पाल्पा स्थानीय सरकार : पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 22 mins

पाल्पा । पाल्पाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले नीति, कार्यक्रम र बजेट निर्माण गरी धमाधम काम थालेका छन् ।
उनीहरुले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम ल्याए पनि अधिकांसले पुरानै नीति र कार्यक्रमलाई नै निरन्तरता दिएका छन् । यहाँका ४ वटा स्थानीय तहमा सत्ता परिवर्तन भएको छ तर प्रायः नीति तथा कार्यक्रम भने पुरानै छन् । नयाँ जनप्रतिनिधि आए पनि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि, पर्यटन र सञ्चारका पुरानै योजनालाई निरन्तरता दिदै आफ्ना पूर्ववर्तीले रोजेको बाटोमै उनीहरु हिँडेका छन् ।

जिल्लाका दश स्थानीय तहमध्ये यस पटकको निर्वाचनमा एमालेले बगनासकाली गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ गाउँपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिकामा जित्न सफल भएको छ, भने काँग्रेसले तानसेन नगरपालिका, रैनादेवी छहरा गाउँपालिका र रामपुर नगरपालिका जितेको छ । यस्तै माओवादी केन्द्रले रिब्दीकोट गाउँपालिकामा जित हासिल गरेको छ । यस अघि काँग्रेसले जितेको माथागढी र बगनासकालीमा अहिले एमालेले नेतृत्व गरेको छ । यता एमालेको गण मानिदै आएको तानसेन नगरपालिकामा २८ वर्षपछि काँग्रेसले जितेको छ । यस्तै यस अघि एमालेले जितेको रिब्दीकोटमा भने अहिले माओवादीले जितेको छ । यहाँका ६ स्थानीय तहमा नयाँ अनुहारका जनप्रतिनिधि आएका छन् । तानसेन, बगनासकाली, रिब्दीकोट, रैनादेवी छहरा, तिनाउ, माथागढीमा नयाँ प्रतिनिधि आएका हुन् । अन्य ४ स्थानीय तहमा भने पुरानै जनप्रतिनिधि दोहोरिएका छन् । रामपुर नगरपालीका, निस्दी, पूर्वखोला र रम्भा गाउँपालिकाको नेतृत्वमा भने उही पुरानै व्यक्ति आएका छन् ।

यहाँका चार स्थानीय तहमा भने सत्ता नै परिवर्तन भएको छ । तानसेन नगरपालिका, माथागढी गाउँपालिका, रिब्दीकोट गाउँपालिका र बनासकाली गाउँपालिकामा अहिले फरक दलका प्रनिनिधले सत्ता सम्हालेका छन् । अहिले एमालेले जितेका माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिकामा यस अघि काँग्रेले जितेको थियो । अहिले काँग्रेसले जितेको तानसेन नगरपालिकामा भने यस अघि एमालेले जितेको थियो । त्यस्तै माओवादी केन्द्रले जितेको रिब्दीकोट गाउँपालिकामा यस अघि एमालेले जितेको थियो ।

यहाँ सत्ता चलाउने राजनीतिक दलहरु परिवर्तन भए तर, उनीहरुले ल्याउने नीति तथा कार्यक्रममा भने खासै परिवर्तन भएको देखिदैन । नयाँ जनप्रतिनिधिले ल्याउने नीति तथा कार्यक्रमप्रति धेरैको चासो समेत रहने गर्दछ । तर उनीहरुले ल्याएको पहिलो नीति तथा कार्यक्रम नै जनअपेक्षा भन्दा फरक देखियो । उनीहरुले केही नयाँ योजना ल्याउन प्रयास भने नगरेका होइनन् तर अधिकांस नीति तथा योजनालाई भने हुबहु गरिएको छ । सबैको चासो र ध्यान परिवर्तित सत्तातर्फ हुने भएकाले यस आलेख सत्ता परिवर्तन भएका पाल्पाका चार स्थानीय तहले ल्याएका नीति तथा कार्यक्रममा केन्द्रीत रहेको छ ।

