जरत्कारू उपन्यास : एकसरो पठनमा

हिमालय टाइम्स
Read Time = 19 mins

✍️ तिलकप्रसाद लुइँटेल

फागुन ६ गते शनिबारबाट क्रमशः
इन्द्रका राज्यलाई उदाहरण बनाएर हिजोका दिनमा कर्तव्यबोध गराउने निकाय राज्यमा बलवान् थिए । आजका राज्यमा सल्लाहकारका रूपमा आफ्नै गुणगायक खोजेर राखिन्छ र त्यसैबाट राज्यको पतन र देशवासीको दुःख बढेको छ भन्ने देखाएर त्यस पक्षमा सचेत गर्न खोजेको देखिन्छ । महिला वा पुरूषका दृष्टिले हेर्दा पनि यी हरफमा विवेचना गरिने कुरा मनग्गे देखिन्छ ।

उपन्यासको पाँचौं अंश सायद सबैभन्दा छोटो हुनुपर्छ । यो अंश पृष्ठ ४४ बाट थालनी भएर ४५ मा समाप्त भएको छ । यसमा-‘...साँच्चिकै भन्नुपर्दा मैले केही सोचेकी पनि छैन । माता, मैले सबै आमाहरूको पीडा अनुभूत गरेकी छु । म आफ्नो जीवनमा ती पीडाको पुनरावृत्ति गराउन चाहन्नँ । तसर्थ हजुरहरूसँग मेरो विनम्र अनुरोध छ, मेरो विवाह राजा र सम्राट्सित कदापि नहोस् । यदि सम्भव छ भने मेरो समकक्षी विद्वान् होस् ।’ पौराणिक घटना र पात्रका सन्दर्भमा उपन्यास रहेको भए पनि आजसँग मिल्दो प्रसंग यसलाई नै उद्धृत गरियो । धनसम्पत्ति, राज्य, सत्ता आदिको छनोट गर्ने त्यस समयमा पनि रहेछन् र आज पनि छन् । कैयौंले आज विद्वत्ता र चरित्रलाई प्राथमिकता दिन्छन् भने त्यस बेलाको कुरा कथानकले ल्याएकै छ ।

आजका शिक्षासँग केही मिल्दो पक्ष विवेचना भएको छ । मिल्दो पक्ष भनेको जसरी आज शिक्षाका अनेकौं संकाय र भाग विभाग छन्, उस बेला पनि त्यस्तै रहेछ र शिक्षामा मतमतान्तर रहेछ भन्ने अनुमान गर्न सकिन्छ ।

पृष्ठ ४६ मा सुरु भएको उपन्यासको छैटौं अंश पृष्ठ ५३ मा समाप्त भएको छ । यसको अन्तिम अनुच्छेदमा–‘नागराज वासुकी अवाक् भए । कुनै निर्णय लिन सकेनन् । यस्तो कठोर सर्त स्वीकार गरेर कसरी बहिनीको विवाह गर्ने ? उनी यस्तै सोच्दै थिए । बाहिरबाट सबै कुरा सुनिरहेकी राजकन्या कक्षमा प्रवेश गरिन् र ऋषिका कठोर प्रस्ताव तत्काल स्वीकार गरिन् ।’ लेखेर यो अंश समाप्त भएको छ । चेलीको विवाह गरेर पठाउनुपर्दा हिजोका र आजका माइतीको मनोदशा एकै भएको यहाँ देखाइयो । आज पनि आफ्ना पिता र अग्रजहरूका मानसिक दोधारलाई आफ्ना स्पष्टोक्तिले चेलीहरू समाधान दिन थालेका देखिन्छन् भने हिजोका समाजमा पनि यो रहेछ भन्ने उपन्यासले देखाएको छ ।

