म्युनिख र साल्जवर्गबीच रोमाञ्चक बराबरी

Read Time = 3 mins

म्युनिख । जर्मन क्लब बायर्न म्युनिख र अष्ट्रियन क्लब आरबी साल्जवर्गबीचको मैत्रीपूर्ण खेल चार-चार गोलको रोमाञ्चक बराबरीमा सकिएको छ । बायर्नले तीन मिनेटको अन्तरमा दुई गोल गर्दै खेललाई तीन-तीन गोलको बराबरी ल्याएको थियो भने अन्तिम समयमा दुवै टोलीले एक-एक गोल थपेका थिए ।

खेलको नवौँ मिनेटमा लिरोए सानेको गोलबाट म्युनिखले अग्रता लियो । १७औँ मिनेटमा साल्जवर्गका सेकोउ कोइटाले बराबरी गोल फर्काउनुभयो । दोस्रो हाफमा साल्जवर्गले ३ मिनेटमा दुई गोल गरेर खेलमा म्युनिखलाई तीन-एकले पछि पार्‍यो ।

साल्जवर्गका लागि ५१औँ मिनेटमा करिम कोनाटे र ५४औँ मिनेटमा नोहा ओकाफरले लगातार दुई गोल फर्काउनुभएको थियो । ६९औँ मिनेटमा अर्जोन इब्राहिमोभिचले तथा त्यसको दुई मिनेटपछि किङ्स कोमानले गोल गरेपछि बायर्नले खेलमा तीन-तीन गोलको बराबरी गर्‍यो ।

८८औँ मिनेटमा माथिस टेलले पुनः गोल गर्दा अर्को मिनेटमा साल्जवर्गका नोहा ओकाफरले बराबरी गोल फर्काउनुभएको थियो ।
यता इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले लिड्स युनाइटेडलाई दुई-एक गोलअन्तरले पराजित गरेको छ । भिल्लाको जितमा लिओन बेइली र इमिलियानो बुइन्डियाले गोल गर्नुभयो । भिल्लाका प्याट्रिक बामफोर्डले एक गोल फर्काउनुभयो ।

जितसँगै भिल्ला १९ खेलबाट २५ अंक जोडेर ११औँ स्थानमा यथावत् रहेको छ । पराजित लिड्स १८ खेलबाट १७ अंक जोडेर १४औँ स्थानमा छ ।

इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले शीर्षस्थानमा रहेको नेपोलीसँग पाँच-एकको लज्जास्पद हार बेहोर्‍यो । नेपोलीको फराकिलो जितमा भिक्टर ओसिमहेनले दुई तथा खभिचा कभारचकेलिया, एमिर रहमानी र इल्जिफ इल्मासले समान एक-एक गोल गर्नुभयो । युभेन्ट्सका एन्जल डि मारियाले एक गोल फर्काउनुभएको थियो ।

यस जितसँगै नेपोलीले शीर्षस्थानमा १० अंकको अग्रता कायम गरेको छ । नेपोलीको १८ खेलबाट ४७ अंक पुगेको छ । एक खेल कम खेलेको एसी मिलानको २७ अंक छ । पराजित युभेन्ट्सले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । युभेन्ट्सको १८ खेलबाट ३७ अंक छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?