आर्थिक अस्थिरता झेलिरेहका छिमेकी र भारतीय चिन्ताको अर्थ

Read Time = 9 mins

✍️ लोकनारायण सुवेदी

भारतले आफ्ना वरिपरिका छिमेकी देशहरूको अस्थिर आर्थिक स्थितिको कस्तो अर्थ लगाउँदैछ र केको चिन्ता गर्दैछ त्यसबाट छिमेकी देशहरूले सिक्नुपर्ने आवश्यकता छ । उसले आर्थिक अस्थिरताको भुँमरीमा परेको श्रीलंकालाई आफूले उद्धार गरेको र डुब्न लागेको स्थितिबाट बाहिर निकालेको दाबी गर्दैैैछ र भन्दैछ कि श्रीलंकाले आफ्नो सशस्त्र बललाई घटाउँदै लगेर सानो आकार बनाउनु एउटा राम्रो काम हो । यसले श्रीलंकाको आर्थिक भारलाई केही हल्का बनाउँदछ र राज्यकोषमाथिको दबाब घट्छ । भारतले श्रीलंकाले ठूलो सैनिकबल राख्नु उचित र आवश्यक पनि छैन भन्ने उपदेशसमेत दिँदैछ ।

उता विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष जस्ता आर्थिक संस्थाहरूले भारतीय अर्थ व्यवस्थाका बारेमा केही आशा दिलाउन खोजिरहेका छन् । खास गरेर जिडिपी अभिवृद्धि हुने अनुमान तिनले गरेका छन् । तर भारत वरिपरिका छिमेकी देशहरूमा उदाउँदो भूराजनीतिक स्थिति भारतका लागि चिन्ताको एउटा प्रमुख स्रोत रहेको देखिन्छ । अनि यो उपमहाद्वीपमा लड्खडाउँदो अर्थ व्यवस्थाको स्थितिलाई त्यसले अझ खराब तुल्याउने देखिँदैछ । भारत यतिबेला विश्वको गिर्दो र मन्दीआक्रान्त अर्थ व्यवस्थाबीच आफूलाई तुलनात्मक रूपमा सुरक्षित स्थानमा हुनसक्छ तर छिमेकी श्रीलंका, पाकिस्तान, नेपाल, म्यानमार आदि देशहरूलाई भारतले टाट पल्टिने अवस्थामा पुग्न थालेको र ठूलो ऋण–जालको दिशामा बढिरहेको औंल्याउन थालेको छ । भारतले बंगालादेश र माल्दिभ्सको आर्थिक स्थितिलाई पनि त्यति सहज नभएको र गम्भीर नकारात्मक जोखिमको चुनौती झेलिरहेकै मान्दछ ।

नेपालका बारेमा भारतले संकीर्ण स्वार्थको दृष्टिकोणले नेपाल चीनतिर ढल्केको हौवा पिटाएर आफ्नो चौतर्फी प्रभाव क्षेत्रबाट नेपाल कतै उम्किन त लागेको छैन भन्ने कुरामा सबैभन्दा बढी चिन्तित रहेको देखिँदैछ र नेपालभित्र आफ्नो पकड जमाउन हरकिसिमले अझ अग्रसर हुँदै गरेको देखिँदै आएको छ ।

यसका अतिरिक्त चीनको केही मन्द किसिमले चलिरहेको अर्थव्यवस्था र निकै अनियन्त्रित बन्न खोजेको कोभिड–१९ को नयाँ भेरिएन्ट बिए–७ को स्थितिलाई समेत ध्यानमा राखेर भारतले चीनसँगको सीमाविवाद र बेलाबेलामा हुने गरेका सैनिक झडपसमेतबाट उत्पन्न हुने गरेको भूराजनीतिक स्थिति जस्ता मुद्दालाई उठाउने गर्दै आएको छ । चीनको ताइवानसँग अमेरिकी सम्बन्धले चीन र अमेरिकाकाबीच बढ्दो गतिरोधले पनि स्थितिलाई अझ खराब तुल्याइरहेको समेत भारतको आकलन छ । चीनमाको भीड नियन्त्रण गर्न गरिँदै आएको निकै कडा लकडाउन र त्यसले उत्पन्न गर्ने स्थिति, चीनलाई कथित लोकतान्त्रिक तुल्याइनुपर्ने आवश्यकता र चिनियाँ अधिकारीको कथित मनोमानीले समेत भूराजनीतिक स्थितिलाई धेरै कठिन तुल्याइदिएको भारत आकलन गरिरहेको छ । भारत र चीनबीच शीतयुद्ध जस्तो स्थिति रहिरहनुले केवल विकासको मूल्यमा रक्षा खर्च बढाउने कारण बन्न जाने कुरा पनि भारतले उल्लेख गर्ने गरेको छ ।