उपन्यासको सातौं अंश पृष्ठ ५४ मा सुरु भएको छ । पढेर मनन् गर्नुपर्ने धेरै कुरा यसमा देखिन्छन् र पृष्ठ ५८ मा यस अंशको समाप्ति भएको छ । पृष्ठ ५८ कै अन्तिम भन्दा अघिल्लो अनुच्छेदमा विधिपूर्वक राजकन्याको विवाह सम्पन्न भएको प्रसंग आउँदा–‘राजकन्याको हात ऋषिको हातमा राख्दै राजमाता कद्रुले यतिमात्र भन्न सकिन्, ‘अबदेखि मेरी मुटुकी टुक्रालाई पाले पुण्य मारे पाप हुनेछ ।’ त्यसपछि उनी बोल्न सकिनन् । अश्रुधाराले आँखाबाट निकास मागे । गला अवरुद्ध भयो । उपस्थित सबै आफन्तजनको रोदनले अत्यन्त हर्षको वातावरण रोदन र करूण क्रन्दनमा परिणत भयो ।’ उपन्यास लेखनका लागि उपन्यासकारले गरेको मसिनो अध्ययन, आचारसहित एक एक घटनाहरूको सूक्ष्म चित्रण देखिएको छ । त्यसका अतिरिक्त छोरी विवाह गरेर पठाउँदा उस बेलादेखि आजसम्मकै माइती पक्षको मनोविज्ञान पनि जीवन्त रूपमा उतारिएको छ । उपन्यासका आठौं अंशको थालनी पृष्ठ ५९ मा भएको छ । यस अंशको समाप्ति पृष्ठ ८० मा भएको हुनाले यही नै सबैभन्दा लामो अंश हो कि जस्तो लागेको छ । यसको पृष्ठ ७८ मा–‘दार्शनिकले आआफ्नो मत दिएका हुन् । तसर्थ कर्म नै श्रेष्ठ हो, कर्मबाट नै इच्छित वस्तु प्राप्त हुन्छ । जुन कुरो न प्राप्य छ, न दृश्य नै छ भने त्यसका लागि यो परममहत्वको योनिलाई केवल तपमा समाप्त गर्नु बुद्धिमानी हो भन्ने कुरा म त मान्दिनँ । हामीलाई गुरु वृहस्पतिले पनि यही शिक्षा दिनुभएको छ ।’ भन्ने रहेको छ ।

यसबाट आजका शिक्षासँग केही मिल्दो पक्ष पनि विवेचना भएको छ । मिल्दो पक्ष भनेको जसरी आज शिक्षाका अनेकौं संकाय र भाग विभाग छन्, उस बेला पनि त्यस्तै रहेछ र शिक्षामा मतमतान्तर पनि रहेछ भन्ने अनुमान गर्न सकिन्छ । आजका शिक्षाको उद्देश्य सुखसँग जीवन निर्वाह गर्ने हो । त्यस बेलाका शिक्षाको उद्देश्य लौकिक जीवनको आनन्द त थियो तर त्यसका लागि सदाचार पनि सङ्केत गरेको पाइन्छ । अर्थात् तत्कालीन शिक्षामा ज्ञान, विज्ञान, विधि र प्रविधि तथा यो लोक-परलोकको चिन्तनलाई एकीकृत रूपमा अघि सारेको उपन्यासले देखाउँछ । लोकमा सही शिक्षा लिनुपर्छ त्यसपछि परलोकको प्राप्ति स्वतः हुन्छ भन्ने भाव संकेत भएको पाइयो । उपन्यासको नवौं अंश पृष्ठ ८१ बाट सुरु भएर ८९ पृष्ठमा समाप्त भएको छ । यसै पृष्ठमा रहेको अन्तिम अनुच्छेदमा-‘...जरत्कारू पूजास्थलमा पुत्रसहित विराजमान भइन् । संस्कार पूर्ण वैदिक विधि विधानपूर्वक सुरु भयो । बालकको नाम ‘आ’ बाट सुरु भयो । के नाम राख्ने भनेर चर्चा चल्यो । माताले भनिन्, ‘यसको नाम आस्तिक हुनेछ । यो सदैव सकारात्मक चिन्तन र कर्तव्य निर्वाहको उदाहरण बन्नेछ ।’ यस अनुच्छेदसँग यो अंश सकिन्छ । अनेकौँ मननीय कुराहरू यहाँ पाइन्छन् । नामकरणमा विधि र सार्थकता खोज्ने हाम्रो समाजका सबै कर्महरू विज्ञानसम्मत छन् भन्ने यस उद्धरणमा देखियो ।

