अनुराग : आसक्ति र अनुरक्तिको अनवरत उल्झन्

हिमालय टाइम्स
Read Time = 17 mins

✍️ गोविन्द पौडेल
मानवीय आकांक्षा, सपना र आवेगको सीमा बुझ्न हाम्रा मनोविज्ञानका शास्त्रहरू कति समर्थ छन् ? सिद्धान्तहरू कति सबल छन् ? प्रेम, आवेग र आकर्षणको त्रिकोणात्मक प्रवेगले एउटा मान्छेको जीवन कसरी नियन्त्रण बाहिर जान्छ ? एउटी नारीलाई केवल भोग्या र भार्याको तहभन्दा माथि राखेर हेर्नै नसक्ने पिपासु पुरुष मानसिकताले नारी प्रेमको सहजतालाई कसरी हेर्छ ? परिवार, समाज, व्यक्तिको मूल्य सापेक्षतामा एउटी साधारण नारी विवाहित पुरुषको विचित्र र अनुचित मानिने प्रेममा परेपछि उसको जीवनमा के घटित होला ?

यी र यस्ता अनेक सवालहरूको चिरागमा अनुराग उपन्यासले पाठकहरूलाई औधी पीडादायी अवस्थामा पुर्‍याएर रित्तो जीवनको निस्सार कहानी सुनाएको छ । वेदनाको उपल्लो तहमा पुगेर नारी अस्तित्वको घुर्मैलो अतीत गोधुली साँझको तम्तम्याइलो वर्तमान बनेर हाम्रा अगाडि फनफनी घुम्दा म पुरुष भएकोमा विधातालाई पटक-पटक धिक्कार्दछु ।

उपन्यासका प्रोटागनिस्टलाई राम्ररी थाहा छ । विवाहेत्तर सम्बन्ध सधैं खतरनाक हुन्छ । यो पागलपन हो । विवाहेत्तर सम्बन्धको नतिजा कहिल्यै फलदायी हुँदैन । यो सम्बन्धको कुनै नाम हुँदैन । वास्तवमा कुनै-कुनै सम्बन्धहरू यस्ता हुन्छन् जसको कुनै नाम हुँदैन । सायद यसै मेसोमा मान्छेहरू यसलाई कति सजिलै प्रेमको नाम दिन्छन् । प्रीतिको बुट्टा भराउँछन् । अनुरागको आलोकमा आफ्नो चेहरा हेर्छन् अनि जुनीभरि कहिल्यै निको नहुने घाउ बनाएर बोकी-बोकी हिँड्न रुचाउँछन् यस्तो लाग्छ त्यो घाउ उनीहरूका निम्ति प्यारो छ ! यही भ्रममा सायद कविताहरू रचिन्छ्न्, गीत गाइन्छन् अनि कहानीहरू लेखिन्छन् । यही अजर आलो घाउ नै मिस्री र चेतराजहरू हुन् अनि त्यही अजम्मरी कहानी अनुराग हो ।

उपन्यासका प्रोटागनिस्टलाई राम्ररी थाहा छ । विवाहेत्तर सम्बन्ध सधैं खतरनाक हुन्छ । विवाहेत्तर सम्बन्धको नतिजा कहिल्यै फलदायी हुँदैन । वास्तवमा कुनै-कुनै सम्बन्ध यस्ता हुन्छन् जसको कुनै नाम हुँदैन । सायद यसै मेसोमा मान्छेहरू यसलाई कति सजिलै प्रेमको नाम दिन्छन् ।

विवाहेतर सम्बन्धका बारेमा विश्व साहित्यमा धेरै अमर कहानीहरू लेखिएका छन् । रसियाली साहित्यकार एन्टोन चेखोब यस मामिलामा निकै प्रसिद्ध छन् । उनको अ लेडी विथ अ डग भन्ने कथा धेरै पढिएको कथा हो । फ्री लभका अन्य साहित्यिक एड्भोकेटहरू निकै छन् दुनियाँमा । एक्स्ट्राम्यारिटल अफेयरको गुणगान साहित्य र सिनेमाकै माध्यमबाट पटकपटक देखाइए पनि यो सामाजिक, सांस्कृतिक र पारिवारिक मूल्यका दृष्टिले कति सही हो भन्न असाध्यै कठिन छ । मिस्री एउटी नारी हो । ऊ कष्टमय अतीत बोकेर हिँडिरहेकी केटी हो ।
उसका आफ्ना भन्नेहरू खास कोही छैनन् । ऊ काम खोजिरहेकी हुन्छे । ऊ निर्दोष छे । चन्चल छे अनि वस्तुतःगम्भीर पनि छ । उसका सपना धेरै रङ्गीन छैनन् । भीमकाय छैनन् । आवश्यकता र अभावले सताइएकी ऊ मरिमेटेर काम खोजिरहन्छे । भोक, तिर्खा, पहिरन, कफी, चक्लेट अनि आइसक्रिम उसका साधारण जरूरत हुन् । एक दिन उसले एउटा प्राइभेट एफएम स्टेसनमा आरजेको काम पाउँछे ।

