नेपाल यू-१९ विश्वकपको नजिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । युएईमा जारी आइसिसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले मलेसियालाई १० विकेटले पराजित गर्दै लगातार चौथो जित हात पारेको छ । योसँगै नेपाल यू-१९ विश्वकपको नजिक पुगेको छ । अब नेपालले अन्तिम खेलमा बिहीबार आयोजक युएईलाई पराजित गरे सन् २०२४ को विश्वकप खेल्न पाउनेछ ।

यसअघि नेपालले सिंगापुर, कुवेत र हङकङलाई पराजित गरेको थियो । नेपाल चार खेलमा आठ अंकका साथ शीर्ष स्थानमा छ । युएई तीन खेलमा छ अंकका साथ दोस्रो स्थानमा छ । मलेसियाले दिएको ७३ रनको सामान्य लक्ष्य नेपालले नौ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो । नेपालका लागि दुवै ओपनर अविजित रहे ।

ओपनर दीपक बोहोराले अविजित ३८ रन बनाउनुभयो भने अर्का ओपनर अर्जुन कुमालले २१ रन जोड्नुभयो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले ३५ दशमलब तीन ओभरमा सबै विकेट गुमाउँदै ७२ रनको योगफल बनाएको थियो । मलेसियाका लागि अक्रम मालेकले सर्वाधिक २६ रनको योगदान दिनुभयो भने मोहमद हैरिल हरिसन र मोहम्मद स्याहिर स्यामिलले समान १२-१२ रन बनाउनुभयो । नेपालका लागि दीपेश कँडेलले चार विकेट लिनुभयो भने आकाश चन्दले तीन विकेट झार्नुभयो ।

त्यसैगरी मिलन बोहोराले दुई तथा सुवास भण्डारीले एक विकेट लिनुभयो । प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक युएईको सहभागिता छ । राउण्ड रोबिनका आधारमा हुने उक्त प्रतियोगिताको शीर्ष टोली सन् २०२४ मा श्रीलंकामा आयोजना हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?