विश्वविद्यालयको देश नेपाल

डा. शान्तिकृष्ण अधिकारी
Read Time = 24 mins

जनसंख्याका दृष्टिले नेपाललाई विश्वका धेरै राष्ट्रहरूका तुलनामा सानै मानिन्छ । नेपाल क्षेत्रफलका हिसाबले पनि त्यति ठूलो राष्ट्र होइन । विश्वविद्यालयहरूको संख्या र ती विश्वविद्यालयहरूले खोलेका आंगिक क्याम्पसहरू र सम्बन्धन प्राप्त क्याम्पसहरूको संख्या हेर्ने हो भने नेपाललाई सानो मुलुक भन्न मिल्दैन । विसं २०१६ देखि २०४३ सालसम्म त्रिभुवन विश्वविद्यालय एक्लैले उच्चशिक्षाको भार थेगेको थियो । विसं २०४३ मा भने विशिष्टिकृत शिक्षा संस्कृतको संरक्षण-संवद्र्धनार्थ नेपाल संस्कृत विश्वविद्यालयको स्थापना गरिएपछि नेपालमा जम्मा दुईवटा विश्वविद्यालय हुन पुगेका थिए । पछिल्ला समयमा व्यक्तिगत महत्वाकांक्षा, राजनीतिक स्वार्थ र स्थानीय चासोका कारण विश्वविद्यालयहरू थपिँदै गएका छन् ।

नेपाललाई ठ्याक्कै कति विश्वविद्यालयहरूको आवश्यकता पर्दछ भन्ने आजसम्म कुनै अध्ययन गरिएको छैन । कुन प्रकृतिका र कुन आकारका विश्वविद्यालयहरूले मुलुकको आवश्यकता र उच्च शिक्षाको औचित्यलाई पुष्टि गर्न सक्दछन् भन्ने पनि विश्लेषण भएको पाइँदैन । विश्वविद्यालय स्थापनाका आधार के हुन् र कुन ठाउँमा किन विश्वविद्यालय स्थापना गर्ने भन्ने पनि कतै केलाइएको छ जस्तो लाग्दैन । यद्यपि विश्वविद्यालयहरू खुल्दै गएका छन् र विश्वविद्यालयहरूमा विभिन्न पदका पदाधिकारीहरू नियुक्त गरेर सेवासुविधा प्रदान गर्ने कामचाहिँ बढ्दै गएको छ । विश्वविद्यालयै विश्वविद्यालयको देश नेपाल बन्ने सम्भावना बढेको छ ।

नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय विसं २०१६ मा काठमाडौंमा स्थापना गरिएको थियो । यो पहिलोमात्र नभएर प्राध्यापक, विद्यार्थी र कर्मचारी संख्याका आधारमा नेपालको सबैभन्दा ठूलो विश्वविद्यालय पनि हो ।

राजनीतिक दलको नेताले आफ्नो प्रतिष्ठा बढाउनका लागि आफ्नो क्षेत्रमा विश्वविद्यालयको माग गर्ने र पहुँचवाला नेता छ भने उसको मागलाई सरकारले सम्बोधन गरी विश्वविद्यालय खोलिदिने गरिएको छ । एउटा क्षेत्रमा विश्वविद्यालय खुल्यो भने त्यसैको नजिकको अर्को क्षेत्रले आफू पिछडिएको अनुभव गर्दै आन्दोलन र संघर्षका माध्यमबाट विश्वविद्यालय ल्याउने काम पनि भएका छन् । आफ्ना पार्टीका नेता, जसले देश बिगारेको थियो कि सपारेको मतलब छैन, उसलाई चिरजीवी बनाउन उसका नाममा विश्वविद्यालय खोल्ने काम पनि सरकारमा पुगेका दलहरूले गर्ने गरेको पाइन्छ । जे जसरी भए पनि विश्वविद्यालयहरू खुल्दै गएका छन् र यो क्रम रोकिने छाँटकाँट पनि देखिँदैन ।

