पुस्तक : ‘मित्र-विचारमाला’ दाहालको विचार प्रधान पुस्तक

‘मित्र-विचारमाला’ स्वर्गीय मित्रसेन दाहालको विचारप्रधान लेखहरूको संग्रह हो । मित्रसेन दाहाल बहुमुखी व्यक्तित्व हुनुहुन्थ्यो । जीवनको प्रारम्भिक चरणमा व्यावसायिक व्यक्तित्व निर्माण गर्नुभएका दाहाल त्यसपछि राजनीतितर्फ बढी सक्रिय हुनुभएको थियो । नेपाली कांग्रेसको केन्द्रीय तहमा समेत प्रतिस्पर्धा गर्नु भएका उहाँले जिल्ला कार्य समिति तथा विद्यार्थी संघका विभिन्न पदमा बसेर काम गर्नुभयो । उहाँ साहित्यकार समेत हुनुहुन्थ्यो । पछिल्लो चरणमा समाजसेवी व्यक्तित्व बनाउनु भएका दाहाल मूलतः समाजसेवीकै रूपमा चिनिनु भएको थियो ।

उहाँले कथा, कविता, निबन्ध र राजनीतिक तथा सामाजिक विचारमूलक लेखहरूका संग्रह प्रकाशित गर्नुभएको थियो । पछिल्लो चरणमा साहित्यकार विनोद दाहाल वत्सद्वारा सम्पादन गरिएको विभिन्न १२३ जना लेखकहरूका उहाँबारेका विचर समेटिएका लेखहरूको संग्रह ‘बहुमुखी व्यक्तित्व मित्रसेन दाहाल’ शीर्षकको ठूलो आकारको पुस्तक प्रकाशित हुनै लागेका बेला उहाँको असामयिक निधन हुनुपुग्यो । उहाँले नेपाल सरकार, नेपाली सेना र आफू मिलेर सञ्चालनमा ल्याएको जे.पी. मैत्रीसेवाश्रम काठमाडौंको शंखरापुर लप्सेफेदीमा सञ्चालनमा आएको केही वर्ष बितिसकेको छ ।

यो आश्रम निर्माण गर्दाका अनेकौं भुक्तमानहरू समेटेर उहाँले आफ्नो कम्युटरमा सुरक्षित गरेका यही आनुभव र विचारसम्बन्धी विचार प्रधान विभिन्न १९ वटा तथा एउटा उहाँले २०७४ सालमा ओखलढुंगा जिल्ला ‘क’ बाट प्रदेशसभाका लागि गरेको प्रतिस्पर्धासम्बन्धी गरी जम्मा २० वटा लेखहरू पाइएको जानकारी यस पुस्तकमा उल्लेख भएको छ । यसरी प्राप्त भएका यिनै २० वटा लेखहरूलाई ‘बहुमुखी व्यक्तित्व मित्रसेन दाहाल’ शीर्षकको पुस्तकको सम्पादक विनोद दाहाल वत्सले सम्पादन गरी पुस्तकाकार दिनुभएको छ । पुस्तक मित्रसेन फाउण्डेशनले प्रकाशन गरेको छ भने सर्वाधिकार प्रकाशक संस्थामै रहेको छ ।

पहिलो संस्करणका रूपमा २०७८ साल माघमा प्रकाशन भएको यस पुस्तकको मुद्रण एलायन्स प्रिन्टर्स एण्ड मिडिया हाउस प्रा.लि.बाट भएको छ । पुस्तक एक हजारप्रति छापिएको छ । यो पुस्तक भूमिका खण्डमा ३२ र पाठ्य खण्डमा १२८ गरी जम्मा १६० पृष्ठको छ । यसको मूल्य २५० रुपैयाँ छ । सानो स्ट्यान्डर साइज वा पकेटसाइज भनिने साइजको यस पुस्तकमा पहेंलो हलुका कागजको प्रयोग गरिएको छ । पुस्तकको छपाइ आकर्षक छ । अशुद्धिहरू पाइँदैनन् । यसको आवरण र साजसज्जा नेत्र तिम्सिना (खत्री) र खड्गप्रसाद खनालले तयार पार्नु भएको छ ।

कुनै पनि संघसंस्था कोही मानिसको ठूलो त्याग र समर्पणविना बन्दोरहेनछ भन्ने यस पुस्तकको अध्ययनबाट थाहा हुन्छ । आफू बितेर गए पनि यस प्रकारका लेखरचनाहरू छोडेर जानु भई उहाँले अरूलाई यसबारे जानकारी गराउनु भएको छ ।