रिब्दीकोटमा अधिकांश पुरानै

रिब्दीकोट गाउँपालिकामा यस अघिको नेतृत्वले ल्याएका प्रायः नीति तथा कार्यक्रम नै अहिले ल्याइएको छ । आर्थिक, सामामाजिक र भौतिक क्षेत्रका अधिकांस योजना पुराना नै छन् । यस अघिका अध्यक्ष एमालेका नारायण जिसीले कृषि तथा पशुपालनलाई व्यवसायिकरण गर्ने, टमाटर, सुन्तला र उत्पादनमा आधारित अनुदान दिने, कृषिको फकेट क्षेत्र बनाउने, पशु विमा कार्य, भैरवस्थानको मन्दिर जलेश्वरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, विद्यालयहरुको भौतिक संरचना बालमैत्री र अपाङ्गमैत्री बनाउने, एक घर एक धाराको नीति, महिलाई स्वरोजगार बनाउने जस्ता कार्यक्रम ल्याउनुभएको थियो ।

आर्थिक बर्ष २०७८/०७९ मा उहाँले ल्याएको नीति तथा कार्यक्रम अहिले माओवादी केन्द्रबाट निर्वाचित नारायण बहादुर कार्कीले पनि ल्याउनुभयो । यी नीति तथा कार्यक्रम केही उदाहरण मात्रै हुन्,। ‘समृद्ध रिब्दीकोटको निर्माणको आधार शिक्षा, कृषि र पर्यटन पूर्वाधार’ नारासहित गाउँपालिकाले चालु आर्थिक बर्षका लागि ल्याएका अधिकांस नीति तथा कार्यक्रमहरु अघिल्लो बर्षकै साभार छन् । अधिकांस प्रदेश सरकार अन्तर्गतका बहुवर्षीय कार्यक्रम भएकाले पनि यसरी पहिलेका कार्यक्रम दोहोरिएको गाउँपालिका अध्यक्ष कार्कीले प्रतिक्रिया दिनुभयो । ‘प्रदेश सरकार अनतर्गतका केही काम भएकाले उनीहरुलाई निरन्तरता दिनु परेको हो, जसले गर्दा केही दोहोरिए होलान्’, उहाँले भन्नुभयो‘ एक वडा, एक पोखरी, म बनाउँछु मेरो रिब्दीकोट, खनौ आफ्नो माटो, छाडौं विदेशको बाटो जस्ता नीति तथा कार्यक्रम नयाँ पनि छन् ।’

गाउँपालिका भित्र साहसिक पर्यटन र साइकल लेनको सम्भाव्य अध्ययन गरिने, विद्यालयमा सिक्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने, सुत्केरी आमा पोसिलो खाना कार्यक्रम , अभिभावक विहिन बालबालिकाको कक्षा १२ सम्मको शिक्षाको जिम्मेवारी लिने जस्ता नीति पनि केही नयाँ छन् ।

बगनासकालीमा पनि अधिकांश साभार

बगनासकाली गाउँपालिकाले पनि ल्याएका नीतिहरु अधिकांस पुरानै छन् । यसअघि काँग्रेसले जितेको उक्त गाउँपालिकामा अहिले एमालेकी सरस्वती चिदी अध्यक्ष हुनुहुन्छ । यहाँ विगतमा जस्ता नीति थिए, अहिले पनि तिनै नीतिलाई हुबहु गरिएको छ ।