विभिन्न विश्वविद्यालयहरूका जम्मा १४३७ क्याम्पसहरूले ४ लाख ६६ हजार ८२८ उच्च शिक्षाका विद्यार्थीहरूलाई पढाउन विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् जसमध्ये १५२ (१०.५८ प्रतिशत) आंगिक, ७४९ (५२.१२ प्रतिशत) निजी र ५३६ (३७.३ प्रतिशत) सामुदायिक क्याम्पसहरू छन् । विभिन्न विश्वविद्यालयहरूमा गरी प्रशिक्षकसहित प्राध्यापनमा संलग्नहरूको कुल संख्या ११७४८ रहेको छ । तीमध्ये ४६.५५ प्रतिशत उपप्राध्यापक, २१.६३ प्रतिशत सहप्राध्यापक र ८.०५ प्रतिशत प्राध्यापक रहेका छन् ।

क्याम्पसहरूको संख्या हेर्दा विश्वविद्यालयहरूले आफ्ना क्याम्पसहरूमार्फत् गुणस्तरीय शिक्षा प्रदान गर्नेभन्दा पनि समुदाय र शैक्षिक व्यापारीहरूलाई सम्बन्धन बाँडेर विद्यार्थी संख्या बढाउने र आयस्रोत बढाउने लक्ष्य राखे जस्तो देखिन्छ । उच्च शिक्षालाई अनिवार्य नमानिए पनि शिक्षा व्यापार लक्षित विषय किमार्थ होइन तर उच्च शिक्षा पनि तल्लो तहका आमनागरिकका लागि पहुँचबाट टाढा हुँदै गएको अनुभूति हुन्छ । आंगिक क्याम्पसहरू थपी सर्वसाधारणलाई सुलभ बनाउनेभन्दा पनि भएकै क्याम्पसहरूलाई व्यवस्थापन गर्ने र सम्बन्धन बाँड्ने काममा पदाधिकारीहरू रमाउने प्रवृत्तिको विकास हुँदै गएको पाइन्छ ।

हालसम्म स्थापना गरिएका विश्वविद्यालयहरू निम्नानुसार छन् :
त्रिभुवन विश्वविद्यालय
नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय विसं २०१६ मा काठमाडौंमा स्थापना गरिएको थियो । यो पहिलो मात्र नभएर प्राध्यापक, विद्यार्थी र कर्मचारी संख्याका आधारमा नेपालको सबैभन्दा ठूलो विश्वविद्यालय पनि हो । प्राविधिक धारका पठनपाठनका लागि कृषि तथा पशु, इन्जिनियरिङ, वन, चिकित्साशास्त्र र विज्ञान तथा प्रविधि गरी पाँचवटा अध्ययन संस्थानहरू यो विश्वविद्यालयमा छन् भने सामान्यतर्फ शिक्षाशास्त्र, मानविकी तथा समाजशास्त्र, कानुन र व्यवस्थापन गरी चारवटा संकायमार्फत् विद्यार्थीहरूलाई यो विश्वविद्यालयले उच्च शिक्षा प्रदान गर्दै आएको छ । विश्वविद्यालयको अर्को पाटो अनुसन्धानलाई अगाडि बढाउन चारवटा अनुसन्धान केन्द्रहरू पनि सञ्चालित छन् ।

विश्वविद्यालय अनुदान आयोगको विसं २०७७/०७८ को वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षाका ७६.४ प्रतिशत विद्यार्थीको भार धानेको छ । अर्थात् ३५६६५४ विद्यार्थी अध्ययनरत छन् । यी विद्यार्थीहरूलाई ६२ वटा आंगिक र १०८२ सम्बन्धन प्राप्त गरी ११४४ वटा क्याम्पसहरूले पठनपाठनमा संलग्न गराएका छन् । आंगिक क्याम्पसमा कार्यरत प्राध्यापकहरूको संख्या ७५९२ छ । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा अध्ययनरत विद्यार्थी र प्राध्यापकहरूको संख्या हेर्दा विद्यार्थी शिक्षक अनुपात १६.२४ः१ रहेको छ ।