दशौं अंश पृष्ठ ९० देखि सुरु भएर ९७ मा सकिएको छ । यसको ९६औं पृष्ठमा-‘यदि छोरा अत्यन्त अनुशासित छ, कर्तव्यपरायण छ भने मात्र मातापितालाई सम्मान गर्छ । अन्यथा पंख मजबुत भएपछि बचेराहरू गुँड छोडेर कतिखेर उड्छन्, थाहै हुन्न ।’ यस्तो अनुच्छेद रहेको छ । छोराछोरीले आमाबालाई छोडेर विदेश पस्ने अथवा बाआमाको सम्पत्ति लुटेर अलपत्र पार्ने आजको समस्या हो भन्ने मानिन्छ । उपन्यास लेखनका सन्दर्भमा निजी विचार अभिव्यक्त भएको विचार हो भने पनि तत्कालीन समाजमा धेरैथोरै यस्तो समस्या रहेको कथाभित्र घटनाले देखाएको छ । जरत्कारू उपन्यासको एघारौं अंश पृष्ठ ९८ मा थालनी भएर पृष्ठ १११ मा सकिएको छ । यो पनि लामा अंशहरूमध्येको एक हो । यसै अंशको १०८औं पृष्ठबाट– ‘उनी बिछ्यौनाबाट एकाएक उठिन् र बसिन् । यस्तो लाग्यो कि उनले जीवनको सर्वोत्तम मार्ग भेटिन् । अनि प्रसन्न चित्त भएर सोच्दै र निर्णय गर्दै गइन्–सर्वप्रथम कैलाश गएर ज्ञानार्जन गर्ने । त्यसपछि उक्त ज्ञान र आफूसित भएको ज्ञानबाट समाजमा भएका शोषित, पीडित र असहायलाई केही न केही परोपकार गर्ने ।’ यो अनुच्छेद उद्धृत गरियो । यसका आधारमा हेर्दा देवताको समय मानिएको उस समयमा मानिस आपसमा शोषण, उत्पीडन, प्रताडन र समस्याग्रस्त अवस्थामा रहेछन्, कसै न कसैले त्यसबाट परित्राण गर्न कदम चाल्नुपरेको रहेछ भन्ने देखिन्छ । यस्ता धेरै अरू कुरा यसमा छन् ।

जरत्कारू उपन्यासको बाह्रौं अंशको थालनी पृष्ठ ११२ बाट भएर समाप्ति १२५ मा भएको छ । यसको पृष्ठ १२४ मा रहेको अनुच्छेद- ‘त्यतिमात्र होइन, ब्रहृमावतार श्रीकृष्णलाई प्रसन्न पार्ने कल्पवृक्ष समान अमोघ अष्टाक्षरीय मन्त्र ‘ॐ ह्रीं श्रीम् क्लिं कृष्णाय नमः’ प्रदान गरे ताकि उनी लोकमा अझ कल्याणकारी कार्य सम्पन्न गर्न सकून् र अझ बढी सम्मानित अनि पूजिता होऊन् ।’ पढेपछि हाम्रो परम्परामा रहेका मन्त्र, तन्त्र र यन्त्र विधिहरूको तथा इष्टदेव आराधना गर्ने पद्धतिको सांकेतिक अभिव्यक्ति देखियो । यसमै जुनसुकै समय वा स्थानमा असल मानिसको भावना सर्वजनहिताय नै हुने कुराको पनि छनक देखाइयो । अन्य मननीय कुरा मनग्गे छन् ।

प्रत्येक वाक्यको पढाइ क्रमशः गर्दै आउँदा पृष्ठ १२६ मा पुगियो । यहाँ उपन्यासको तेह्रौं अंश थालनी भयो । पृष्ठ १२८ मा पुग्दा नागकन्या जरत्कारूले भगवान् श्रीकृष्णको दर्शन र सिद्धि प्राप्त गरेको प्रसंग छ, त्यसपछिको अनुच्छेदमा-‘जरत्कारू पुनः नागलोकमा गइन् । त्यहाँ पुगेर सबैसित भेटघाट गरिन् अनि बिदावारी भएर एउटा गरिब बस्तीमा गइन् । नजिकै वन थियो । त्यहीँ उनले एउटा आश्रम निर्माण गर्न लगाइन् । अनि त्यहीँ बस्न सुरु गरिन् । त्यो आश्रममा त्यो क्षेत्रका सबैसित भेटघाट गरी बालबालिकालाई आश्रममा पठाउन अनुरोध गरिन् ।

