिंने गरेका थिए । त्यहाँ बसे वापत छुट्टै तलबको व्यवस्था थिएन ।

नगरपालिकाले नौ लाख खर्चेर सूचना केन्द्र स्थापना गरे, अफिस व्यवस्थापनका लागि फर्निचरमा केही खर्च गरे, अनि पर्यटन प्रवर्द्धन समिति संयोजक अनिल जोशीलाई बनाए । कोभिडले जोशीको निधन भईसकेकाले धेरै कुरा निकाल्न सकिएन । तर, प्रयास भईरहेको छ ।
हेर्दाहेर्दै सूचना केन्द्र स्थापना, उद्घाटन, ब्रुसर बाँड्न, टिसर्ट बाँड्नमा मात्रै नगरपालिकाले नौ लाख रकम स्वाह पारे । उपलब्धी शुन्य रह्यो । ‘पर्यटक भने दिक्तेलमा एकैजना आएन, देखिएन । त्यति धेरै रकम खर्चेर सुरुवात गरिएको कार्यक्रम प्रभावकारी भएन । नेतृत्वको कमजोरी र मिलेमत्तोमा भएको कार्यक्रमले प्रतिफल दिनुको सट्टा मिलेमत्तोमै पैसा झ्वाम भयोे, मोजमस्ती गरे, पचाए, सिध्याए।’ श्रोत भन्छ ।

सूचना केन्द्रको थ्रु बाट आएको भनेर एकजना पनि मान्छे दिक्तेलमा आएको देखिएन, भेटिएन । नाँच्न जान्दैन आँगन टेडो भने झै काम गर्न जाँन्दैन अनि मान्छे आउँछ दिक्तेलमा ? काम गर्न जान्नु पर्‍याे नि? पर्यटन सम्बन्धी काम गर्दै आएका दिक्तेलका एक अगुवाले प्रतिप्रश्न गरे- 'योजना दिएजस्तो गरी कार्यकर्तालाई पैसा दिएर सक्नु थियो, पचाउनु थियो, मान्छे किन आउनु पर्यो त, कमिशन आईहाल्यो ।'

सूचना केन्द्रमा बसेका कर्मचारीका अनुसार पनि खासै पर्यटक दिक्तेल आएनन् । एकादुई सूचना केन्द्रमा सोध्न चाँहि आउथे तर, मान्छे दिक्तेल गएनन् । नगरपालिकाका सूचना अधिकारी मोहन कुमार भट्टराईका अनुसार एकवर्ष सूचना केन्द्रमा कर्मचारी बसेको र कोभिड आएपछि उनलाई नगरपालिकानै तानिएको थियाे । अहिले नगरपालिकाले राखेको डिजिटल डिस्प्ले छ तर, चल्दैन, त्यसैलाई पनि धुलोले खाईसकेको प्रत्यक्षदर्शी बताउँछन् । सूचना केन्द्रको कार्यालयमा भोटे ताल्चा लागेको छ ।

कोरोना भाईरसको बहाना त धेरैलाई ढाँट्न, छल्न, कमिशन सफल बनाउने गज्जबको बहाना भएको छ । नगरपालिकाकै अधिकारीले भने अनुसार वर्षदिन सूचना केन्द्र चले पनि प्रतिफल शुन्य नै भएको पुष्टि हुन्छ । होला कोरानापछि सूचना केन्द्र चलेन, तर चले अवधिको प्रतिफल खै ? कि नौ लाख रकम त्यतिमै पच्यो ? नगरबासी सबैको यो साझा प्रश्न बनेको छ ।

सूचना केन्द्र करीव वर्ष दिन चल्दा हाते बु्रसर बाँड्ने र आक्कलझुक्कल भिडियो देखाउने काम बाहेक अन्य केही नभएको श्रोत बताउँछ । नगरपालिकाको सूचना केन्द्र अहिले डामाडोल छ । ताल्चा लागेर बन्द छ । डिजिटल डिस्प्लेले अरुलाई भिडियो देखाउनुको सट्टा धुलो, धुवा खाईरहेको छ, नगरपालिकाको कामले उसैलाई गिज्याईरहेको छ । अरुले मजाक बनाईरहेको छ ।

जनताबाट कर उठाएर संकलन भएको रकम स्वंयम् स्थानीय सरकारले नै सही ठाउँमा सदुपयोग नगरेको यसले प्रस्ट हुन्छ । अन्य धेरै संरचनाहरु आँखै अगाडी छन् । स्थानीय सरकार त कार्यकर्ता भरणपोषण र कमिशनको खेलमा चुर्लुम्म डुबेको छरप्रस्टै देखिन्छ ।

सूचना केन्द्रबाट पर्यटक दिक्तेल ल्याउने भन्दै अघिल्लो सरकार प्रमुख, उपप्रमुख र उनका आसेपासेहरुले सजिलो तरिकाबाट नौ लाख रकम स्वाह पार्दा त्यसलाई खोज्न, छानविन गर्न र निरन्तरताका लागि बहालवाला मेयर, उपमेयर कही कतै एकै शब्द बोलेको सुनिन्दैन । पूराना मेयर र उद्घाटन गर्न भ्याएका भट्टराई अनि उनीहरुको पछिपछि कुद्नेहरु पनि यो विषयमा चुईक्क बोलेका छैनन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?