नेपाल संस्कृत विश्वविद्यालय
नेपालमा दोस्रो विश्वविद्यालयका रूपमा विसं २०४३ मा महेन्द्र संस्कृत विश्वविद्यालयको स्थापना गरिएको थियो । विसं २०६२/०६३ को गणतान्त्रिक जनआन्दोलन सफल भएपछि यसको नाम परिवर्तन गरी नेपाल संस्कृत विश्वविद्यालय बनाइएको छ । दाङ जिल्लाको बेलझुण्डीमा केन्द्रीय कार्यालय रहेको यो विश्वविद्यालयअन्तर्गत २८२८ विद्यार्थीहरू अध्ययनरत छन् । १५ आंगिक र ४ सम्बन्धन प्राप्त क्याम्पसहरू रहेको यो विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा ७४५ प्राध्यापक कार्यरत छन् । संस्कृत शिक्षाका विविध विधाहरू शास्त्री तह र आचार्य तहमा पढाइने यो विश्वविद्यालयमा आयुर्वेद, संस्कृत भाषा प्रशिक्षण, योग प्रशिक्षण, विद्यावारिधि आदिको समेत पठनपाठन हुने गर्दछ ।

यो विश्वविद्यालयमा विद्यार्थी संख्या न्यून भयो भनी नबुझेकाहरूबाट बारम्बार प्रश्नहरू आइरहन्छन् । यसको विशिष्ट अवस्था एवं पौरस्त्य ज्ञानविज्ञानको संरक्षण संवद्र्धन हेतु खोलिएको भन्ने बुझेकाहरूले भने यो विश्वविद्यालयको शिक्षक विद्यार्थी अनुपातलाई सामान्यरूपमा नै लिने गरेको पाइन्छ । माओवादी आन्दोलनका कारण संस्कृत माध्यमिक विद्यालयहरूलाई साधारण माध्यमिक विद्यालयमा परिणत गरिएपछि उच्च शिक्षा अध्ययनार्थ संस्कृत पढ्न आउने विद्यार्थीहरूको मुहान सुकेकै हो र पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेर प्राविधिक धारका विश्वविद्यालयहरूसरह विद्यार्थी जुटाउन सफल भएको देखिन्छ ।

काठमाडौं विश्वविद्यालय
नेपालमा प्रजातन्त्र स्थापना भएपछि विसं २०४८ मा काठमाडौं विश्वविद्यालयको स्थापना भएको थियो । काभ्रे जिल्लाको धुलिखेलमा अवस्थित यो विश्वविद्यालयमा १८ हजार ६४३ विद्यार्थीहरू अध्ययनरत छन् । ९ आंगिक र १५ सम्बन्धन प्राप्त क्याम्पसहरू रहेको यो विश्वविद्यालयमा ५०४ शिक्षक कार्यरत छन् । सार्वजनिक विश्वविद्यालयका रूपमा खोलिएको यो विश्वविद्यालयमा समेत राज्यले लगानी गर्दै आएको छ । विभिन्न विषयका १०६ वटा उच्च शिक्षाका कार्यक्रमहरू विश्वविद्यालयमा सञ्चालित छन् । काठमाडौं विश्वविद्यालयमा विद्यार्थी शिक्षक अनुपात १७.६३ः१ छ ।

पूर्वाञ्चल विश्वविद्यालय
विसं २०५२ देखि सञ्चालित पूर्वाञ्चल विश्वविद्यालय मोरङ जिल्लाको गोठगाउँमा अवस्थित छ । २७५२७ विद्यार्थी अध्ययनरत यो विश्वविद्यालयमा ५ आंगिक र १११ सम्बन्धन प्राप्त गरी कुल ११६ क्याम्पसहरू छन् । ७४ शिक्षक र २९६ प्रशासनिक कर्मचारीहरू कार्यरत यो विश्वविद्यालयमा विज्ञान, कानुन, इन्जिनियरिङ, व्यवस्थापन, शिक्षा आदिका ५६ वटा कार्यक्रमहरूको पठनपाठन हुने गरेको छ ।