रेडियो स्टेसन सञ्चालकमध्येको एक सरकारी जागिरे चेतराज भनिने ब्राहृमण खलकको व्यक्ति, जो न धेरै सलक्क परेको हुन्छ न धेरै छरितो ज्यानको हेन्सम नै हुन्छ । खासमा त्यो रेडियो स्टेसन त चेतराज भन्नेकी पत्नी रीताको हुन्छ । रीता अति महत्वाकांक्षी, साहसी, रिसाही, पैसामुखी र इष्र्यालु चरित्रकी हुन्छे । काम गर्ने क्रममा पत्तै नपाई चेतराज आफ्नी स्टाफ मिस्रीसँग अति भयानक किसिमले आकर्षित हुन्छ । उसको यही आकर्षण उपन्यासको क्लाइमेक्सतिर मिस्री र ऊ दुइटैलाई निको नहुने घाउमा परिवर्तित हुन्छ । परिवर्तित चट्टानजस्तै ।

मिस्री र चेतराजको कुराकानीको घनत्व बढ्दै जाँदा खास गरी चेतराज, जसले आफ्नी पत्नीबाट अँगालाभरिको प्रेम र पिरतीको नीलो आकाश सँगाल्न पाएको हुँदैन, आकर्षित हुँदै जान्छ । ऊ मिस्रीको ओठ, आँखा, गाला, परेली, बोली र व्यक्तित्वप्रति कति सारो खिचिन्छ भने उसलाई मिस्रीसँग प्यार भएझैँ लाग्छ । उसको चालढालमा जानिँदो नजानिँदो बदलाव आउन थाल्छ । उसलाई मिस्री औधी मन पर्छ । मिस्री औधी जाती लाग्छे । चेतराज मिस्रीको पूजा गर्न थाल्छ । उता मिस्री पनि चेतराजको म्यारिटल स्टेटसको ख्याल गर्दिन अथवा गरे पनि ऊ खोइ केले हो वशीभूत भएर चेतराजसँग झ्याम्मिँदै जान्छे ।

उनीहरूको अनुरागको मुना अब विस्तारै एउटा घना वृक्षमा परिणत हुन थालेको थियो किन्तु निज घना वृक्षको छाया शीतल र मधुर हुने सम्भावना बिल्कुलै थिएन । यो कुरा पाठक वर्गलाई भलिभाँती थाहा थियो तर यो अनुराग बर्बादीमा नपुगी छोड्ने थिएन । आखिरी भयो त्यस्तै प्रेमको आदर्शीकरण गरेर भन्ने गरिँदो हो : पाउनुमात्र प्रेम होइन । समर्पित हुनु ठूलो प्रेम हो । अझ गुमाउनु, लुटाउनु ठूलो प्रेम हो । वस्तुतः अनरिक्वाइटेड प्रेम नै अमर हुँदो हो । चेतराज र मिस्रीको प्रेमको वृक्ष क्षतनार भएपछि रीता र चेतराजको सम्बन्धमा दरार आउन थाल्छ । आउने नै हुन्छ । रीतालाई शंका लाग्छ । निश्चिन्त पनि हुन्छे : उनीहरूबीचको नयाँ र बलिष्ठ पर्खाल मिस्री नै हो ।

