कालीगण्डकीको शिला विधिपूर्वक अयोध्यामा हस्तान्तरण

हिमालय टाइम्स
Read Time = 7 mins

अयोध्या । भारत उत्तर प्रदेशस्थित अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने भगवान् श्रीरामको मूर्ति बनाउन कालीगण्डकीबाट उत्खनन गरी ल्याइएको शिला हस्तान्तरण गरिएको छ । बिहीबार अयोध्यामा एक समारोहबीच जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले उक्त शिला राम जन्मभूमि मन्दिर निर्माण ट्रष्टका महासचिव चम्पत रायलाई हस्तान्तरण गर्नुभएको हो । समारोहमा विधिवत पूजा पाठ र मन्त्रोचारण गरिएको थियो । शिला हस्तान्तरण समारोहमा नेपाली कांग्रेसका नेता, पूर्व–उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसहित नेपालबाट आएका सयौँ मानिसहरूको सहभागिता थियो । हिन्दू परम्पराअनुसार पूजापाठ गरी मन्दिरका लागि कलात्मक मूर्ति लगायतका सामग्री निर्माणस्थल रामसेवकपुरममा उक्त शिला हस्तान्तरण गरिएको हो ।

शिला हस्तान्तरण कार्यक्रममा सयौँ साधुहरूको पनि उपस्थिति थियो । उनीहरूले शिलालाई रामको स्वरूप मानेर पूजाआजा गरेका थिए । ऐतिहासिक यो अवसरको समाचार संकलनका लागि दुवै देशबाट ठूलो संख्यामा सञ्चारकर्मीहरू जम्मा भएका थिए । शिला पूजापछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता निधिले राम जन्मभूमिमै आएर शिला हस्तान्तरण गर्न पाउनु आफ्नो सौभाग्य भएको भन्दै यो कामलाई सफल बनाउने भारतीय पक्षका सबै अधिकारीलाई नेपालको तर्फबाट आभार व्यक्त गर्नुभयो ।

त्यसैगरी, महन्थ दासका उत्तराधिकारी रोशन दासले जानकी मन्दिरको तर्फबाट पत्र वाचन गर्दै सो पत्र पनि ट्रष्टका महासचिव रायलाई हस्तान्तरण गर्नुभयो । शिला बुझ्नुहुँदै महासचिव रायले जनकपुर र अयोध्याको सम्बन्ध अवर्णनीय रहेकाले यो सम्बन्धलाई देवशिलाले थप प्रगाढ बनाएको धारणा राख्नुभयो । उहाँले यो पुनित कार्यको सफलताका लागि सहयोग गर्ने सबै पक्षलाई धन्यवादसमेत दिनुभयो ।

जानकी मन्दिरका महन्थ दासले युगौँदेखि चलिआएको नेपाल-भारतको सांस्कृतिक, धार्मिक, व्यापारिक एवम् नागरिक सम्बन्धलाई देवशिलाले मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भगवान् राम र माता सीताको वैवाहिक सम्बन्धसँगै स्थापित यो सम्बन्ध चन्द्र, सूर्य र यो ब्रह्माण्ड रहेसम्म कसैले कमजोर बनाउन नसक्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी, राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजले पवित्र देवभूमि नेपालको कालीगण्डकी नदीबाट शिला ल्याउनु एक ऐतिहासिक र पुण्य काम भएको भन्दै यसबाट दुवै देशले लाभ उठाउने बताउनुभयो ।

रामको जन्मस्थल भारतको अयोध्यामा भव्य राम मन्दिरको निर्माण भइरहेको छ । मन्दिरमा राखिने रामको मूर्ति निर्माणका लागि कालीगण्डकी नदीबाट शिला ल्याइएको हो । शालीग्राम पत्थर पाइने भएकाले कालीगण्डकी नदीको शिलाको छनोट गरिएको हो । म्याग्दीको कालीगण्डकी नदीबाट शिला उत्खननदेखि त्यसलाई अयोध्या पुर्‍याउने क्रममा बाटामा हजारौँ भक्तजनले शिलालाई रामको स्वरूप मानेर पूजाआजा गरेका थिए । लामो समयको विवादपछि अयोध्यामा राम मन्दिरको निर्माण भइरहेको छ । राम जन्मभूमिस्थल विवादित थियो । मुसलमान समूदायको बाबरी मस्जिद र हिन्दुको मन्दिरलाई लिएर वर्षौं विवाद कायम थियो । एउटै जमिनलाई हिन्दुहरूले रामजन्म भूमि र मुसलमानले आफ्नो पवित्र मस्जिदको स्थान दाबी गर्दै आएका थिए । भारतको सर्वोच्च अदालतले ९ नोभेम्बर २०१९ मा राम जन्मभूमिको पक्षमा फैसला सुनाएपछि मन्दिरको निर्माण हुँदै छ ।

अयोध्या पुर्‍याइएका दुईवटा शिलामध्ये एउटा १८ टनको छ भने अर्को १६ टनको छ । १६ टनको शिलामूनी चतुर्भुज शालीग्राम भेटिएको थियो । माघ १२ गते म्याग्दीको बेनी नगरपालिका-६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिला माघ १६ गते जनकपुरधामबाट अयोध्यातर्फ प्रस्थान गरेकोमा दुई दिनपछि बुधबार अयोध्या पुगेको थियो । अयोध्या प्रवेशसँगै बुधबार श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका महासचिव चंपत रायले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिला ल्याएर यहाँ आउनुभएका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसहितलाई स्वागत गर्नुभएको थियो ।

बिहीबार हस्तान्तरण गरिएको शिलाबाट राममन्दिरको गर्भभागमा राखिने रामको बालस्वरूप बनाइनेछ । मन्दिर आगामी जनवरी २०२४ मा निर्माण सम्पन्न भई उद्घाटन गर्ने लक्ष्यका साथ काम भइरहेको मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजले जानकारी दिनुभयो । १८ सय करोडको लागतमा भारत सरकारले राम मन्दिरको निर्माण गर्दै छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?