पोखरा विश्वविद्यालय
पोखराको लेखनाथमा विसं २०५४ मा स्थापित पोखरा विश्वविद्यालयमा ३२५८४ विद्यार्थीहरू अध्ययनरत छन् भने यसका ९ आंगिक र ५८ सम्बन्धन प्राप्त गरी जम्मा ६७ क्याम्पसहरू छन् । १३३ प्राध्यापक र १७७ प्रशासनिक कर्मचारीहरू कार्यरत यो विश्वविद्यालयमा मानविकी, व्यवस्थापन, विज्ञान, इन्जिनियरिङ र चिकित्सा विज्ञान विषयका ४१ वटा कार्यक्रमहरूको पठनपाठन हुने गरेको छ । यो विश्वविद्यालयमा शिक्षक-विद्यार्थी अनुपात २३.६३ः१ रहेको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालय
विसं २०६१ देखि सञ्चालनमा आएको लुम्बिनी बौद्ध विश्वविद्यालय रूपन्देही जिल्लामा अवस्थित छ । गौतम बुद्धद्वारा प्रतिपादित दर्शनहरूको अध्ययन–अनुसन्धान गर्ने उद्देश्यले स्थापित यो विश्वविद्यालयअन्तर्गत एक आंगिक र ८ निजी गरी ९ वटा क्याम्पसहरू सञ्चालित छन् । २३ जना प्राध्यापकहरू कार्यरत यसमा ६९५ जना विद्यार्थीहरू अध्ययनरत छन् ।

कृषि तथा वन विश्वविद्यालय
चितवन जिल्लाको रामपुरमा सन् २०१० मा स्थापित कृषि तथा वन विश्वविद्यालयमा ४४२८ विद्यार्थी, ११ आंगिक क्याम्पस, ७ निजी क्याम्पसहरू र १०९ प्राध्यापकहरू रहेका छन् । प्राविधिक धारको पठनपाठन गराउने उद्देश्यले खुलेको यो पहिलो विश्वविद्यालय हो । यो विश्वविद्यालयमा कृषि र वन विषयमा स्नातकदेखि विद्यावारिधिसम्मको अध्ययन-अध्यापन हुने गरेको छ ।

मध्यपश्चिम विश्वविद्यालय
विसं २०६७ मा सुर्खेतको वीरेन्द्रनगरमा स्थापित मध्यपश्चिम विश्वविद्यालयमा ९७५४ विद्यार्थीहरू अध्ययनरत छन् । १८ आंगिक क्याम्पसहरू रहेको यो विश्वविद्यालयमा ३४५ शिक्षक कार्यरत छन् । मानविकी, विज्ञान, शिक्षा, व्यवस्थापनलगायतका ६ संकायका विभिन्न ५० कार्यक्रमहरू मध्यपश्चिम विश्वविद्यालयमा सञ्चालित छन् ।

सुदूरपश्चिम विश्वविद्यालय
भीमदत्त नगरपालिका, कञ्चनपुरमा विसं २०६७ मा स्थापित सुदूरपश्चिम विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा मानविकी, विज्ञान, व्यवस्थापन, इन्जिनियरिङ, शिक्षालगायतका विषयहरूको पठनपाठन हुन्छ । १५ आंगिक क्याम्पसहरू रहेको यो विश्वविद्यालयमा ३९० शिक्षक र १००९७ विद्यार्थीहरू रहेका छन् ।

नेपाल खुला विश्वविद्यालय
विसं २०७३ मा स्थापित नेपाल खुला विश्वविद्यालय उच्च शिक्षा प्रदायक संस्थाको पहुँचबाट विविध कारणले टाढा रहेका विद्यार्थीहरूलाई पठनपाठन गराउने उद्देश्यले स्थापित विश्वविद्यालय हो । अनलाइन पठनपाठन हुने यो विश्वविद्यालयमा हाल ११६४ विद्यार्थीहरू अध्ययनरत छन् । यसमा २१२ शिक्षकहरू कार्यरत रहेका छन् ।