गाउँपालिकाले ‘सुन्दर, शान्त, सभ्य बगनासकाली गाउँको सार : आर्थिक, सामाजिक, पर्यटन र पूर्वधार विकासको दीगो आधार’ भन्ने नारा लिएर नीति ल्याएको छ । नीतिमा कृषिलाई प्राथमिकता दिइएको छ । जुन यस अघि नेपाली काँग्रेसका कृष्ण बस्याल नेतृत्वको स्थानीय सरकारले पनि प्राथमिमकता दिएको थियो । कृषि बजारीकरणको व्यवस्था सुनिश्चित गर्ने, आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको कृषि र पशुपालनलाई व्यवसायिकतामा प्रथामिकता दिइने, छुवाछुत तथा भेदभावजन्य क्रियाकलापहरुलाई निरुत्साहित गरिने, बादर, दुम्सी लगायतका बन्यजन्तु् व्यवस्थापन र नियन्त्रण गर्न उचित व्यवस्था गरिने जस्ता नीति गएको आर्थिक बर्ष २०७८/०७९ मा अघिल्लो सरकारले ल्याएको थियो । अहिले यिनै नीति एमालेकी सरस्वती चिदीले पनि ल्याउनुभयो, त्यो पनि जस्ताको त्यस्तै । चिदीले ल्याएको नीतिमा दलित वर्गको उत्थानका लागि मागमा आधारित कार्यक्रम सञ्चालन गर्ने, आदीवासी तथा जनजाति वर्गको समग्र आर्थिक, सामाजिक विकासका लागि सीपमूलक तालिम र सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्न पहल गर्ने, महिलाहरुको क्षमता अभिवृद्धिका लागि आयमूलक, सीपमूलक र रोजगारमूलक कार्यक्रमको व्यवस्था गरिने नीति ल्याउनुभएको छ । अघिल्लो पटक काँग्रेसको सरकारले पनि यीनै कुरालाई प्राथमिकतामा राखेको थियो ।

पहिले कार्यान्वयन नभएका र केही कार्यान्वयन भई नसकिएका कार्यक्रमलाई निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । ‘पुराना हटाउनु पर्ने कार्यक्रम हामीले हटायौं, केही पुराना तर कार्यन्वयन नभएका कार्यक्रम पनि थिए, ति कार्यक्रमलाई समावेश गरेका छौं, भने केही नयाँ पनि ल्याएका छौं’,उहाँले भन्नुभयो । एक किसान ः एक उत्पादनलाई प्राथमिकता , वडागत रुपमा कृषि विशेष क्षेत्र छनौट गरी एक वडाःएक पकेट क्षेत्र बनाइने, किसान परिचयपत्र वितरण गरिने , सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने र ग र घ वर्गको परिचयपत्र वाहकलाई क्रमशः ५ सय र ३ सय मासिक भत्ता दिइने , गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीलाई बाहिर जानबाट रोक्ने र सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई दुर्घटना विमाको व्यवस्था गरिने , जनतासँग जवाफदेही हुनका लागि जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्ने,हाम्रो बनः हाम्रै मन भन्ने अभिप्रायका साथ सामुदायिक तथा सार्वजनिक वन संरक्षण सम्बन्धित सचेतनामूलक कार्यक्रम गर्ने र आयआर्जनमा टेवा पुग्ने खालका जडीबुटी जन्य वृक्षारोपण गर्ने व्यवस्था मिलाइने जस्ता केही नीति भने नयाँ पनि छन् ।

माथागढीमा पनि पुरानालाई नै प्राथमिकता

माथागढी गाउँपालिकामा पनि नयाँ नीति तथा कार्यक्रमले प्राथमिकता पाउन सकेनन् । यस अघि काँग्रेसले जितेको उक्त गाउँपालिकामा अहिले एमालेका यम चिदीले जित्नुभएको छ । यहाँ अघिल्लो स्थानीय सरकारको नेतृत्व गरेका काँग्रेसका सन्तोष थापा मगरले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिनुभएको थियो । अहिलेका अध्यक्ष चिदीले पनि तिनै क्षेत्रलाई चालु आर्थिक वर्ष २०७९÷०८० मा दोहो¥याउनुभएको छ । कृषिका पकेट क्षेत्र कार्यक्रम, कृषिलाई रोजगारीसँग जोड्न विभिन्न प्रविधि, विउविजन लगायतका प्रविधि सहयोग गर्ने, कृषि प्रवद्र्धन तथा कृषि यान्त्रिकरण कार्यक्रम सञ्चालन गर्ने, सौभाग्य मा.वि.मा सञ्चालित प्राविधिक विषयको पठनपाठनलाई व्यवस्थित गरिने, १५ शैयाको अस्पताल निर्माणलाई निरन्तरता दिने, एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिने, शिक्षक, कर्मचारीको विमा जस्ता नीति तथा कार्यक्रम अघिल्लो सरकारले लिएको थियो । यिनै कार्यक्रमलाई अहिलेका एमालेबाट निर्वाचित चिदीले साभार गर्नुभएको छ ।