रीता मिस्रीलाई हरतरहले चोट पुर्‍याउन, सजाय दिन, मजा चखाउन, ज्यान मारिदिनेसम्मको कर्तुत गर्न पछि पर्दिन । कतिपय कर्तुतहरू चेतराजले थाहा पनि पाउँछ तर चेतराज बहुत लाचार देखिन्छ । ऊ अति काँतर छ । प्रेम गर्छु भन्छ मिस्रीलाई तर ऊ सानातिना खर्च गर्न पनि स्वास्नी नियन्त्रित छ । चेतराज सिधा देखिन्छ तर उसको मानसिकता जटिल छ । ऊ कन्फ्युज्ड छ । तर सामान्य कन्फ्युज्ड होइन सिभियर्ली कन्फ्युज्ड छ । मिस्री र चेतराजको रिलेसनको स्टेटस नै यस्तो छ जसमा मान्छे अक्सर मानसिक बिरामी हुने गर्छ ।

मिस्री अब राम्रैसँग चेतराजको प्रेममा पर्छे । उसलाई सबै थाहा छ । तैपनि पर्छे । यो प्रेमको गन्तव्य छैन । गन्तव्य हुँदैन । तैपनि पर्छे । मन काबुमा हुँदैन प्रेममा । त्यसैले चेतराज र मिस्री एक अर्कालाई अनुरागीय प्रेममात्र गर्दैनन् उनीहरू एक अर्कातर्फ कामासक्त प्रेम पनि दर्शाउन थाल्छन् । हुन त अनुरागको गन्तव्य पनि यही हो कि ? एक अर्काप्रतिको समागम, समाधी अनि मोक्ष ।

रीता र चेतराजको सम्बन्ध अति विषाक्त भइसक्दा मिस्री र चेतराज एक अर्कालाई अचाक्ली प्रेम गर्न थाल्छन् । चमेनाघर र भोजनालयमा खाने पिउने, टाढा टाढा घुम्न जाने, लङ ड्राइभमा जाने, लुकीचोरी हदैसम्मको पिरती लाउने साट्नेसम्मका कृत्यहरू सामान्य भइसकेका हुन्छन् । चेतराज र मिस्रीको प्रेमालापद्वारा मिस्री प्रेग्नेन्ट हुन्छे । ऊ खुशी र हतास हुन्छे । ऊ सरल छे । निर्दोष छे । ऊ सृष्टि चाहन्छे तर ऊ सानैदेखि बिरामी थिई । रोगी थिई । प्रताडित थिई । जलाइएकी थिई । लछारिएकी थिई ।

उसलाई युटेरसमा समस्या परिरहन्थ्यो । ऊ अस्वाभाविक ब्लिडिङ भइरहने बिरामी थिई । बच्चा बसेका बेलादेखि उसलाई सन्चो हुँदैनथ्यो । ऊ आफू आमा बन्न लागेको कुरा चेतराजलाई भन्छे । बच्चालाई जन्माउँछु भन्छे तर चेतराज अबोर्सन गराउन भन्छ । भन्छमात्र होइन प्रेसर दिन्छ । समाज, परिवार, बन्धन अनि सोसल भ्यालु सिस्टमको कुरा गरेर कुनै पनि हालतमा मिस्रीले नानी पाउनुहुँदैन भन्छ चेतराज । यो क्रम धेरैपटक रिपिट भइरहन्छ । चेतराज समागममा लीन भइरहन्छ ।

उपन्यासकार ओझाले यो कथा सायद कतै कुनै व्यक्तिबाट सुनाइएको घटनालाई औपन्यासिक छटा प्रदान गरेकी हुन् कि भन्न सकिन्छ । उपन्यासको कथाबाट उत्पादित परिणाम र मूल्यलाई एकछिन बेवास्ता गर्ने हो भने उपन्यासकार ओझाको पात्रको चारित्रीकरण गर्ने र कथा भन्ने सीपमा परिपक्वता छ ।

ऊ लुटाइरहन्छे । ऊ टुटिरहन्छे । रगत बगिरहन्छ । बिरामी भइरहन्छे । भोकै बस्न बाध्य हुन्छे । जागिर छोडिदिन्छे । छोडाइन्छ । भोक, रोग, शोक, सुर्ता, पीडा, जलन र अपमानको आँसु पिएर बस्छे । रीताद्वारा उसलाई अनेक आक्रमण गराइन्छ । पतित बनाइन्छे । तैपनि सहेर बस्छे चुपचाप । प्रेमको नाममा सास्ती पाउँछे । हर दिन हरपल चेतराजलाई अनुनय गरिरहन्छे अनुराग र प्रेमको । पटकपटक अबोर्सन गराउँदा–गराउँदा पनि उसको अनुरागको अबोर्सन हुनै मान्दैन । प्रेमको अबोर्सन पटक्कै हुँदैन ।