राजर्षि जनक विश्वविद्यालय
विसं २०७४ मा खुलेको राजर्षि जनक विश्वविद्यालय जनकपुरमा अवस्थित छ । एउटा क्याम्पसमा १८६ विद्यार्थीहरूलाई पढाउँदै आएको यो विश्वविद्यालयमा विभिन्न विषयका स्नातक र स्नातकोत्तर तहका कक्षाहरू सञ्चालित छन् । ४५ जना प्राध्यापकहरू कार्यरत छन् ।

विश्वविद्यालय सरहका प्रतिष्ठानहरू
चिकित्सा शिक्षा पढाउनका लागि नेपालमा चारवटा विश्वविद्यालय सरहका प्रतिष्ठानहरूसमेत सञ्चालित छन् । वीर अस्पतालमा सञ्चालित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा स्वास्थ्य एवं चिकित्सा क्षेत्रका विषयहरूको पठनपाठन हुने गरेको छ ।

खुल्न लागेका विश्वविद्यालयहरू
माथि उल्लिखित विश्वविद्यालयका अलावा अन्य केही विश्वविद्यालयहरूसमेत खुल्ने तयारीमा रहेका छन् । मदन भण्डारी प्राविधिक विश्वविद्यालय, विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयहरू उदाहरण हुन् । गण्डकी प्रदेशले गण्डकी विश्वविद्यालय खोलेर सञ्चालनमा ल्याइसकेको छ भने अन्य प्रदेशहरूले पनि आ-आफ्नै प्रादेशिक विश्वविद्यालय स्थापना गर्ने सोच बनाएको पाइन्छ ।

अन्त्यमा,
विश्वविद्यालयहरू खुल्दै गएका छन् तर नेपालमा कस्तो शिक्षा दिएमा विदेशिन बाध्य युवाहरू यहीँ रोक्न सकिन्छ भन्नेतर्फ ध्यान दिने विश्वविद्यालयहरू पाउन सकिएको छैन । नेपालका बाँझा जमिनहरू उब्जाउ गरी मुलुकलाई पहिलेको जस्तै खाद्यान्नमा आत्मनिर्भर बनाउने शिक्षा प्रदान हुन सकेको पाइँदैन । नेपालमा पाइने कच्चा पदार्थहरूको उपयोग गर्दैै त्यसलाई आम्दानीको स्रोत बनाउने उपाय सिकाउने शिक्षा दिइने गरेको पनि देखिँदैन । यहाँको जल, जमिन र जलस्रोतका माध्यमबाट मुलुकलाई धनी बनाउने पाठ्यक्रम तर्जुमा गर्ने विश्वविद्यालय पनि छैन । नेपाल र नेपालीका लागि आवश्यक शिक्षा दिने पाठ्यक्रम तय गर्ने विश्वविद्यालयको खाँचो छ ।

दुई दशकअघिसम्म त्रिभुवन विश्वविद्यालयमा दुई–तीनजना सहनियन्त्रक थिए । अहिले कतिजना छन् भन्दा लाजैमर्दो हुन्छ । वाल्मीकि विद्यापीठमा एकजना प्राचार्य र एकजना सहायक प्राचार्य हुन्थे । केही अघिदेखि दुई दलका एक÷एकजना सहायक प्राचार्य राख्ने चलन चल्यो ।

राजनीतीकरणले विश्वविद्यालय ध्वस्त भयो भनिन्छ । नेताहरू पनि यही स्वीकार्छन् । वास्तवमा राजनीतीकरणले नभई दलीयकरणका कारण विश्वविद्यालयहरू दिनानुदिन अधोगतिमा छन् । पार्टीपिच्छेका पदाधिकारी नियुक्त गरिन्छ । उपकुलपति एउटा पार्टीको र रजिष्ट्रार अर्कै पार्टीको बनाइन्छ अनि उपकुलपतिको निर्देशन रजिष्ट्रारले मान्दैन । डिन, कन्ट्रोलर, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख आदि इत्यादि नियुक्ति गर्दा मुलुकमा भएका सबै दललाई भाग पुर्‍याउनुपर्दछ । यही भागबण्डा नमिल्दा वर्ष दिनसम्म पनि अत्यावश्यक पदमा नियुक्ति हुन नसकेका उदाहरण पर्याप्त छन् । सरकारले पनि विश्वविद्यालयका पदाधिकारीहरू नियुक्ति गर्ने कुरालाई प्राथमिकतामै राख्दैन । अहिले पनि वर्ष दिनदेखि खाली भएका विभिन्न पदहरूमा सरकारले कसैलाई खटाएको छैन ।