यद्यपी माथागढीले केही राम्रा कामहरु पनि अघि सारेको छ । उसले वाली विमा, खानीजन्य पदार्थ एवं नदीजन्य पदार्थको उचित सदुपयोग गर्न आवश्यक व्यवस्था मिलाउने, खेलाडी विमाको व्यवस्था गर्ने, महिलाहरुको आङ्ग खस्ने समस्या तथा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्ग शिविर सञ्चालन गर्ने, विद्यालयहरुमा क्रमशः इन्टरनेट पु¥याउने जस्ता कुराहरु नीतिमा ल्याएको छ । ‘केही पुराना कार्यक्रम भएपनि, धेरै कुरा नयाँ ल्याएका छौं’, अध्यक्ष चिदीले भन्नुभयो ‘हामीले स–साना कुराबाट परिवर्तन गर्दै जाने र जनताले महशुस हुने गरि काम गर्ने नीति ल्याएका छौं ।’ राम्रो र जनतालाई हित हुने कुराहरुलाई निरन्तरता दिइएको उहाँको भनाई छ । अध्यक्ष चिदीले भन्नुभयो ‘जनप्रतिनिधि परिवर्तन हुँदैमा सबै नीति परिवर्तन गर्नुपर्छ भन्ने छैन्, पहिलेकै सरकारले ल्याएका केही राम्रा विषयहरुलाई पनि अविच्छिन्न निरन्तरता दिन सकिन्छ ।’

तानसेन नगरपालिकामा पनि उस्तै

तानसेन नगरपालिकाले ‘सुव्यवस्थित पूर्वधार, पहिचनामूलक उत्पादन र हरित वातावरणयुक्त पर्यटकीय, समावेशी, सांस्कृतिक नगर’ नारा दिएर चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ । छोरी शिक्षा कार्यक्रम प्रभावकारी बनाइने, विद्यार्थी संख्या बढी भएका तथा शिक्षक संख्या न्यून भएका विद्यालयहरुमा शिक्षक सहयोग अनुदान उपलब्ध गराइने, स्थानीय पाठ्यक्रमको कार्यान्वयनलाई व्यवस्थित गरिने, पशु र वाली विमाको सहज कार्यान्वयन गरिने जस्ता नीति तथा कार्यक्रम नगर सरकारले अगाडि सारेको छ । जुन अघिल्लो सरकारले नै ल्याएको थियो । शीत भण्डार निर्माणलाई पूर्णता दिन विशेष पहल गरिने छ , नगरकै गौरवको रुपमा रहेको ‘विग बुद्ध आयोजना’को निर्माण कार्य थालनी गरिने छ , नगर क्षेत्रका मठमन्दिर, मदरसा, गुम्बा, विहार, चैत्य, चर्च, मस्जिद संरक्षणका लागि आवश्यक व्यवस्था मिलाइने छ, पाल्पा दरबार संंग्रहालयको विकासका लागि संघीय सरकार तथा प्रदेश सरकारसँग समन्वय र साझेदारी गरिने छ, भूमिहिन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्रदान गर्न आवश्यक कार्य अगाडि बढाइने छ, वनदेवीमा वातावरण मैत्री बसपार्क निर्माण गरिने छ, नगर क्षेत्रमा पार्किङ्ग पूर्वधार व्यवस्थित बनाइने छ भन्ने कुरा पनि त्यतिबेलै नीति तथा कार्यक्रममा समावेश थियो । यी कार्यक्रम अहिले पनि हुबहु रुपमा आएका छन् ।