पुस्तकको आवरण आकर्षक छ । गाढा हरियो रंगको पृष्ठभूमिमा माथितिर राता ठूला अक्षरमा ‘मित्र–विचारमाला’ भनेर पुस्तकको शीर्षक दिइएको छ र त्यसमुनि कोष्ठकभित्र साना सेता अक्षरमा ‘अनुभव तथा विचारमूलक लेखसंग्रह’ भनिएको छ । बीचमा पुस्तकका लेखक मित्रसेन दाहालको फोटो दिइएको छ । तल सेता साना अक्षरमा लेखक दाहालको नाम ‘मित्रसेन दाहाल’ भनेर दिइएको छ । पृष्ठ आवरणमा स्वर्गीय दाहालद्वारा लेखिएका १५ वटा पुस्तकहरूको आवरणको फोटो दिइएको छ र त्यहाँ ‘जे.पी.प्रतिष्ठानका संस्थापक अध्यक्ष स्व.मित्रसेन दाहालद्वारा लिखित पुस्तकहरू बजारमा उपलब्ध छन्, खोजी खाजी पढौँ’ भनिएको छ ।

भूमिका खण्डमा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वसदस्यसचिव डा.तुलसी भट्टराईको ‘मित्रसेनको विचारमाला’, प्रा.पुरुषोत्तम दाहालको ‘मित्रसेनको अन्तर्यध्वनि’ जे.पी.प्रतिष्ठान (मैत्रीसेवाश्रम) काठमाडौंकी अध्यक्ष शकुन्तला दाहालको ‘पीडा र सफलताका लेखहरूको माला ‘मित्र-विचारमाला’, मित्रसेन फाउण्डेशन काठमाडौंकाका अध्यक्ष हरिप्रसाद दाहालको ‘मित्रसेन दाहालको योगदानका विविध पक्षहरू’ तथा पुस्तकका सम्पादक विनोद दाहाल वत्सको ‘सम्पादकीय’ रहेका छन् । यसपछि विषयसूची रहेको छ ।

यहाँ उल्लेख भएअनुसार यस पुस्तकमा २० वटा विचारमूलक लेख समेटिएका छन् । लेखक शीर्षकहरू दुईदेखि सात शब्दसम्मका छन् । दुई शब्दका चारवटा, तीन शब्दका पाँचवटा, चार शब्दका सातवटा, पाँच शब्दका दुईवटा, छ शब्दको एउटा र साता शब्दको शीर्षक भएको एउटा लेखहरू छन् । २० वटा लेखले १२८ पृष्ठ ढाकेको छ । त्यसकारण एउटा लेख सालाखाला ६.५ पृष्ठको छ तर त्यसभन्दा निकै छोटा तीन पृष्ठका र धेरै लामा १२ पृष्ठका लेखहरू पुस्तकमा छन् ।

यसैगरी यस पुस्तकमा समावेश गरिएका लेखहरू फैलावटका आधारमा तीन पृष्ठदेखि १२ पृष्ठसम्मका छन् । तीन पृष्ठका चारवटा, चार पृष्ठका एक, पाँच पृष्ठका दुईवटा, छ पृष्ठका छवटा र सात पृष्ठका दुईवटा लेख छन् । यसैगरी पुस्तकमा आठ, नौ, दश, एघार र बाह्र पृष्ठका लेखहरू एक/एकवटाका संख्यामा रहेका पाइन्छन् । सम्पादकले लेखको लम्बाइ वा फैलावटका आधारमा एकदेखि तीनवटासम्म ब्रेकर राख्नु भएको पाइन्छ जसले गर्दा दाहालका लेखहरूलाई बुझ्न सहयोग पुगेको छ ।

पुस्तकमा समेटिएका लेखहरूले लेखक दाहालले जे.पी.मैत्रीसेवाश्रम बनाउका लागि गरेको संघर्ष, भोग्नु परेको पीडा, मानिसहरूले दिएको धोका र बौद्धिक यन्त्रणा, फैलाइएका अनर्गल हल्लाहरू, जग्गाधनीले दिएको दुःख, ठेकेदारहरूले समयमा काम नगरेको र कमसल सामग्रीहरू प्रयोग गरेको सन्दर्भलगायत अनोकौं प्रसंग पुस्तकमा समेटिएका लेखहरूका माध्यमबाट उहाँले प्रकट गर्नुभएको छ । पुस्तकको अन्तिम वा बीसौं नम्बरमा समेटिएको लेखमा भने उहाँले चुनाव लडेको प्रसंग अगाडि सार्नुभएको छ र यसलाई एउटा भुलका रूपमा लिनुभएको छ ।

निष्कर्षमा भन्दा कुनै पनि संघसंस्था कोही मानिसको ठूलो त्याग र समर्पणविना बन्दोरहेनछ भन्ने यस पुस्तकको अध्ययनबाट थाहा हुन्छ । आफू बितेर गए पनि यस प्रकारका लेखरचना छोडेर जानु भई अरूलाई यसबारे उहाँले जानकारी गराउनुभएको छ । यहाँका यी लेखहरू जस्तै अन्य लेखरचनाहरू पनि पाउन सक्ने सम्भावनातर्फ विचार गरी परिवारजनबाट तिनको खोजी गर्ने कार्य हुनु वाञ्छनीय हुन आउँछ । त्यस सम्भावनालाई ध्यान दिनु उपयुक्त हो । पुस्तकाका लेखक दाहालको आत्माको चिरशान्तिको कामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?