पाकिस्तानमा बढ्दै गएको स्थितिलाई यस सन्दर्भमा भारतले सबैभन्दा चिन्ताजनक मान्दै आएको छ । राजनीतिक अस्थिरता, विदेशी मुद्रा मण्डार घटेर ४.५ अर्ब डलरमा पुग्नु र केवल १० दिनको आयात धान्नेमात्र स्थितिबाट गुज्रिनु अनि त्यसभन्दा अझ खतरा एफएटिए, किबर पख्तुख्वा र बलुचिस्तानमा गृह युद्ध जस्तो आभासी स्थिति रहेको समेत भारतले औंल्याउने गर्दछ । यद्यपि पाकिस्तानको आन्तरिक कलह भारतका लागि एक किसिमले राम्रो कुरा हो भन्दै यस स्थितिले पाकिस्तान आन्तरिक रूपमै फसिरहन्छ र भारतविरुद्धको सीमा दुस्साहसबाट बच्दछ भन्ने पनि उसको निष्कर्ष छ ।

कश्मिरलाई लिएर पाकिस्तानमा भारतको विरोध वर्षौंदेखि चलेर आएको छ । यसले गर्दा भारतको सुरक्षालाई सबल राख्ने र जोखिम बढ्न नदिने कुरा गर्दै भारतले रक्षा बजेट पनि बढाउनुपर्ने आधार औंल्याउन छोड्दैन । म्यानमारको आर्थिक स्थिति सन्तोषजनक नरहेको र त्यहाँको सैनिक शासन सत्ताले आर्थिक स्थितिमा ध्यान दिन नसकेको भारत औंल्याउँछ । अनि त्यस्तो स्थितिमा केवल सत्तामा कायम रहिरहन प्रायः सैनिक राजनीति लाद्ने गर्दै आएको जुन्टाले काम गरिरहेको आकलन भारतको छ । नेपालका बारेमा भारतले संकीर्ण स्वार्थको दृष्टिकोणले नेपाल चीनतिर ढल्केको हौवा पिटाएर आफ्नो चौतर्फी प्रभाव क्षेत्रबाट नेपाल कतै उम्किन त लागेको छैन भन्ने कुरामा सबैभन्दा बढी चिन्तित रहेको देखिँदैछ र नेपालभित्र आफ्नो पकड जमाउन हर किसिमले अझ अग्रसर हुँदै गरेको देखिँदै आएको छ । सांस्कृतिक रूपलेसमेत नेपाल-भारतको धेरै नजिक छ भन्ने एक पक्षीय धारणा अघि सार्दै, भारतमा गोर्खा सेना रहेको पनि उल्लेख गर्दै तर लामो खुला सीमा रहेको र यसबाट आतंकवादी घुसपेठ, अवैध व्यापार, अवैध लागू पदार्थको ओसारपसार, मुद्राको अपचलन र तस्करी हुने गरेको औंल्याउने गरेको छ, यसमा नेपालमात्र दोषी जस्तो देखाउने गर्दै आएको छ ।

भारतले सीमा मिचेको, नेपालको अर्थतन्त्रमा पकड जमाएको, त्यसबाट नेपालबाहिर निस्कन नसकोस् भन्ने चाहेको प्रष्टै देखिन्छ । अनि बंगलादेशमा चीनको बढ्दो उपस्थितिले भारत चिन्तित देखिन्छ । अन्य कुरा त्यत्ति महत्वका नरहेको भए पनि बंगालादेशमा कोभिड महामारीपछि त्यहाँको अर्थतन्त्र मन्द गतिमा चलेको भन्ने औंल्याउँदै बंगलादेशमा पनि आफ्नो पकड जमाइ राख्न त्यहाँ भारतको विरोध गरेर सत्ता उल्टाउने र राजनीतिक अस्थिरता खडा गर्ने गरेको कथा भारतले बुन्ने गर्दै आएको छ । माल्दिभ्सलाई त्यत्ति उल्लेखनीय रूपमा भारतले लिएको देखिँदैन । तर त्यहाँ चीनको बढ्दो प्रभावकै आधारमा भारतले मूल्यांकनको मुख्य मुद्दा बनाउने गर्दै आएको देख्न सकिन्छ ।

समग्रमा विश्वको आजको बदलिदो भूराजनीतिक समीकरण र चीनको बढ्दो प्रभावका कारण भारत आफ्ना वरिपरिका छिमेकीसँगको सम्बन्ध अझ खस्किने स्थितिबाट निकै चिन्तित बनेर गुज्रिरहेको भारतको विश्लेषणबाट प्रष्ट हुन्छ । त्यसैले भारतीय पक्षले भन्ने गरेको छ कि भारतका वरिपरिका देशमा उदाउँदो भूराजनीतिक तथा आर्थिक अनिश्चितताको स्थिति आज निकै ठूलो चुनौती र चिन्ताको विषय बनेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?