म्याग्दीमा निर्माणाधिन रावण पार्क : लथालिङ्ग काम भताभुङ्ग संरचना

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 6 mins

म्याग्दी । हिन्दूहरुका धार्मिक ग्रन्थ श्रीमद्भागवत महापुराण,रामायण र महाभारतमा वर्णन गरिएको पुलहाश्रम क्षेत्र म्याग्दी जिल्लामा पर्दछ ।

श्रीमद्भागवत महापुराणको सप्तम स्कन्दको अध्याय १४ को दण्डकका अनुसार पुलस्त्य पुलहाश्रम क्षेत्र विश्वका अति पवित्र १५ तीर्थस्थलमध्ये एक मानिन्छ ।

पुराणप्रसिद्ध ३ ऋषिहरू पुलह, पुलस्त्य र विश्रवा म्याग्दी पुलाको पछैमा अध्ययन र चिन्तनमनन गर्दै बसेको पुराणमा उल्लेख छ ।

पुराणका अनुसार यही क्षेत्रमा रामायणमा खल पात्रको रुपमा वर्णन गरिएका लंकाका राजा रावणको जन्म भएको थियो ।
रावणको जन्म भएको यही ठाउँमा संसारकै एक मात्र रावणपार्क बनाउने उद्धेश्यले बेनी नगरपालिकाले योजना निर्माण गरेर पार्क निर्माणको जिम्मा ठेकेदारलाई दिएको थियो ।
पूर्वाधारका लागि काठमाडौको धर्मा एस कास्यप जेभीले गत भदौमा एक करोड ७६ लाख ७७ हजार ५६३ मा ठेक्का सम्झौता गरेको थियो ।

पहिलो चरणमा रावणको मुर्ति, बगैचा, बिश्राम स्थल लगायतका पुर्बाधार तयार गर्ने योजना थियो । पर्यटन मन्त्रालयले २ करोड ११ लाख र नगरपालिकाले एक करोड १४ लाख बिनियोजन गरेर ठेक्का आव्हान गरेको थियो ।
तर, भएको कामको समेत भुक्तानी नभएको भनेर ठेकेदार कम्पनीले काम रोकेर हिडेपछि रावणको मुर्ती राख्ने पार्कमा झार उम्रिएको छ भने आसपासका क्षेत्रमा माटो थुप्रिएको छ। मन्दिर आसपासका क्षेत्र उजाड देखिन्छ । यहाँको पहिलेको संरचनासमेत भताभुङ्ग भएको छ । काम लथालिङ्ग छ ।

संस्कृति, पर्यटन तथा नागरिक उद्यन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिका–५,पछैमा प्रारम्भिक चरणको भौतिक संरचनाको काम सकिएपनि थप पूर्वाधारमा बजेट अभावले भविष्य के हुने भन्ने अन्योलता रहेको छ ।
परिकल्पना भएको एक दशकसम्म विवाद र अलमलले अलपत्र परेको अवस्थामा बेनी नगरपालिकाको पहलमा तथा निरन्तर सक्रियताले बजेटको सुनिश्चितता सँगै पौराणिक प्रमाणलाई यथावत् राखेर आश्रम आसपासको क्षेत्रमा बगैंचा, विश्रामस्थल, लगायत आसपासका क्षेत्रमा घेराबार सहितको पूर्वाधार बनाउने काम सुरु गरिएको अवस्थामा अहिले रोकिएको स्थानीयबासी शिव बानियाँले जानकारी दिनुभयो ।
‘ठेकेदारले यहाँको स्रोत नै लुटे, स्थानीयसँग समन्वय समेत गरेन्,पहिलेको सुन्दरतालाई झन कुरुप बनाए’ बानियाँले भन्नुभयो । स्थानीयले अहिले रोकिएको काम, ठेकेदार, स्थानीय सरोकारवाला निकाय लगायतको बेवास्ताले अस्तब्यस्त भएको बताएका छन् ।

काठमाडौंमा रावणको मुर्ति बनाउने काम सकिएपनि बजेट अभाव भएपछि बेनी नगरपालिकाको लोकप्रिय योजनामा केन्द्रबाट बजेट प्राप्त हुन नसकेको बेनी नगरपालिकाले जनाएको छ ।
पुलह पुलत्स्य क्षेत्रको १४ रोपनी जग्गामध्ये पहिलो चरणमा चार रोपनीमा रावण पार्क बनाउन घेरावार सहितको संरचनाको तयारी गरिएको थियो ।

डिपिआरमा उल्लेख भए अनुसार हालको मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडेको मानिने ठाउँ लगायत पुरानो संरचनालाई यथावत् राखेर पूर्वाधार बनाउनुपर्नेमा अहिले बजेट अभावमा योजना अलपत्र परेको बेनी नगरपालिकाका मेयर सुरत केसीले बताउनु भयो ।
‘रोकिएको काम सुचारु गर्न निरन्तर पहल गरेका छौ, बजेट नआउने निश्चित भए स्थानीय स्रोतबाटै योजना सम्पन्न गछौ’ मेयर केसीले भन्नुभयो ।
२३ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा केन्द्रबाटै बजेट नआएपछि काम रोकिएको नगरपालिकाले जनाइएको छ ।

समुन्द्रि सतहदेखि दुई हजार मिटरको उचाइमा अवस्थित पछैबाट बागलुङ र पर्वत जिल्लाको विभिन्न भूगाग सँगै आधा दर्जन हिमश्रृंखला समेत देखिन्छ ।

पुराणका अनुसार विश्रवा ऋषिको छोरा रावणको जन्म यही पुलस्त्य आश्रममा नै भएको उल्लेख छ ।
सत्ययुगमा पुलह र पौलस्त ऋषिले यहाँ तपस्या गरेर हवन (यज्ञ) गर्न लाग्दा पानी पर्न थालेको उल्लेख पाइन्छ ।

ऋषिद्वयले इन्द्रसँग प्रार्थना गरेर यज्ञ सम्पन्न भएपछि मात्र वर्षा गराउन आग्रह गरेपछि धेरै समयपछि मात्र पानी परेको कुरा श्रीमद्भागवत महापुराणमा उल्लेख भएको पुलह, पुलस्त्य मन्दिरका पुजारी जगदिश सुवेदीले बताउनु भयो । उहाँका अनुसार ओढारभित्र यज्ञका अवशेष चरु भेटिनुले पनि यो ठाउँको महत्व उजागर गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?