उनीहरूलाई साक्षरता सँगसँगै उनी संगीत प्रशिक्षण गर्न लागिन् ।’ लेखिएको छ । यसका आधारमा भन्नुपर्दा निरन्तर एकै कर्मममा समर्पित हुँदा दुःख धेरै पाइए पनि सफलता पक्कै पाइने रहेछ भन्ने देखिन्छ । त्यसैगरी आर्थिक सम्पन्नता, सत्ताको अधिकार नपाइएको मानसिक सन्तुष्टि समाजसेवामा पाइने रहेछ । अथवा भनौं मानिसका जीवनको लक्ष्य शान्ति प्राप्त गर्ने नै रहेछ । एकातिर यस्तो देखिन्छ भने अर्कातिर यसै भनाइबाट जुनसुकै समयमा शिक्षा प्राप्ति सहज र सुलभ नभएको देखिन्छ । यस पक्षलाई मनन गरेर शिक्षा प्रदानमा कसैले अग्रसरता लिएको देखा पर्छ । यस्ता मननीय कुराहरू पाइलैपिच्छे छन् तापनि थोरै संकेतसम्म गरियो । उपन्यासको तेह्रौं अंश पृष्ठ १२९ मा समाप्त भयो ।

पृष्ठ १३० मा थालनी भएको उपन्यासको चौधौं तथा अन्तिम अंश पृष्ठ १३५ मा समाप्त भएको छ र यहीँ नै उपन्यासको समाप्ति भएको छ । तक्षक नागबाट जनमेजय राजाका पिता परीक्षितको मृत्यु भएको कथा पुराणहरूमा पाइन्छ । त्यसको प्रतिशोध लिन नागहरू समाप्त गर्ने उद्देश्यले राजा जनमेजयले सर्पयज्ञ आरम्भ गरेका थिए । त्यस यज्ञमा नागको वंशनाश हुने सम्भावना भयो । यज्ञ बन्द गराउन उनै जरत्कारूपुत्र आस्तीक ऋषि आएको प्रसंगलाई समेट्दै उपन्यासको पृष्ठ १३४ मा–‘उनी अवाक् भए । केही गरून्, ब्राहृमण परे । अस्वीकार गरून्, वचनबद्ध भइसकेका छन् । बडो दुःखी भएर सर्पयज्ञ बन्द गर्न हुकुम दिए । त्यसपछि यायावर वंशीय, माता जरत्कारूका पुत्र, बालक आस्तिक आफ्नी माता भए ठाउँमा फर्किए ।’

आमाको समाज हितैषी गुण पुत्रमा पनि देखापरेको छ र लामो समयदेखि बिछोडिएका आमाछोराको भेट भएपछि उपन्यास सकियो । बीच-बीचबाट उद्धरणहरू झिकेर यहाँ राखियो । यी उद्धरणहरूले उपन्यासको जानकारी दिन्छन् भन्ने होइन, यहाँ केवल प्रस्तुति कसरी भएको छ भन्ने मात्रै देखिन्छ ।

यसरी आमाको समाज हितैषी गुण पुत्रमा देखापरेको छ र लामो समयदेखि बिछोडिएका आमाछोराको भेट भएपछि उपन्यास सकियो । बीच बीचबाट उद्धरणहरू झिकेर यहाँ राखियो । यी उद्धरणले नै उपन्यासको जानकारी दिन्छन् भन्ने होइन, यहाँ केवल प्रस्तुति कसरी भएको छ भन्ने मात्रै देखिन्छ । समग्र बुझ्न र आफू सन्तुष्ट हुन त पाठक स्वयंले नै पढ्नुपर्छ । उपन्यासको समाप्तिपछि पृष्ठ १३६ मा शब्द सुमन शीर्षकमा उपन्यास लेखिकाको आत्मकथन छ । यसको समाप्ति पृष्ठ १३७ मा भएको छ । त्यस पृष्ठमा रहेको एक अनुच्छेदमा उपन्यास लेखनमा अन्तर्मनलाई प्रेरित गर्ने दैवीशक्ति तथा जसलाई स्मरण नगर्दा कृतिको पूर्णता नहुने भनी मनन गरिएका अति विशिष्ट मानवीय योग्यताप्रति कृतज्ञता ज्ञापन भएको छ । यसले लेखिकाको शालीनता प्रकट भएको छ र सहयोगी सबैप्रति उदार मनोभाव प्रकट गरिएको छ ।

