सिद्धबाबामा सुुरुङमार्गको काम अगाडि बढ्यो

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 5 mins

पाल्पा । ज्यानमारा सडकका रूपमा चिनिएको सिद्धार्थ राजमार्गमा सुरुङमार्ग निर्माणको काम अगाडि बढेको छ । लामो समयको कसरतपछि अन्ततः यहाँ सुुरुङमार्ग बन्ने निश्चित भएको हो । स्रोत व्यवस्थापन, ठेक्का प्रक्रिया सबै काम पूरा भएर निर्माण कार्य सुरु भएपछि अब समयमा पूरा हुन्छ वा हुँदैन भन्ने चासो बढेको छ । वर्षामा हिलोसहित र हिउँद ढुंगासहितको धुले पहिरो यो सडकको चुनौती हो । वर्षौंदेखि मृत्युमार्गका रूपमा जनजिब्रोमा बसेकाले यसको वैकल्पिक योजनाको खोजी भइरहेको थियो ।

ठेक्का सम्झौता गरेको नौ महिनापछि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कम्पनीले सिद्धबाबा सुरुङमार्गको विस्तृत डिजाइन सडक विभागलाई बुझाएको छ । आयोजनाको डिजाइन तयार भएसँगै अहिले निर्माणको काम अगाडि बढेको छ । यहाँको सुरुङमार्ग पूर्व–तयारीका लागि सिद्धार्थ राजमार्गको दोभान-चिडियाखोला खण्ड दैनिक आठ घण्टा बन्द गरी काम गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको राजमार्ग सुरक्षा समितिको बैठकले फागुन १३ गते शनिबारदेखि दिउँसो र रातिको समयमा सिद्धार्थ राजमार्ग बन्द गरी निर्माण कार्यलाई सहज बनाउने निर्णय गरेको हो ।

वैकल्पिक सडक व्यवस्थापन गरेर बिहान ११ बजेदेखि २ बजेसम्म र रातिको समयमा १० बजेदेखि ३ बजेसम्म सडक बन्द हुने प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुुभयो । समितिको बैठकले सिद्धबाबामा सुरुङमार्ग निर्माण कार्यको पूर्व–तयारीको काम रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण गर्न तत्कालका लागि १५ दिन राजमार्ग बन्द गरेर काम गर्न दिइने निर्णय गरेको उहाँले बताउनुुभयो । सडक बन्द रहेको समयमा आकस्मिक रूपमा यात्रा गर्नुपर्ने र साना÷मझौला सवारी साधनका लागि दोभान–नुवाकोट खण्डको भित्री सडक प्रयोग गर्न सकिने छ । जसका लागि बैठकले निर्माण व्यवसायीलाई उक्त सडकको आवश्यक मर्मत गर्न निर्देशन दिएको छ ।

सिद्धबाबामा सुरुङमार्ग निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले तत्काल स्तरोन्नति गर्ने सहमति गरेको छ । कम्पनीले सात अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको ठेक्का लिएर पूर्व–तयारीको काम गरिरहेको छ । सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्म एक हजार १२६ मिटर दूरी रहेको सुरुङको पूर्व–तयारीको काम भइरहेको सिद्धबाबामा सुरुङमार्ग योजनाका प्रमुख होमबहादुर एसीले बताउनुुभयो । सुरुङमार्ग निर्माण कम्पनीले सम्झौताअनुसार डिपिआरको काम सकेर सडक विभागलाई बुझाइसकेको छ । ठेक्का सम्झौता गरेको नौ महिनापछि कम्पनीले विस्तृत डिजाइन सडक विभागलाई बुझाएको हो ।

साइट क्याम्प बनाउने, वाल लगाउने, साइट क्लियरेन्स गर्ने, डाइभर्सन सडक बनाउने, गुणस्तर मापनको ल्याब इन्सटल गर्ने, क्रसर प्लान्ट बनाउने लगायतका पूर्व–तयारीको काम अघि बढिसकेको छ । अब वाटरट्यांक बनाउने, हेलिप्याड बनाउने लगायतका काम बाँकी छन् । त्यो अवस्थामा अबको डेढ महिनामा आयोजनाको निर्माण औपचारिक रूपमा सुरु गर्न सकिने आयोजना प्रमुख एसीले बताउनुुभयो । निर्माण कम्पनीसँग पाँच वर्ष अवधिका लागि ठेक्का सम्झौता गरेकोमा त्यसमा नौ महिना आयोजनाको डिजाइनमै सकिएको छ । अब बाँकी रहेको चार वर्ष तीन महिनामा आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने छ । ठेक्का सम्झौताअनुसार निर्माण सम्पन्न भएपछि थप पाँच वर्ष आयोजनाको सञ्चालन तथा मर्मत गर्ने कामसमेत चिनियाँ कम्पनीले गर्नुपर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?