नगरपालिकामा यस अघिको निर्वाचनमा एमालेबाट अशोक कुमार शाहीले जित्नुभएको थियो । अहिले काँग्रेसका सन्तोषलाल श्रेष्ठले जित्नुभयो । तर, नीति भने एमालेकै पालमा ल्याएकाले निरन्तारता पाए । यद्यपी तानसेन नगर सरकारले केही राम्रा काम र अभ्यासहरु पनि अघि नसारेको भने होइन । उसले उपमेयरसँग सुत्केरी पोषण कार्यक्रम, रैथाने जातको वालीको संरक्षण र प्रवद्र्धनका साथै ‘एक वडा एक उत्पादन’ कार्यक्रम, दूध उत्पादन वृद्धि गर्न गाई र भैसीपालक व्यवसायिक समूह वा किसानालाई उत्पादनको आधारमा प्रतिलिटर दूधमा सहकारीमार्फत अनुदान दिने व्यवस्था, संघीय सरकार, प्रदेश सरकार र ढाका संघ पाल्पाको सहकार्यमा ढाका मेला आयोजना गर्ने, पाल्पाली करुवाको विकास र प्रवद्र्धन गर्ने, तानसेन नगरपालिकाको उपयुक्त स्थानमा पाल्पाली ढाका टोपीको प्रतिक निर्माण गर्ने जस्ता कुराहरु नीतिमा ल्याएर कार्यान्वयन पनि गरेको छ । कार्यान्वयन भइरहेका कार्यक्रम भएकाले केही दोहोरिएको हुन सक्ने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । ‘अघिल्लो सरकारले ल्याएर पुरा गर्न नसकेका कार्यक्रमलाई हामीले निरन्तरता दिएका हौंं’, उहाँले भन्नुभयो । ‘पुराना कार्यक्रमहरुबाट पनि हामीले रिफ्रेन्स लिनु पर्ने हुन्छ’,नगर प्रमुख श्रेष्ठले भन्नुभयो ‘त्यही आधारमा केही पुराना कार्यक्रम पर्नु स्वभाबिक पनि हो, तर, धेरै नयाँ गर्ने प्रयास गरेका छौं ।’

यहाँ सत्ता परिवर्तन भए पनि लगातार पाँच वर्षदेखि प्राथमिकतामा पर्दै आएका सडक निर्माण, सडकको स्तर सुधार, खानेपानी योजना, सिँचाइका साना योजना, मठमन्दिरको जीर्णोद्धार र सामुदायिक निर्माण जस्ता विकास योजना यस पटक पनि प्राथमिकतामा छन् । ‘नयाँ जनप्रतिनिधि आए पनि जनताले फरक अनुभूति पाउने कुनै कार्यक्रम आएनन्,’ तानसेनका हरि थापाले भन्नुभयो, ‘सबै कुरा कपिपेस्ट भएपछि हामीले कसरी समृद्धिको आशा गर्ने ?’ ‘जे जे गर्दा विगतका जनप्रतिनिधिको आलोचना हुन्थ्यो, अहिले पनि त्योभन्दा फरक किसिमले जनप्रतिनिधि हिँड्न सकेका छैनन्,’ उहाँले भन्नुभयो । अझै पनि स्थानीय सरकारको महत्व स्वयम् जनप्रतिनिधिले पनि बुझ्न नसकेको पनि थापाले गुनासो गरर्नुभयो । ‘अधिकांश विकास बजेट र योजना कार्यकर्तामूखी, भागबण्डा गरेर बाँडीचुँडी गर्ने किसिमले बनाउने काम अहिले पनि जारी छ,’ उहाँले भन्नुभयो, ‘विगतमा जनप्रतिनिधिको जसरी आलोचना भयो त्यही बाटो नयाँ जनप्रतिनिधि पनि हिँड्न थालेको देखिएको छ ।’

 

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?