नेपाली वर्णविन्यासका विभिन्न धार हुनाले आजसम्म सबैतिर एकरूप नपाइएको अवस्था छ । कुनै एक धारलाई अवलम्बन गरेर लेख्दा अर्को धारमा रहनेहरूले अशुद्ध देख्ने ठाउँ हुन्छ । यस विषयमा धेरै चर्चा गरिरहनु परेन । यी पंक्तिका लेखकले आफ्नो अभ्यासअनुसार लेख्नुपर्दा पृष्ठ १९ को उद्धरणमा भएको ‘पुज्य’ शब्दलाई ‘पूज्य’ लेखेको देखेको छ । त्यसैगरी पृष्ठ ५८ को उद्धरणमा पाइएको ‘करूण’ लाई ‘करूण’ लेखेको भेटेको छ । पृष्ठ ७८ को उद्धरणमा भएको ‘वृहस्पति’लाई ‘बृहस्पति’ लेखेको पनि देखेको छ । पृष्ठ ८९ को उद्धरणमा ऋषिपुत्रको नाम ‘आस्तिक’ राखिएको छ । यी पंक्ति लेख्नेले ईश्वरीय आस्था हुनेलाई जनाउँदा आस्तिक र ती ऋषिको नाम लेख्दा ‘आस्तिक’ लेख्ने हो कि भन्ने मानेको छ । पृष्ठ १०८ को उद्धरणमा ‘कैलाश’ शब्द आएको छ । यसका ठाउँमा पनि कतै कतै ‘कैलास’ लेखिएको भेटेजस्तो लाग्छ । अशुद्धि नै हुन् वा यो पंक्तिकार झुक्किएको हो अथवा यी सबै शब्दका दुवै रूप छन्, त्यो पनि पाठकवर्गले नै ठम्याउनु हुनेछ । प्रायः त्यस्ता दोधार लाग्ने कुरा सुरुदेखि अन्तसम्ममा पाइएन । उपन्यासकी स्रष्टा स्वयं नारी नै हुनाले हुन सक्छ नायक र नायिका दुवैको नाम एकै भए तापनि नागकन्या वा भनौं मानवेतर मानिने दिव्यांगना जरत्कारूकै पक्षमा उपन्यासको विशेष ध्यानकेन्द्रित छ । नाग जाति भनेर धार्मिक पारम्परिक मान्यताले सर्प जातिलाई जनाउने भए पनि मानव समुदायमा जातिको नाम नाग हुनसक्ने सम्भावना होला । त्यसैनुसार मिल्दा जुल्दा देश वा ठाउँको नाम खोज्दा नपाइने होइन, त्यसतर्फ खोजखाजमा लागिएन ।

अर्कातिर उपन्यासको नियम, विधि, औपचारिकताका विषयमा सम्बन्धित क्षेत्रका विज्ञले भन्नुहोला । सानो लेखमा ती सबै कुरा केलाउन साध्य पनि भएन । उपन्यासको अन्तिम बाहिरी आवरणमा लेखिकाको रङ्गीन फोटो छ । फोटोभन्दा तल प्रमोद प्रधानबाट लिखित तीन अनुच्छेद छन् । अन्तिममा प्रकाशकको लोगोमा आइएसबिएन नम्बर राखेर पाठकका हातमा पुस्तक समर्पित छ । समाप्त ।
(लेखक पूर्वीय वाङ्मयका अन्वेषक, अनुसन्धाता र अनुवादक हुनुहुन्छ ।)

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?