पुस्तक : पराजुलीको ‘आँखीझ्यालबाट नेपालको राजनीति’

हिमालय टाइम्स
Read Time = 7 mins

✍️ सुशीला घिमिरे

महेन्द्र पराजुलीको हालै प्रकाशित पुस्तक हो ‘आँखीझ्यालबाट नेपालको राजनीति भाग-२’ । पराजुली पेशाले इन्जिनियर हुनुहुन्छ तर इतिहासको खोज अनुसन्धान र लेखनमा उहाँ लागिपर्नु हुन्छ । यस सन्दर्भमा उहाँले ‘आँखीझ्यालबाट नेपालको राजनीति भाग-१’ पहिलै प्रकाशित गरिसक्नु भएको छ । विशेषतः नेपाली काङ्ग्रेस संबद्ध घटनावृत्तलाई खोज्ने, केलाउने र विश्लेषण गरेर निष्कर्ष निकाल्ने यहाँको प्रवृत्ति देखिन्छ । सेवानिवृत्त इन्जिनियर महेन्द्र पराजुलीका पिता श्रीप्रसाद पराजुली नेपालको प्रजातान्त्रिक अभियानमा शाहदत प्राप्त व्यक्ति भएका कारण उहाँका पुत्र पराजुलीमा इतिहासको खोज र लेखनमा प्रेरणा जागृत भएको हुनसक्छ ।

उहाँको ‘आँखीझ्यालबाट नेपालको राजनीति भाग-२’ निकै ठूलो आकारमा प्रकाशित पुस्तक हो । यसमा भूमिका खण्डसहित ६६८ पृष्ठ रहेका छन् । शिखा बुक्स्ले प्रकाशन गरेको यस पुस्तकको वितरक ज्ञानज्योति बुक्स पब्लिकेसन प्रा.लि.अद्वेतमार्ग बागबजार काठमाडौं रहेको छ । यस पुस्तको पहिलो संस्करण हो र सर्वाधिकार लेखकमै रहेको छ । डिएमआई साइजमा रहेको पुस्तकको छपाइ स्तरीय छ तर कतै-कतै अशुद्धिहरू भेटिन्छन् ।

यस पुस्तकको आवरण र लेआउट ज्ञानज्योति डेक्सकै तर्फबाट बाबु महर्जनले गर्नुभएको छ । अवरणमा पुस्तकको शीर्षकअनुसारै खैरो रङको पृष्ठभूमिमा बीचमा आँखीझ्यालको चित्र दिइएको छ । माथि सेता ठूला अक्षरमा पुस्तकको शीर्षक ‘आँखीझ्यालबाट नेपालको राजनीति भाग-२’ दोहोरो हरफमा रहेको छ र त्यसमुनि साना अक्षरमा ‘भाग-२’ भनिएको छ । तल पहेंला साना अक्षरमा लेखकको नाम ‘इ.महेन्द्र पराजुली’ भनिएको छ । पुस्तकमा पहेंलो हलुका कागजको प्रयोग गरिएको छ । पुस्तकको मूल्य १०९५ रुपैयाँ छ ।

इतिहास लेखन भनेको साहित्य होइन । साहित्यमा भावुकताले स्थान पाउँछ र त्यो कल्पनामा आधारित पनि हुनसक्छ । इतिहास भनेको यथार्य हो । त्यसका तथ्यलाई फेरबदल गरियो भने त्यो इतिहास बन्न सक्दैन । यही दुरुह कार्य गर्नु भएको छ महेन्द्र पराजुलीले ।

पुस्तकको पृष्ठ आवरणमा लेखक पराजुलीको फोटो, उहाँद्वारा लेखिएका केही पुस्तकहरूको नाम दिइएको छ र मोहनविक्रम सिंह र प्रा.पुरुषोत्तम दाहालका यसै पुस्तकमा लेखिएका भूमिकाबाट केही अंश साभार गरिएको छ । सबैभन्दा तल प्रकाशक शिखा बुक्स्को लोगोसहित नाम उल्लेख गरिएको छ । पुस्तकको भूमिका खण्डमा सुरुमा समर्पण रहेको छ र त्यहाँ ‘पिताजी शहीद श्रीप्रसाद पराजुली तथा माता उषादेवी पराजुलीमा सश्रद्धा समर्पित’ भनिएको छ ।

यसपछि प्रा.पुरुषोत्तम दाहालको ‘महेन्द्रजीको आँलीझ्यालभित्र हेर्दा’ र नेकपा मसालका महासचिव मोहनविक्रम सिंहको भूमिका र लेखक पराजुलीको ‘मेरो भन्नु’ रहेका छन् । त्यसपछि विषयसूची छ । पुस्तकमा फरक-फरक ७० बढी शीर्षकमा लेखकले नेपालको राजनीति केन्द्रित विभिन्न सन्दर्भको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ‘केपी ओलीले हारेको जुवा’ शीर्षकबाट यस पुस्तकको थालनी भएको छ । यसपछि लेखकले आफूले संकलन गरेका विभिन्न सामग्रीहरूको विश्लेषणसहित प्रस्तुति दिनुभएको छ । पुस्तकमा नेपालको राजनीतिमा घटेका अनेकौं घटना बेलाबेलामा भएका फेरबदल आदिलाई उहाँले चर्चा गर्नुभएको छ ।

यो पुस्तक नेपालको इतिहासको पछिल्लो चरणको स्पष्ट र पारदर्शी यन्त्र जस्तो बनेर आएको छ । अर्को शब्दमा यो पछिल्लो समयको नेपालको राजनीतिको ऐना हो भन्दा अन्यथा हुनेछैन । इतिहासका यी सामग्री संकलन गर्न, त्यसको अन्विति मिलाउन, तिनको गहिरो अध्ययन गर्न र त्यसलाई विश्लेषण गर्न सजिलो काम पक्कै होइन । यसर्थ ती सबै घटना वस्तुलाई सरल र सहज रूपमा लेखन गर्ने कार्य अझै दुरुह कार्य हो । इतिहास लेखन भनेको साहित्य होइन । साहित्यमा भावुकताले स्थान पाउँछ, त्यो कल्पनामा आधारित पनि हुनसक्छ । इतिहास भनेको यथार्य हो । त्यसका तथ्यलाई फेरबदल गरियो भने त्यो इतिहास बन्न सक्दैन । यही दुरुह कार्य गर्नु भएको छ महेन्द्र पराजुलीले ।

यी सबै कार्यको हिम्मत जुटाउनु भएको छ इन्जिनियर महेन्द्र पराजुलीले ‘आँखीझ्यालबाट नेपालको राजनीति भाग-२’ को माध्यमबाट । एकजना प्राविधिकबाट लेखिएको इतिहासको यो पुस्तक पठनीय छ र अझै यही विधाका अध्येताका लागि त यो पठनीय र संग्रहणीयसमेत छ । पुस्तकको लेखन र प्रकाशनका लागि लेखक पराजुलीलाई बधाई तथा पुस्तकको सफलताको कामना । उहाँबाट यस प्रकारका अन्य पुस्तकहरूको समेत अपेक्षा गर्दै यसका लागि उहाँलाई अग्रिम शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?