दुई दशकअघिसम्म त्रिभुवन विश्वविद्यालयमा दुई-तीनजना सहनियन्त्रक थिए । अहिले कतिजना छन् भन्दा लाजैमर्दो हुन्छ । वाल्मीकि विद्यापीठमा एकजना प्राचार्य र एकजना सहायक प्राचार्य हुन्थे । केही अघिदेखि दुई दलका एक/एकजना सहायक प्राचार्य राख्ने चलन चल्यो । अहिले अर्को एक दलले पनि आफ्नो भाग खोजेपछि त्यहाँ नियुक्ति हुन सकेको छैन । विद्यार्थी संख्या उस्तै छ, कार्यक्रम उनै हुन् तर पदाधिकारी थप्दै जाने क्रमको यो एक उदाहरणमात्रै हो । सबै विश्वविद्यालयहरूमा यस्तै कामहरू गर्न पदाधिकारीहरू बाध्य छन् । यस्तै दलीयकरणले विश्वविद्यालयहरूलाई माथि उठ्न दिएको छैन ।

राजनीति सिकाउने ठाउँ त विश्वविद्यालयहरू नै हुन् । एकतन्त्रीय शासनमा नागरिकको उन्नति हुन सक्दैन, लोकतन्त्रमा मात्रै जनताले आफ्नो नैसर्गिक अधिकार उपभोग गर्न पाउँछन् भनेर पढाउने ठाउँ विश्वविद्यालय नै हो । सत्ताकब्जाको राजनीति गर्ने दलले मुलुकको भविष्य र जनताको आवश्यकताका बारेमा चासो राख्दैन, देशको विकास र नागरिकको समृद्धि लोकतन्त्रमा मात्र सम्भव हुन्छ भनेर विश्वविद्यालयमा नपढाए कहाँ पढाउने ? यस्ता सन्दर्भका राजनीतिक छलफलहरू चल्ने भनेको विश्वविद्यालयहरूमा नै हो तर नेपालमा भने राजनीतिका नाममा भएका दलीयकरणले विश्वविद्यालयहरू फस्टाउन सकेका छैनन् ।

दलीयकरणका कारण नै योग्यता र क्षमता नभएका पदाधिकारीहरूले बारम्बार विश्वविद्यालयको पदाधिकारीमा नियुक्ति पाउनु पनि नेपालको उच्च शिक्षा क्षेत्रका लागि दुर्भाग्य हो । १२ वर्षसम्म दीक्षान्त समारोह नभएका विश्वविद्यालय पनि नेपालमै छन् र पनि ती विश्वविद्यालयका पदाधिकारीहरू फुर्ती लगाउँदै गाडीमा हुइँकिन लाज मानेको देखिँदैन । एक वर्षसम्म परीक्षाको नतिजा प्रकाशन नगर्ने विश्वविद्यालय पनि यहीँ छन् र पनि त्यहाँका पदाधिकारीहरू गर्वका साथ सभा समारोहमा सामेल भइरहेको देखिन्छ ।

विश्वविद्यालयहरूमा सुधार हुनुपर्ने धेरै कुराहरू छन् । सम्बन्धित निकायहरूले अस्तव्यस्त विश्वविद्यालयहरू थप्नेभन्दा भएकालाई सान्दर्भिक बनाउनेतर्फ कहिले ध्यान देलान् ? प्रतीक्षा यसैको छ ।

(यो लेखमा प्रयुक्त तथ्यांकहरू विश्वविद्यालय अनुदान आयोगको वार्षिक प्रतिवेदन २०७७/०७८ मा आधारित छन् ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?