आखिरी अबोर्सन गराउन कुनै अस्पताल पुग्दा सन्जोगले रीता पनि त्यहीँ आएकी हुन्छे । प्रेग्नेन्सी चेक अप गराउन । त्यहाँ मिस्री र रीताको फाइल साटिन्छ । मिस्रीले बच्चालाई फ्याकिसकेकी हुन्छे । रीताको छोरी जन्मिएपछि ऊ लामो कोमामा जान्छे । चेतराजले आफ्नी छोरी मिस्रीको जिम्मा लाउँछ र पालनपोषण गरिदिने अभयदान माग्छ । धेरै पछि मोक्ष खनाल नाम गरेकी बच्ची र उसकी आमा शहरमा देखा पर्छन् । चेतराजले थाहा पाउँछ । मिस्री र चेतराजको कष्टकर मिलन पनि हुन्छ यद्यपि कोमाबाट जागेकी रीताले मोक्षलाई अपहरित गराउँछे । यो कुरा चेतराजले र अरूले पनि थाहा पाउँछन् ।

आफ्नै छोरी मार्न लगाएकी भनेर चेतराज र अरूले पनि रीतालाई घृणा गर्छन् । रीतालाई उसका आफ्नै छोरीहरूले पनि घृणित नजरले हेर्छन् । रीता लामो सुस्केरा छोडेर थचक्क बस्छे । सन्जोगले हो वा कुन परिबन्दले हो छोरी सकुशल मिस्रीले डो¥याउँदै चेतराज परिवारलाई जिम्मा लाइदिन्छे । ऊ सुदुरपश्चिमेली टोनमा आकाशतिर फर्केर थुक्नेलाई आफ्नै थुक लाग्छ भन्ने दर्शन बुझाएर चेतराजको घरबाट निस्किँदै गर्दा चेतराजकी छोरीले मोक्षलाई आफ्नी आमाबाट छुट्टयाएर मिस्रीका हातमा राखिदिन्छे । एउटा सन्नाटा र शून्यतासँगै कथा त्यहीँ सकिन्छ ।

नारीप्रेमको गरिमा र यसको आदर्शीकरणका निम्ति उपन्यासकार जया ओझाले उखरमाउलो मिहिनेत गरेकी छन् । मान्छेका मनको तिर्खा मेटाउने कुवा सायद कहीँ छैन । पटक-पटक भइरहने समागममा चेतराज र मिस्री किन कन्ट्रासेपटिभ प्रयोग गर्दैनन् होला भनेर पाठकहरू उदेक मान्दा हुन् अथवा प्रयोग गरे पनि किन असफल हुँदो हो भन्ने पनि लाग्छ । मिस्रीको त्यो हदसम्मको सहनशीलता र सोझोपना अहिलेको सहरिया समाजमा कति सम्भव हुँदो हो भन्ने पनि लागिरहन्छ । चेतराजको त्यस हदसम्मको काँतरपना र भोग्य चरित्र देखेर सायद हरेक पाठक हुनसम्म रिसाउँदा हुन् ।

उपन्यासकार ओझाले यो कथा सायद कतै कुनै व्यक्तिबाट सुनाइएको घटनालाई औपन्यासिक छटा प्रदान गरेकी हुन् कि भन्ने लख काट्न सकिन्छ । उपन्यासको कथाबाट उत्पादित परिणाम र मूल्यलाई एकछिन् बेवास्ता गर्ने हो भने उपन्यासकार ओझाको पात्रको चारित्रीकरण गर्ने र कथा भन्ने सीपमा परिपक्वता प्राप्त गरेकी छन् । उनको यो सीप क्लासिकल नेपाली उपन्यासको परिपक्वता जत्तिकै प्रशंसनीय छ । यद्यपि यो उत्कृष्ट र निकृष्टको तुलना चाहिँ एकदमै होइन । कथाको परिणाम निक्र्योल गर्दा समालोचनाका अनेक बान्की र अन्दाज प्रस्तुत गर्न सकिएला यद्यपि उपन्यास पढिसक्दा मन सारै खिन्न हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment

रिलेटेड न्युज

छुटाउनुभयो कि ?