घुस मागेको आरोपमा विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनमा

यज्ञराज पाण्डे
Read Time = 5 mins

काठमाडौं । गैरकानुनी तरिकाले लाभ लिन खोजेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार एक विदेशी वायुसेवा कम्पनीसँग घुस मागेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका हुन् ।

सोमबार जाँचबुझ गर्ने सिलसिलामा पदबाट निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई लेखी पठाइएको उहाँले बताउनुभयो । साथै यो विषय छानबिनका लागि अख्तियार अनुसन्धान आयोगमा समेत पठाइने बताइएको छ ।

घुस रकमका लागि कुरा गरिएको अडियो बाहिरियो
त्यसो त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएको छ । श्रव्य सामग्रीमा के कति रकम मागिएको भन्ने विषय भने पत्रमा खुलाइएको छैन ।

हाल बन्द रहेको थाई एयरवेजले पाएको ग्राउण्ड ह्याण्डलिङलाई निरन्तरता दिन ठाकुरले एयरवेजका एक अधिकारीसँग ‘अन्डरटेबल’ रकम मागेका थिए । बाहिरिएको एक अडिओमा ठाकुरले एयरवेजका अधिकारीसँग गरेको कुराकानी सुनिएको छ । उक्त कुराकानीको दौरान एयरवेजका अधिकारीले रकमको विषयमा आफूले माथिल्लो निकायमा कुरा गरेको, तर इन्भोइस (रसिद) बिना दिन नमिल्ने जवाफ आएको बताउनुहुन्छ ।

त्यसपछि ठाकुरले यसको सबै जिम्मा आफूले एक व्यवसायीलाई दिएको उल्लेख गरेका छन् । महाप्रबन्धक ठाकुरले घुसको रकम पनि उसैले बताउने उल्लेख गरेका छन् । ‘उसले नै सबै मिलाउँछ, इन्भाइसका लागि पनि उसलाई नै भन्नुस्,’ उनी भन्छन् । ठाकुरले थाई एयरवेजको वेलफेयर फण्ड (कल्याणकारी कोष)बाट सो रकम उपलब्ध गराउन सकिने भन्दै यसका लागि बोससँग कुरा गर्नसमेत सुझाव पनि दिएका छन् । तर, एयरवेजका अधिकारीले इन्भोइसबिना रकम निकासा गर्न गाह्रो हुने गुनासो गर्नुहुन्छ ।

भ्रष्टाचारविरुद्ध पर्यटनमन्त्री किराँती
यसैबीच, ठाकुरलाई नागरिक उड्डयन तथा पर्यटनमन्त्री सुदन किराँतीले निलम्बन गर्नुभएको हो । मन्त्रीसमक्ष पनि सो अडिओ पुगिसकेको छ । पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा र सरसफाइ द्रुत हुनुपर्ने भन्दै तीव्र रूपमा चासो दिएर अनुगमनका साथै निर्देशन दिने गर्नुभएको छ । साथै मन्त्री किराँतीले सामाजिक सञ्जालमा निर्ममतापूर्वक निर्णय गर्नुपर्ने चार कारणहरू उल्लेख गर्नुभएको छ ।

चार कारणहरूमा उहाँले पहिलोमा सम्माननीय प्रधानमन्त्रीज्यूले दिएको निर्देशन, दोस्रोमा भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने नेपाल सरकारको नीति, तेस्रोमा देश र जनताको निम्ति हामीले खाएको शपथ र चौथो कारणमा हामीलाई परिणाम नल्याउने छुट नभएको भनी उल्लेख गर्नुभएको छ । साथै उहाँले अन्तमा लेख्नुभएको छ, ‘अन्तमा भ्रष्टाचार हाम्रो महाशत्रु हो । भ्रष्टाचारमाथि विजय आजको आवश्यकता हो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?