भन्सार प्रक्रिया सहजीकरणमा जोड

Read Time = 4 mins

काठमाडौं । अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा नेपाल समुद्रपार निकासी पैठारी संघले काठमाडौंमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । अर्थ मन्त्रालयका सचिव तोयम राया, राजस्व सचिव रामप्रसाद घिमिरे, भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढा, आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली, राजस्व अनुसन्धान विभागका महानिर्देशक मदन दाहाललगायत नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रको सहभागिता रहेको अन्तक्र्रियामा संघका अध्यक्ष विनोदकुमार सेठियाले भन्सार सहजीकरणका लागि आग्रह गर्नुभयो । विगतको तुलनामा निकै सुधार आए पनि गर्न बाँकी काम अझै धेरै रहेको भन्दै उहाँले भन्सार नेतृत्व छिटो–छिटो परिवर्तन नगर्न सुझावसमेत दिनुभयो ।

भन्सार कार्यालयहरूले एलसीबाट भुक्तानी हुने गरी आयात भएको, उत्पादकबाटै सिपमेन्ट भएको र भन्सारको मार्गदर्शनअनुसार नै आयात भएको वस्तुको हकमा पनि बिल मूल्यलाई मान्यता नदिने गरेको गुनासो गर्दै उहाँले सन्दर्भ मूल्यांकन पुस्तिका हटाई कारोबार मूल्यलाई मान्यता दिनुपर्ने माग गर्नुभयो । सन्दर्भ मूल्यांकनले विदेशी मुद्राको अपचलनदेखि अधिक र न्यून बिजकीकरणको जोखिम बढेको उहाँको भनाइ थियो ।

त्यस्तै, अध्यक्ष सेठियाले पुनः मूल्यांकनका लागि आवेदन दिएका हजारौं फाइल लामो समयदेखि अनिर्णित रहेको, वस्तु वर्गीकरणको हार्मोनिक सिस्टम कोड आठ अंकबाट बढाएर १० गर्नुपर्ने र बढी महसुल असुल्ने उद्देश्यले वर्गीकरण परिवर्तन गर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताउनुभयो । न्यून बिजकीकरण न्यूनीकरण र स्वदेशी उद्योग संरक्षणका लागि आयात हुने वस्तुको इकाईमा भन्सार लगाउनुपर्ने सुझाव दिँदै भन्सार महसुलका सन्दर्भमा पूर्वादेश दिने व्यवस्थाप्रति असन्तुष्टि जनाउनुभयो । भन्सार पुनः मूल्यांकन समितिमा निजी क्षेत्रको प्रतिनिधित्व गराउन र चोभार सुक्खा बन्दरगाहमा व्यवसायी आकर्षित हुने वातावरण बनाउन पनि उहाँले आग्रह गर्नुभयो ।

विश्व भन्सार संगठनका सल्लाहकार श्याम दाहालले भन्सार क्षेत्रको अवस्था र गर्नुपर्ने सुधारका विषयमा प्रस्तुति दिनुभएको थियो भने अर्थ सचिव, राजस्व सचिव र भन्सार विभागका महानिर्देशकले संघ तथा निजी क्षेत्रले उठाएका प्रश्नहरूको जवाफ दिनुभएको थियो । कार्यक्रममा नेपाल चेम्बरका उपाध्यक्ष कमलेशकुमार अग्रवाल र महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, संघका प्रथम उपाध्यक्ष शिवकुमार अग्रवाललगायतले पनि भन्सार सहजीकरणमा जोड दिनुभएको संघका अध्यक्ष अनिलकुमार अग्रवालले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?